Comments Add Comment

जिब्रो हेरेरै पत्ता लाग्छ धेरै रोग

तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ । त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ । अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ ।

टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन । तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिकित्सकले किन जिब्रोलाई यति धेरै महत्व दिन्छन् ?

जिब्रोको अर्को पाटो

जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन । जिब्रोले स्वास्थ्य समस्याको बारेमा पनि संकेत दिने गर्छ ।

जिब्रोको अवस्था हेरेर सजिलोसँग स्वास्थ्य समस्याबारे थाहा पाउन सकिन्छ । जिब्रोलाई पेटको दर्पणको रुपमा पनि लिइन्छ । यसले पाचनसम्बन्धी समस्यालाई प्रतिबिम्बित गर्नुका साथै पाचन प्रणालीको गडबडी र अन्य खरावीलाई पनि देखाउने गर्छ ।

प्राचिनकालमा बैद्य अर्थात आयुर्वेदिक फिजिसियनहरुले जिब्रो, नाडि, हात र खुट्टाका नङ तथा कपालको परिक्षण गरी गम्भीर रोग पनि पत्ता लगाउँथे । यसरी नै उनीहरुले क्षयरोग, मस्तिष्क रोग, छारे रोग, पेट सम्बन्धी रोगको सफल उपचार पनि गर्थे ।

विरामीले झुटो बोलेर रोग लुकाउन खोजे पनि जिब्रोमा हुने परिवर्तनले यसलाई लुकाउन दिँदैन । यद्यपि एलोप्याथिक औषधिको सेवन गरिरहेको वा कुनै जडिबुटीको सेवन गरिरहेको अवस्थामा पनि जिब्रोको रङ परिवर्तन हुन सक्छ ।

अहिले पनि आधुनिक चिकित्सा (एलोप्याथिक) ले भने रोग निदानको उद्देश्य बाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैन, जति आयुर्वेदिक, होमियोप्याथिक र युनानीमा दिइन्छ । तर,  होमियोप्याथिक चिकित्सकलाई बिरामीको जिब्रोले महत्वपुर्ण जानकारी दिने गर्छ । यसकै सहायताले चिकित्सकले औषधिको निर्देश पत्र लेख्छ ।

रोगअनुसार जिब्रोमा परिवर्तन

डा. ललितकुमार मिश्र

जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ ।

अपचले गर्दा पित्त बढेर टाउको दुख्नुका साथै आँखाको दृष्टि क्षमतामा पनि समस्या सृजना गर्छ । पेटमा भएको बायुविकारले मुटुको धड्कनलाई बढाउने, छातीमा दुखाई हुने गर्छ । यस्ता समस्याको संकेत जिब्रोमा सहजै देख्न सकिन्छ । त्यति मात्र नभएर जिब्रोले अंगहरुले गरिरहेको कामबारे पनि जानकारी दिन्छ ।

अर्द्ध पक्षधात भएमा जिब्रोको अघिको भाग सुक्ने गर्छ । त्यस्तै, पहेँलो र चिल्लो जिब्रोले रगतसम्बन्धि बिकारलाई इंगित गर्छ ।

जिव्रो निलो छ भने मुटुसम्बन्धि (ईमप्युअर अक्सिजन) समस्या भएको थाहा लाग्छ । मानिसको मन, शरिर, भावनासमेत पाचन प्रणालीबाट प्रभावित भएको हुन्छ । जस्तो कि हाइपरएसिडिटी प्रायः ब्यक्तिको तनावसँग जेडिएको हुन्छ । त्यसैले जिब्रोले पूर्ण शरिरलाई नै वताउने गर्छ ।

यदि पेटको माथिल्लो भाग दुखिरहेको छ भने त्यस्ता व्यक्तिको जिब्रोमा चमक देखिन्छ । त्यस्तै, जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किला थोप्लाको निशान छ भने पेटमा जुका परेको हुन सक्छ । जिब्रोका केही अवस्थाले ब्यक्तिको शरिरमा रहेको मात्र नभएर सम्भावित रोगबारे भबिष्यबाणी पनि गर्न सकिन्छ । डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रोलाई मुखमा किटाणुको संक्रमण भएको लक्षणका  रुपमा लिईन्छ ।

त्यस्तै, एलर्जि भएमा जिब्रो सुनिने गर्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंस) को संक्रमण हुने गर्छ । यस्ता व्यक्तिको जिब्रो कालो र रगंहिन हुन्छ ।

जिब्रोको सतहमा लामा र गहिरा धर्साहरु (चिरा) भएमा भिरंगी (सिफिलिस) जस्ता यौन रोग लागेको पनि हुन सक्छ । त्यस्तै, जिब्रोमा पटक-पटक घाउ भएमा त्यो पेटको जटिल रोग -क्रोनिक डिजिज) को लक्षण हो ।

जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउने समस्या भएमा भिटामिन बी १२ र फलाम तत्वको कमी र रक्तअल्पता भएको भएको शंका गर्नुपर्छ ।

ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको-पेट दुख्नेजस्ता समस्या पनि मानिसको जिब्रो हेरेरै पत्ता लगाउन सकिन्छ ।

जिब्रोको कुन भाग कुन अंगसँग जोडिन्छ ?

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स-साना टुस्सा (प्यापिलि) ले भरिएको हुन्छ । आयुर्वदिक चिकित्साअनुसार जिब्रोको विभिन्न भागले फरक-फरक अंगबारे जानकारी दिने गर्छ ।

जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले मिर्गौला, सतहदेखि माथिको भागले आन्ऽा, अगाडिको भागले अग्नाशय र त्यसभन्दा अछिको भागले पेटको अवस्थालाई देखाउँछ । बिच छेउको भागले दाहिने फियो र देब्रे कलेजोलाई संकेत गर्छ । र, अगाडिको दुबै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउने गर्छ । त्यस्तै त्यही भागको बीचभागले मुटुलाई प्रतिविम्ब गर्छ । त्यसैले ऐनामा जिब्रो हेरेर आफैं पनि आफ्नो स्वास्थ्यअवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । स-साना बालबालिका, लाटा, बहिरा र नबुझ्ने भाषा भएका विरामीहरुलाई जिब्रो हेरेरै औषधी लेख्न सकिन्छ ।

– डा. मिश्र आस्था होमियो क्लिनिकका होमियोप्याथिक कन्सल्टेन्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment