Comments Add Comment

राजा वा सेना ल्याउने खेल सुरु भयोः चित्रबहादुर केसी

२६ माघ, बुटवल । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको दाबी गरेका छन् ।

नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै उनले नेकपालाई फुटाउने प्रयास भइरहेको बताए । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजमो अध्यक्ष केसीले हिन्दु राष्टको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञानेन्द्रको बेलाबेलाका अभिव्यक्ति आदिले गणतन्त्रमाथि कालो बादल मडारिइएको उनले बताए ।

भेनेजुएला प्रकरणले पनि नेकपामा द्वन्द्व बढाउने केसीको विश्लेषण छ । ‘पूर्व माओवादीहरु अमेरिकी हस्तक्षेपको विपक्षमा छन् तर, पुर्व एमालेहरु अमेरिकाविरुद्ध उभिन डराइरहेका छन् । यसले पार्टीभित्र स्पष्ट दुई लाइन देखिएको छ’, केसीले भने, ‘प्रचण्डलाई आफूले भनेजस्तो नभए नचाइदिने अरु नै छन् ।’

भ्रष्टाचार, महंगी नियन्त्रण नहुनु, दलहरु भागवण्डा र नेताहरु आफ्नै सेवा सुविधा बढाउन लिप्त भएकाले जनतामा पनि संघीयताप्रति वितृष्णा बढेको केसीको तर्क छ ।

आफू विभिन्न जिल्लामा पुग्दा एकथरि जनताले राजा, राणा वा सैनिक शासन ठीक भन्न थालेको पाएको उनले सुनाए । ‘एउटा सरकार पालिन नसकेको नेपालमा सातसात वटा सरकार कसरी पाल्ने भन्ने जनतामा परेको छ’, केसीले भने ।

प्रदेश राख्ने नै भए एकात्मक प्रणाली अन्तरगत केन्द्रको मातहत राख्न सकिने उनले बताए । प्रदेश सरकारका कारण विदेशी हस्तक्षेप झनै बढ्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment