Comments Add Comment

वीरगञ्ज बसपार्क सञ्चालन गर्न फेरि अर्को भाका

३ फागुन, वीरगञ्ज । वीरगञ्ज बसपार्क मंसिर मसान्तभित्र सञ्चालनमा ल्याउने सरोकारवालाले दावी गरेपनि अझै सञ्चालनमा आउन सकेको छैन ।

मंसिर मसान्तको भाका नाघेको दुई महिना वितिसक्दा बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

यसअघि, वीरगञ्ज महानगरपलिकाका नगर प्रमुख विजयकुमार सरावगी र निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरुले मंसिर मसान्तसम्ममा बसपार्क सञ्चालनमा आउने दावी गरेका थिए ।

बसपार्क सञ्चालनमा नआउँदा दिवा सेवाका बस, माइक्रो, टाटा सुमो बाइपास सडकबाट नै छुट्दै आएका छन् भने रात्रि सेवाका बस घण्टाघर अगाडि रहेको बीपी उद्यानको जग्गाबाट छुट्ने गरेका छन् ।

१७ करोड ७३ लाख ५० हजारको लागतमा वीरगञ्जमा बसपार्क निर्माण भइरहेको छ ।

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोषमार्फत बसपार्कको ठेक्का लागेको छ ।

साढे ४ विगाहा जग्गामा निर्माणाधीन अत्याधुनिक बर्षपार्क पटक-पटकको विवाद र मुद्धा मामिलापछि १५ महिनाको कार्य अवधिसहित २०७१ फागुनमा ठेक्का लागेको थियो ।

महानगरपालिकाको दवावपछि निर्माण कम्पनी आशिष-पप्पु-रोशन जेभीले पछिल्लो समयमा काममा गति दिएको थियो ।

अहिले ठेकेदार पक्षले बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

रोशन कन्स्ट्रक्सनका कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियर शैलेन्द्र चौधरी अबको एक हप्तामा काम सकिने बताए । यसअघि उनले मंसिर भित्रै काम सक्ने दावी गरेका थिए ।

यो पनि पढ्नुस् –वीरगञ्ज बसपार्क निर्माणले गति लियो, मंसिरमै सञ्चालनमा ल्याउने तयारी

‘डेकुरेटिङ र फिनिसिङको काम तोकिएको समय अनुसार नहुने रहेछ, ससाना समस्या देखिन्छन् त्यसलाई सुधार गर्दै लगिरहेका छौं ।
सरसफाइको काम भइरहेको छ,’ उनले भने, ‘ढिलै होस तर राम्रो गरौं भनेर लागी परेका छौं । अब एक हप्तामा काम सम्पन्न हुन्छ ।’

उत्तर साइडको बाउन्डरी वालका सम्बन्धमा पर्सा जिल्ला अदालतले महानगरपालिका कै पक्षमा फैसला दिएका कारण पर्खाल निर्माण भइसकेको उनले बताए ।

पछिल्लो पटक थप गरिएको म्याद अनुसार माघ १ गतेसम्म बसपार्कको काम सम्पन्न भइसक्नुपर्ने थियो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले फागुन १० गते बसपार्क सञ्चालनको तयारी भइरहेको बताए । ‘बसपार्कको काम लगभग सम्पन्न भईसकेको छ, फिनिसिङको काम बाँकी छ,’ उनले भने, ‘ हामीले निर्माण कम्पनीलाई फटाफट काम अघि बढाउन भनेका छौं । फागुन १० भित्रै सञ्चालनमा ल्याउने सोच बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment