Comments Add Comment

रुपमती हत्यापछि त्रासमा बलुवाईको सुकुम्बासीबस्ती

२३ माघ, विराटनगर । माघ १३ गते संघीया खोला किनारमा विराटनगर– ८ कि ११ वर्षीया बालिका रुपमती दास (रुमती) को विभत्स अवस्थामा शव भेटियो । शव भेटिएको एक सातापछि प्रहरीले बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा भुट्टु भनिने अब्बास अन्सारी र चन्दु महतोलाई सार्वजनिक गर्‍यो ।

प्रहरीले सार्वजनिक गरेका हत्या आरोपी र मृतक बालिका छिमेकी हुन् । अब्बासको घर पुग्न रुमतीको घरकै गल्लीबाट जानुपर्छ । चन्दुको घर रुपमतीको घरदेखि पूर्वतर्फ छ ।

बालिकाको शव भेटिएपछि असुरक्षित महसुस गरेका टोलबासी हत्या आरापी सार्वजनिक पछि पनि सुरक्षित महसुस गर्न सकेका छैनन् । अझ अब्बास र चन्दुको परिवार बढी त्रासमा छ । ‘दिउँसो त बस्छौं । तर, राति धेरै डर लाग्छ’, अब्बास कि बहिनी अवसना खातुनले भनिन् ।

अब्बासका बुबा सिलाइको काम गर्छन् । श्रीमती रविना भने केही समययता दुई सन्तान सहित माइत बस्दै आएकी छन् । घरमा बुबा र दुई बहिनी मात्र छन् । घटनापछि कसैले केही नभने पनि घर बस्न धेरै असहज भएको अवसनाको गुनासो छ । घटनापछि चन्दुको परिवार पनि त्रासमा छ । बालिकाको शव भेटिएपछि उनकी आमा गनिया देवी दुई दिन छिमेकी रुनादेवी मुखियाको घरमा बास बसेकी थिइन् । दैनिक मजदुरी गर्ने उनी त्यसपछि घरमा बस्दै छिन् । यता, रुपमती दासको परिवारले पनि सुरक्षित महसुस गरेको छैन् ।

चन्दु, अब्बास र रुमतीको परिवार मात्र होइन, विराटनगर–८, बलुवाई टोलका सुकुम्बासी बस्ती नै त्रासमा छ । ‘राति कोठाबाट निस्कन धेरै डर लाग्छ’, स्थानीय रामवती शर्मा भन्छिन्, ‘पापीले बच्चालाई त छाडेनन् ।’

स्थानीय लालु दास प्रहरीले हत्या आरोपीलाई समाते पनि लागुऔषध प्रयोकर्ताहरुले अझै गाउमा त्रास पैदा गरेको बताउँछन् । ‘राति राति घरमा ढुंगा हान्छन्’, उनी भन्छन् ‘ गाली नगरेसम्म भाग्दैनन् ।’

बालिकाको हत्या हुनु अघि बुलवाई मै रहेको निर्माणाधीन पशु वधशाला लागुऔषध प्रयोगकर्ताको अड्डा थियो । घटनापछि वधशालामा दुव्र्यसनी भेला भएका छैनन् । तर बालिकाको घरदेखि पूर्वतर्फ रहेको खाली चौरमा जाने गरेको स्थानीयले बताए ।

प्रहरी भन्छन्– घरदैलोमा पुगेका छौं

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी परिचालन गरेको बताउछन् । दैनिक र रात्रि गस्ती पनि गर्दै आएको उनले बताए । ‘छिमेकमा घटना भएकाले हामी डोर टु डोर अभियानमा छौं’, उनी भन्छन्, ‘स्थानीयको समस्या बुझेर सुरक्षाको प्रत्याभूति दिलाउछौं ।’ प्रहरीले लागुऔषध प्रयोगकर्ताको अखडा भत्काइदिएको दाबी उनको छ ।

प्रहरीले हत्या आरोपी भनेर सार्वजनिक गरेपछि पीडित परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । सोमबार प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेपछि रुमतीका बुबा रामप्रसादले पीडकलाई कडा कारबाहीको माग गरेका हुन् । ‘मेरो छोरीलाई पापीहरुले मारे । खुसी खोस्नेलाई कडा कारबाही होस’, रामप्रसादले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment