+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

प्रदेशबाटै श्रम स्वीकृति :  ‘बल्ल सङ्घीयताको अनुभव’

रासस रासस
२०७५ माघ २३ गते १९:५९
Photo Credit : फाइल तस्वीर

२३ माघ, उर्लाबारी ।  धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय विजय खड्का ८ वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा छन् ।

तीन महिनाको बिदा लिएर घर आएका खड्काले विभिन्न सञ्चारमाध्यममा विराटनगरबाटै श्रम स्वीकृत हुने समाचार थाहा पाए । यसअघिसम्म काठमाडौँमा निकै झन्झटिलो प्रक्रियाबाट श्रम स्वीकृति लिँदै आएका उनलाई शुरुमा त आफ्नो प्रदेशको अस्थायी राजधानीबाटै श्रम स्वीकृत हुने विश्वास लागेको थिएन ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति दिने निश्चित भएपछि बुधबार बिहान उनी श्रम स्वीकृतिका लागि कार्यालय पुगे ।

कार्यालयबाट उनले नै पहिलोपल्ट श्रम स्वीकृति प्राप्त गरे । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुनः कतार जाने तयारीमा रहेका खड्कालाई पहिलो श्रम स्वीकृति दिएर सो कार्यको थालनी गरेका थिए । श्रम स्वीकृति प्राप्त गरेसँगै आफूलाई खुशी लागेको खड्काले बताए । उनले भने ‘पहिलो पटक आफ्नै प्रदेशबाट श्रम स्वीकृति पाउँदा खुशी लागेको छ, काठमाडौँमा ३ दिनसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

त्यस्तै खड्कापछि ३ वर्षदेखि लेबनानमा वैदेशिक रोजगारमा रहेका मोरङको रतुवामाई नगरपालिका–८ इटहरा बजारका कृष्ण घिमिरेले पनि बुधबार नै श्रम स्वीकृति लिए । ‘देशमा बल्ल सङ्घीयताको अनुभव भएको छ’ उनले भने, ‘अब वैदेशिक रोजगारमा जाने युवालाई खर्च पनि कम लाग्ने भयो, काम पनि चाँडो हुने भयो ।’

आफ्नो प्रदेशबाटै श्रम स्वीकृति प्राप्त गरेपछि घिमिरेले आफ्नो फेसबुक स्टाटसमा लेखे ‘आजबाट प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट श्रम स्वीकृति लिइयो, थ्याङ्क्स गोकर्ण बिष्ट ।’  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बिष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए ।

सो घोषणाअनुसार प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा पनि बुधबारदेखि श्रम स्वीकृति सेवा शुरु भएको हो । कार्यालयका शाखा अधिकृत ताम्रराज काफ्लेका अनुसार बुधबार पहिलो दिन ४५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृतिको पहिलो चरणमा विदेश बसेर बिदामा आएकाका लागि सेवा प्रदान गरिने कार्यालयकी निमित्त प्रमुख सबिता दाहालले बताए । बुधबार प्रदेश नं १ बाट श्रम स्वीकृति शुरु गरिएसँगै देशका सातवटै प्रदेशबाट यससँग सम्बन्धित सेवा प्रदान भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?