Comments Add Comment

चार रनले हार्दै भारत इतिहास रच्नबाट चुक्यो, सिरिज न्युजिल्यान्डलाई

२७ माघ, काठमाडौं । भारतसँगको टी-२० क्रिकेट सिरिज घरेलु टोली न्यूजिल्यान्डले जितेको छ ।

अन्तिम खेलमा न्यूजिल्यान्डले भारतलाई चार रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । झिनो अन्तरले पराजित भएसँगै भारतले इतिहास रच्ने अवसर गुमाएको छ । टी-ट्वान्टी सिरिज भारतले अहिलेसम्म न्यूजिल्यान्डको घरेलु भूमिमा जित्न सकेको छैन ।

न्यूजिल्यान्डले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन मात्रै बनाउन सक्यो । भारतका लागि विजय शंकरले ४३, कप्तन रोहित शर्माले ३८ र दिनेश कार्थिकले अविजित ३३ रन बनाएपनि जित दिलाने भने सकेनन् ।

यसअघि सेडन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१२ रन बनाएको थियो । विशाल स्कोर बनाउन कोलिन मुनरोले ७२ रन बनाए । उनले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, टिम सेइर्फटले ४३ रन बनाए ।

बलिङतर्फ भारतका कुलदीप यादवले दुई विकेट लिएका थिए ।

यसअघि भएको पहिलो खेलमा न्यूजिल्यान्डले भारतलाई ८० रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा भारतले न्यूजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment