Comments Add Comment

जितेर आयौं, आगामी चुनौती सम्झिएर काम गरौं

२१ माघ, काठमाडौं । युएईमा एकदिवसीय र टी–२० सिरिज जितेर फर्किएको नेपाली टिमको सोमबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भयो । दर्शकले हुटिङ गरे, रातो कार्पेट बिच्छाइए र नगद पुरस्कार घोषणा भए ।

दुबै सिरिज २–१ ले जितेसँगै बधाईको ओइरो लागेको थियो । यसले नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाउँदाको जस्तै क्रिकेट माहोल बनिरहेको छ । अझ सोमबार विमानस्थलमा देखिएका दृश्यहरु हेर्दा सरकारी तबरबाट पनि ठूलो महत्व दिइएको देखिन्थ्यो ।

खेलाडीलाई गरिएको सम्मान र जितको खुशी राम्रो हुँदा हुँदै पनि नेपाली टिमका प्रशिक्षक र खेलाडी भने भविष्यका लागि काम गर्नुपर्नेमा जोड दिन्छन् । ‘देशले सम्मान गरेको छ । हामीले सम्मान पाएका छौं । सबैले खुशी मनाएका छौं । तर योभन्दा ठूलो अब हामीलाई चुनौती छ भनेर सोच्नुपर्छ,’ नेपाली टिमका प्रशिक्षक जगत टमाटा भन्छन्, ‘अगाडिको बाटोलाई हेरेर लक्ष्य तय गरेनौं भनेर अहिलेको खुशीमा मात्रै हराउन सक्छौं ।’

अनलाइनखबरले नेपाली टोली फर्केलगत्तै प्रशिक्षक टमाटा सहित उपकप्तान ज्ञानेन्द्र मल्ल र बलर सोमपाल कामीसँग छोटो कुराकानी गरेको छ ।

उनीहरुको भनाई जस्ताको तस्तै :

अगाडि झन् ठूलो चुनौती : जगत टमाटा, प्रशिक्षक

युएई सिरिजमा सबैको योगदान राम्रो भयो । खेलाडीले धेरै नै मेहनत गरेका छन् । त्यसले नै अहिले देश खुशी छ । केटाहरुले धेरै राम्रो खेलेका हुन् । यसपटक समग्रमा ब्याटिङ, बलिङ र फिल्डिङ सबै राम्रो भएको हो । यसले सबैको मनोबल बढेको छ । यसपटक पहिलेभन्दा फिल्डिङमा जे देखियो त्यो असाध्यै राम्रो हो । अहिले पनि आँखामा झल्किरहेको छ ।

खुशी त हुनुपर्छ तर, हामीलाई अझ धेरै चुनौती छन् भनेर सोच्नुपर्छ । केटाहरुलाई सुविधा हुनुप¥यो । उनीहरुको जीवन सुरक्षित हुनुप¥यो । त्यसो भएमा आउने पुस्ताले पनि अझ राम्रो गर्दै जान्छ ।

क्रिकेट संघ भयो भने अरु कुरामा सुधार हुँदै जान्छ । घरेलु क्रिकेट राम्रो हुनुप¥यो । किनभने हामीसँग घरेलु क्रिकेट नै छैन । घरेलु क्रिकेट भयो भने अरु केटाहरु पनि निस्कन सक्छन् । नयाँ खेलाडी आएपछि धेरै राम्रो प्रतिस्पर्धा बनेको छ ।

हामी पनि अबका दिनका लागि मेहनत गर्न तयार छौँ । सरकारी स्तरमा पनि आगामी दिनको लागि सोचेर अगाडि बढ्नु पर्छ ।

नेपालमै यस्ता खाले सिरिज गर्न हामी सक्छौं । तर त्यो राज्यले गर्ने कुरा हो । आईसीसीसँग सरकारी स्तरमा कुरा भयो भने त्यो सम्भव छ जस्तो लाग्छ । अहिले भएकै संरचनामा पनि त्यो सम्भव छ ।

सिस्टम बसाउनु आवश्यक : ज्ञानेन्द्र मल्ल, उपकप्तान

हामी युवा टिम लिएर नै गएका हौं । जित्ने लक्ष्य लिएर गएका थियौं र जित्यौं पनि । हामीले योभन्दा अझ राम्रो गर्न सक्थ्यौं । व्यक्तिगत प्रदर्शन मात्र होइन, सामूहिक रुपमा कसरी बढ्ने भनेर हामीले अझ राम्ररी सिक्यौ) । यसपटक ब्याटिङ प्रशिक्षक आएर पनि धेरै सजिलो भयो ।

यो पनि पढ्नुहोस युएई सिरिज जितेको पैसा खेलाडीलाई, ट्रफी होटलमा !

अन्तिम खेलको त्यो क्याचको धेरै नै तारिफ भएको छ । त्यो मात्र होइन, हामीले फिल्डिङमा धेरै नै राम्रो गरेका हौं ।

युवा खेलाडीले जुन काम गरेका छन्, त्यसले भविष्य पनि देखिएको छ । उनीहरुले माथिल्लो स्तरको क्रिकेटमा अहिले नै यति गरेका छन् भने यसलाई अगाडि बढाउँदा अझ राम्रो हुँदै जान्छ ।

अहिलेदेखि नै हामी तयारीमा लाग्नुपर्छ । जितेर आयौं भनेर बस्ने भन्दा पनि अगाडिको लागि सोचेर तयारीमा जानुपर्छ । सरकारी पक्षबाट केही भएन भने पनि हामी खेलाडीले आफ्नो स्तरबाट सक्ने तयारी गरिरहनु पर्छ । एकदिवसीय विश्वकपसम्म सोचेर हामीले तयारी गर्नुपर्छ । त्यसो गर्न सक्यौं भने राम्रो हुँदै जान्छ । हामीले सबै कुरामा सिस्टम बसाएर जानुपर्छ ।

हामी नराम्रो कुरालाई छिटो देख्छौं र सकारात्मक कुरालाई बिर्सन्छौं । त्यसैले अब हामी सबैजना सकारात्मक भएर नै बढ्नुपर्छ जस्तो लाग्छ । त्यसले नै क्रिकेटको मुहार फेर्न सकिन्छ ।

लक्ष्य पूरा गरेर आयौं : सोमपाल कामी, बलर

युएई टुर एकदमै राम्रो भयो । सबै खेलाडीले जुन जिम्मेवारी पाए त्यसमा राम्रो गर्न सके जस्तो लाग्छ । युएई जानुअघि लिएको लक्ष्य पूरा गरेर आउन पाउँदा खुशी लागेको छ । हामीले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गरेका हौं ।

ब्याट्सम्यानहरुले पनि यो पटक निकै सोचेर खेलेका हुन् । एकदिवसीयमा पारस दाइले खेल्नुभएको खेल सबैका लागि हौसला बनेको छ ।

यो पनि पढ्नुहोस नेपाल टी -२० वरियताको १४ औं स्थानमा

हामी सबैजना खुशी छौं । जानुअघि पनि हामी सक्छौं भनेर विश्वस्त थियौं । युएईको महत्वपूर्ण तीन खेलाडी नभएकाले पनि व्यक्तिगत रुपमा मैले ३–० नै जित्ने सोचेको थिएँ । पहिलो खेल हार्दा नराम्रो लाग्यो । विस्तारै हामीले खेलमा सुधार गर्दै गयौं ।

जहिले पनि मौका पायौं त्यो बेला सोचेर नै खेलेका हौं । सबै सम्झँदा खुशी लाग्छ । देशका लागि केही गर्न पाउँदा हामीलाई धेरै नै राम्रो लाग्छ ।

पहिलो एकदिवसीयमा मेरो लागि राम्रो अवसर पनि थियो । अघिल्लो दिन नै म चौथो नम्बरमा ब्याटिङ गर्न जाँदै छु भन्ने थाहा थियो । त्यसबेला अप्ठ्यारो स्थितिबाट अघि बढेपछि सजिलो बेलामा भने आउट हुन पुगेँ । अब यस्तै अवसर अर्कोमा पाएँ भने राम्रो गर्नेछु । त्यो विकेट अलि गाह्रो नै थियो ।

‘जति हुन सक्छ खेल, अवस्था सजिलो छैन,’ भनेर मलाई कोचले पठाउनुभएको थियो । ‘रन बन्दै जान्छ विकेटमा बस्ने सोच’ भन्नुभएको थियो । आज खेलिन भने यो मौका बारम्बार आउँदैन भन्ने लागेको थियो । त्यसैले सकेसम्म राम्रो गरेँ ।

मैले योभन्दा पहिले जर्सी नम्बर १० लगाउँथे । यसपटक जर्सी नम्बर १ लगाएँ । त्यसमा पनि कतिले प्रश्न गरेको पाएँ । मैले सचिन तेन्दुलकरलाई मन पराउने भएर १० नम्बर लगाउँथे । केही सयमअघि इन्जुरी भएपछि ममी–बुबाहरुले १ नम्बर जर्सी लगाउन सुझाव दिनुभयो । त्यसले मलाई मानसिक रुपमा पनि बलियो बनायो जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment