Comments Add Comment

स्रष्टा अपमानित भएका ती दुई दिन

माघको १८ र १९ को दिन पूर्वी नेपालको मुख्य सहर बिर्तामोड नेपाल र भारतका नेपालीभाषी श्रष्ठाको जमघटले भरिभराउ थियो । समूह समूहमा सहर छिरेका जमघटले अटो सेवा, चिया पसल र भक्का ब्यापारमा पनि बढोत्तरी भएको थियो । बिर्तामोड सहरका निर्वाचित जनप्रतिनिधि मात्र होइन, जिल्लाभरिका गाउँपालिका वडाध्यहरु पनि भ्याइ नभ्याइ कुदिरहेका देखिन्थे । त्योभन्दा बढी साहित्यको भोक स्थानीय सञ्चारमाध्यमलाई लागेको थियो ।

‘दुई दिन भए पनि निकै रमाइलो होला जस्तो छ ।’ रेडियोको ठूलो ‘भोल्युम’मा समाचार लगाएर अटोमा साहित्यकारलाई सेवा दिइरहेका ‘गल्फ रिटर्न’ दिवाकर भट्टराई भन्दै थिए, ‘धराबासी मेरा गाउँले दाजु हुन् । साहित्यको महानता उनैबाट सिकेको हुँ । त्यसैले पनि साहित्यकारप्रति मेरो ठूलो श्रद्धा छ ।’

सहरमा साहित्यिक उत्सव हुँदै थियो । नेपालभरिबाट जम्मा भएका २५० र पूर्वोत्तर भारतबाट आएका दुई दर्जनभन्दा बढी नेपाली भाषासेवीहरुलार्ई बिर्तामोडबासी सबैले आफ्नो तर्फबाट स्वागत गरे । खानपान र उठबसमा असुविधा हुन दिएनन् ।

कार्यक्रम पनि भव्य भयो । तीनवटा कार्यपत्र प्रस्तुत गरिए । पुस्तकहरुको विमोचन भयो । नेपाल र भारत दुबै देशका चर्चित स्रष्टाले अबको नेपाली साहित्य कता जाने भन्ने विषयमा बहस गरे । यसभन्दा बढी कवि–लेखकले आफ्ना सिर्जनाहरु सुनाए । नाम मात्र सुनेका स्रष्टाहरु आफ्नो अघि उभिएको पाउँदा झापा वरपरका साहित्यकारहरुको अनुहार अनुग्रहित भएको प्रस्टै देखिन्थ्यो ।

दुई दिनको सम्मेलनपछि बिर्तामोडका सेवारत समूहहरुको उत्साह सेलाउँदै गयो । अटोमा सेवा दिनेहरु, चियापसल र होटलहरु, कार्यक्रमका संयोजक र ब्यवस्थापक सबैले बिर्तामोड जम्मा भएका समूहले कार्यक्रमको आलोचना गरेको सुन्न थालियो । स्थानीय सञ्चारमाध्यमको बोली पनि मसिनो हुँदै गयो । राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरुले पनि यो सम्मेलनको उद्घाटनका दिन जसरी समाचार प्रस्तुत गरेका थिए, सम्मेलनको अन्त्यको समाचार समेत बनाएनन् ।

झण्डै साढे तीनसय मानिसले दुई दिनसम्म गरेको साहित्यिक सम्मेलनले जुन गरिमा बोक्नु पर्दथ्यो, त्यो नभएको अनुभव गरेपछि झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित धर्मशीला चापागाईंले मञ्चबाटै भनिन्, ‘सायद हामीले कार्यक्रममा तपाईंहरुले सोचेजस्तो काम गर्न सकेनौं, माफ गर्नूहोला ।’

के भएको थियो ?

कार्यक्रमको नाम थियो, ‘मितेरी साहित्यिक सम्मेलन’ । नेपाली साहित्यमा नयाँ सोच ल्याउने उद्देश्यका साथ कार्यक्रम सुरु भएको थियो । कार्यक्रम आयोजक भवानी घिमिरे प्रतिष्ठानका उपाध्यक्ष कृष्ण धरावासीले साहित्यकारहरुलाई निम्तो गर्दादेखि नै भनिरहेका थिए, ‘नेपाली साहित्य राजनीतिको छाँयामा पर्‍यो । लेखकहरु प्रगतिशील र लेखक संघमा मात्र होइन, विभिन्न वाद र स्वार्थमा बाँडिए । एउटा संस्थाको कार्यक्रममा अर्कोलाई नबोलाउने, बोलाए पनि नजाने परिपाटी विकास भयो । त्यसलाई चिर्न नेपालका सबैथरी बिचार बोक्ने लेखकहरुलाई भारतीय स्रष्टाहरुसँगै राख्ने र सीमानाभन्दा माथि उठेर नेपाली भाषा साहित्यको उत्थानमा नयाँ काम गर्ने उद्देश्य छ है ।’

सुन्दा नै आकर्षक लाग्ने विषय र सोचका कारण पनि धेरै भेला भएका साहित्यकारहरुलाई त्योबेला झड्का लाग्यो, जब साहित्य मेला राजनीतिक भेलामा परिणत भयो । कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश एकका मुख्य मन्त्री शेरधन राईदेखि गाउँपालिकाका वडाध्यक्ष र स्थानीय राजनीति दलका प्रतिनिधिहरुको आसन ग्रहण सुरु भयो । देश–बिदेशबाट आएका विशिष्ट साहित्यिक पाहुनाहरु दर्शकदीर्घामा बसेर राजनीतिक भाषण सुन्न बाध्य हुन थाले ।

साहित्यकारको प्रतिनिधिका रुपमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको आसनले लेखकहरुलाई केही राहत नदिएको होइन । तर, उप्रेतीले पनि स्रष्टाहरुलाई राजनीतिक पाठ पढाउन थालेपछि दर्शकदीर्घामा हलचल मच्चियो । खासमा यो हलचल लेखक तथा पत्रकार केदार शर्माले त्यही बेला गरेको ट्विटले ल्याएको थियो, जसलाई साहित्यकारले रि–ट्वीट गरिरहेका थिए ।

ट्वीटमा लेखिएको थियो, ‘प्रज्ञा प्रतिष्ठानका कुलपतिबाट देश बनाउने राजनीति पढ्नुपर्ने जस्तो साहित्यिक दुर्भाग्यको साक्षी हुनुपर्दाको पीडा कमै परिआउँछ ।’

उप्रेतीले त्यसलाई वास्ता गरेनन् । बरु आफ्नो भाषणमा घुमाउरो पाराले दुई तिहाई सरकारको भक्ति र डा. गोविन्द केसीको अनसनको विरोध गर्न थाले ।

अनि अर्को ट्वीटको लहर चल्यो । लेखिएको थियो, ‘कुलपतिज्यूले त साहित्यकारलाई संसदीय मर्यादा पनि सिकाउन भ्याउनुभयो ।’

करिब ३ घन्टा चलेको उद्घाटन सत्र पूर्णतः राजनीतिकेन्द्रित भएपछि साहित्यकारहरुको उपस्थिति क्रमशः पातलिँदै गयो । विशेषगरी भारतबाट आएका नेपाली साहित्यकारहरु त्यहाँ बस्नु जोखिमपूर्ण देखेपछि क्रमशः बाहिर निस्कन थाले । उद्घाटन सुरु हुँदा खचाखच भरिएको सभाहलमा पत्रकार, स्थानीय साहित्यकार र थोरै मात्र पाहुना बाँकी रहे ।

‘तपाईंहरुका लागि त यो कार्यक्रम ठीकै होला, तर हाम्रोे आफ्नै किसिमका राजनीतिक अप्ठ्यारा भएकाले कार्यक्रममा बस्न सहज भएन’ सिलुगुडीका कवि ज्ञानेन्द्र खतिवडाले भने, ‘कस्तो अप्ठ्यारो भने सभास्थलबाट उठौं, यस्तो भव्य कार्यक्रमको अपमान गरेजस्तो, नउठौं हाम्रा लागि अलि असहज विषयजस्तो ।’

खतिवडाले दोस्रो दिन बोल्ने पालो आउँदा यस विषयमा जमेरै बिरोध गरे । यद्यपि कार्यक्रमका सकारात्मक पक्ष धेरै भएकाले आफ्ना कमजोरी सुधार गर्न सुझाव पनि दिए ।

उद्घाटनबाटै बिथोलिन थालेको कार्यक्रमका विषयमा हलमा साहित्यिक बहस कम र बाहिर ज्यादा हुन थाल्यो । यसको असर मञ्चमा सुनाउन थालिएको कार्यपत्रहरुमा पनि पर्‍यो ।

कार्यक्रममा बस्नेहरुले पनि कार्यपत्रको कमजोरी औंल्याउने नियत मात्र बनाएको जस्तो देखिन्थ्यो । डा. ताराकान्त पाण्डेको कार्यपत्र ‘नेपाली कवितामा गणतान्त्रिक चेत’ मा प्रलेसनिकट साहित्यकारहरुका कविताको मात्र उद्धहरण दिने र अन्य लेखकहरुलाई पाखा पारिएको आरोप लाग्यो ।

‘राजनीतिबाट नेपाली साहित्य कति अँचेटिएको छ भन्ने नमुना देखियो । साहित्यकारले अहिलेसम्म लेख्नुपर्ने केही लेखेनन्, अब यस्तो लेख्नूहोस् भनेर मुख्य मन्त्रीदेखि वडाध्यक्षसम्मले निर्देशन दिएको देख्दा आफैलाई लाज लागेर आयो’ कवि भूपिनले प्रश्न गरे, ‘नेपाली साहित्यले केही नदिएकै हो ? देशलाई अप्ठ्यारो पर्दा सडकमा को आएको थियो ?’

कार्यक्रममा विशिष्ट वक्ताका रुपमा बोलाइएका नेकपाका नेता राम कार्कीको भाषणले असन्तुष्टिको आगोमा घिऊको काम गर्‍यो । उनले साहित्यकारहरुलाई चुनौती दिँदै भने, ‘तपाईंहरु पनि पत्रपत्रिकामा हल्का फूल्का कुरा लेख्नुहुन्छ । म पनि अखबारी लेखन नै गर्छु । तपाईंहरुका कुराले पटक्कै छुँदैन । समस्याको अन्तर्यभित्र पसेर लेख्नुहुन्न । त्यसो भएपछि तपाईहरुलाई किन मान्ने ? स्वआनन्दका लागि लेख्ने लेखकको कुरा छाडिदिउँ तर माक्र्सवादप्रति आकृष्ट कवि लेखकहरुको कलम किन भुत्ते ?’

कार्कीले माओवादीले गरेको ‘जनयुद्ध’ प्रति लेखक–कविहरुको ‘पूर्वाग्रही र सतही पुस्तक’हरुप्रति पनि ब्यङ्ग्य गरे । ‘जनयुद्धले केही नगरेकै हो ? १७ हजारको ज्यान जाने गरी भएको युद्धका नकारात्मक पक्ष मात्रै थिए ? यति नाङ्गो सत्यप्रति तपाईंहरु आँखा चिम्लनु हुन्छ भने हामीले तपाईंहरुलाई किन मान्ने ?’ कार्कीले यसो भन्दा आख्यानकार नारायण ढकालले त्यो भनाइ आफूप्रति संकेत भएको ठाने क्यारे । ढकाल मुस्कुक्क मुस्कुराए ।

करिब १५ मिनेटको जोडदार भाषणपछि राम कार्कीलाई आफूले कवि लेखकप्रति बढी नै कटाक्ष गरेको महसुस भएछ क्यारे । उनले अन्त्यतिर आफ्नो जनयुद्धको भूमिकामा लेखक कविले दायित्व लिनुपर्ने बताए । ‘देशमा परिवर्तनका लागि बन्दुक उठाऊ, के तिमी नपुंसक भएकै हौ भनेर लगातार कवितामा, लेखहरुमा र आख्यानहरुमा लेखकहरुले आक्रेश पोखे । नेपाली जनताको क्षमतामाथि प्रश्न गरे । त्यही भएर हामीले बन्दुक उठायौं । हतियार उठाउनुमा हामी होइन, बन्दुक उठाउ भनेर लेख्ने कवि लेखकको भूमिका बढी छ ।’

राम कार्कीले यसो भन्दा थोरै साहित्यकारले ताली बजाए, धेरै हाँसे । एकथरीले कार्यक्रमस्थलबाटै फेरि ट्विट गरे– ‘हामीलाई नमज्जा लाग्यो । यति ठूलो कार्यक्रम यसरी राजनीति प्रधान भएर आउनुहुँदैनथ्यो ।’

सिक्किम विश्वविद्यालयका नेपाली विभागका प्रा. डा. राजेन्द्र भण्डारीले भने, ‘हुन त यहाँ साहित्यलाई राजनीतिले फल्न फूल्न सहयोग गरेको कारण हामीलाई अनौठो लागेको हुनसक्छ । हामीकहाँ आफ्नो भाषा बचाउने चिन्ता छ, यहाँ राजनीतिज्ञहरु नै राम्रो साहित्य लेख्न प्रोत्साहन गरिरहनुभएको छ । अब के विषयमा लेख्ने भन्ने कुरा त लेखकको हातमा हुन्छ ।’

कार्यक्रम असफल भएकै हो ?


दुई दिन चलेका धेरैजसो सेसनमा राजनीति हाबी भएको देखिए पनि बिर्तामोड सम्मेलनले दुरगामी प्रभाव पार्ने आशा नारायण ढकालले गरेका छन् ।

‘हामीले बुझ्नुपर्ने कुरा के हो भने कार्यक्रम भवानी घिमिरे प्रतिष्ठानले गरेको हो । उनी आफै राजनीतिक व्यक्ति थिए । कार्यक्रमले बिर्सिन लागेका भवानी घिमिरेको साहित्यिक योगदानको चर्चा भयो, जुन जरुरी थियो । कार्यक्रममा भारततिरका उर्जाशिल कविहरुको उपस्थित थियो, जसको सम्बन्ध नेपाल लेखक–कविसँग जुट्ने अवसर प्राप्त भयो । त्यसबाहेक अबको साहित्य कता जानुपर्छ भन्ने १२ जना लेखकको बिचार महत्वपूर्ण थियो ।’

ढकालले राजधानी बाहिर साहित्यकारको ठूलो जमघट आफैमा ठूलो उपलब्धि भएको बताए । ‘साहित्यजस्तो अनुत्पादक भनिएको क्षेत्रमा राजनीति गर्नेहरुको चासो पनि महत्वपूर्ण हो । राजनीति गर्नेहरु मैले सबै जानेको छु भन्ने भ्रमको सिकार भएको पनि यहाँ देखियो । आगामी दिनमा आयोजकले यस्ता कुरामा बिचार गर्नुपर्छ ।’

आयोजकमध्ये एक लेखक धराबासीले पनि कार्यक्रममा राजनीति पक्षलाई बिर्सने हो भने सन्तुष्ट हुने केही आधार फेला पारेको बताए । ‘राजधानी बाहिर भारतको असमदेखि नेपालको पश्चिम कञ्जनपुरसम्मका श्रष्ठा भेला भएर बहस गर्नु नै यसको महत्वपूर्ण पक्ष हो । १५० जनाले मञ्च प्रयोग गरे ।’

राजनीतिले साहित्कि कार्यक्रमको गरिमा घटाएकोमा धराबासीले स्रष्टाहरुको चित्त बुझाउने प्रयास गरिरहेका थिए । ‘प्रदेश एकसँग भोलिका दिनमा सहयोग लिनुपर्छ । साहित्यमा धेरै काम गर्नुछ । यस्तोमा हामीले गरेको कार्यक्रम जननिर्वाचित प्रतिनिधिलाई थाहा होस् भनेरै उनीहरुलाई मञ्च दिएका थियौं ।’

धरावासीले सबै विचारका लेखक–कवि एक ठाउँमा उपस्थित हुँदा अर्को पक्षलाई बढी राजनीति महसुस भएको स्वीकार गरे ।

‘कम्युनिस्ट नेता राम कार्की झापाका सांसद हुन् । त्यसबाहेक उनी लेखक भएका कारण आफ्नो मत राखेका हुन् । मत राख्नकै लागि हामीले मञ्च दिएपछि त्यसलाई सहजरुपमा लिनु पर्छ’ धरावासीले भने, ‘मुख्य कुरा यो सम्मेलनले अबको नेपाली साहित्य कता जानुपर्छ भन्ने बहसको सुरुवात गरेको छ । मञ्चमा बोल्ने सबै वक्ता र छुटेका बिचारशील लेखकहरुको विचार समेटेर पुस्तक निकाल्ने योजना छ । यो बहसलाई देशभर लैजाने योजना छ ।’

साहित्यिक भेलामा राजनीतिक भाषण ठीक कि गलत भन्ने बहस चलिरहेका बेला अमर न्यौपाने यसलाई ज्यादा बहसमा ल्याउनु साहित्यकै लागि हानी हुने तर्क राख्छन् । ‘यस्ता क्षणिक छालमा गुदी हुँदैन । साहित्य त समुद्रको पिँधमा हुन्छ । बसह चलिरहेको देख्दा हामी छालहरुमा रमाइरहेका छौं भन्ने महसुस हुन थालेको छ’ न्यौपाने निष्कर्ष निकाल्छन्, ‘बिर्तामोडमा भएको मितेरी साहित्यिक सम्मेलन राजनीतिले किचेर पनि अलिकति टाउको उठाएको एउटा ठूलो भेला हो । जसले आगामी दिनमा राजनीतिलाई चुनौति दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment