Comments Add Comment

पोखरा महानगरलाई सटरको भाडा नतिर्नेहरुमाथि आइतबारदेखि कारवाही थालिने

कोको हुन् पोखरा महानगरलाई २ करोड ४७ लाख डुबाउने ?

४ फागुन, पोखरा । पोखरा महानगरपालिकाले आम्दानीको स्रोत बढाउन विभिन्न व्यापारिक केन्द्रमा सटर तथा भवन बनाएर भाडामा दिएको छ । महेन्द्रपुल, लेखनाथ, राष्ट्रबैंकचोक, मालपोत कार्यालय गरेर महानगरको १ सयभन्दा बढी सटर तथा सिर्जना चोकमा ३ तले व्यापारिक भवन छन् ।  ती सटरबाट मासिक निश्चित भाडा पाउने गरी सम्झौता पनि भएका छन् । तर, विचौलियाको चलखेल र कर्मचारीको मिलेमतो हुँदा महानगरले वार्षिक करोडौं आम्दानी गुमाएको छ ।

महानगरले अझै २ करोड ४७ लाखभन्दा बढी उठाउन बाँकी छ । ४० वर्षअघि बनेका ती सटरहरु मर्मत भएका छैनन् । न त त्यसबाट उठेको आम्दानीको कुनै तथ्यांक नै छ । ती सटर तथा भवन ६० भन्दाबढी व्यक्ति तथा संस्थाले भाडामा प्रयोग गरिरहेका छन् । महानगरका सबै सटर प्रयोगकर्तालाई एक हप्ताभित्र भाडा तिरिसक्न महानगरले गत शुक्रबार एक हप्ताको समय दिएको थियो ।

तर, महानगरले दिएको समयावधिमा कतिपय व्यक्ति तथा संस्थाले भाडा तिर्न आएका छैनन् । महानगरले तोकेको समयावधिका भाडा नतिर्ने कतिपय सम्पर्कमा आएर पनि तिरेका छैनन् । कतिपय सम्पर्कविहीन रहेको महानगर राजस्व शाखाले जनाएको छ ।

‘कुनैले आधा तिरेर बाँकी केही दिनमै तिर्ने गरी बक्यौता राख्नुभएको छ । उहाँहरुलाई हामीले छुट दिएका छौं,’ आन्तरिक लेखापरीक्षक रोमनाथ उपाध्यायले भने, ‘कति पनि नतिर्नुभन्दा उहाँहरुलाई बिस्तारै नियमको दायरामा ल्याउन कोशिस गरिरहेका छौं ।’

महानगरले दिएको समयावधिमा भाडा तिर्न नआउनेमा जस्ट इन कन्स्ट्रक्सन प्रालि, गमालदीन मिया, विन्दु अधिकारी, प्रकाश पौडेल, संगिता साई, प्रकाश पहारी, सन्दीपकुमार अग्रहरी, सुमन गुरुङ, सुजन नेपाली, कसमस कम्प्युटर छन् । उनीहरुबाट महाननगरले ढेड करोडभन्दा बढी उठाउन बाँकी रहेको जनाएको छ ।

कारबाही गर्छौं : सूचना अधिकारी

पोखरा महानगरले भाडामा दिन बनाएको सटर प्रयोग गरेर भाडा नतिर्ने व्यापारीलाई आइतबारबाट कारबाही सुरु गरिने भएको छ । पटकपटक ताकेता गर्दा पनि भाडा तिर्न नआएपछि प्रशासनको सहयोग लिएर कारबाही गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले आइतबार प्रशासनको सहयोगमा भाडा नतिर्ने व्यापारीलाई महानगरमा बोलाइने बताए । उनले भने, ‘सुरुमा महानगर बोलाएर प्रष्टीकरण लिन्छौं । त्यसपछि सामान जफतसहित सटर बन्द गरिदिन्छौं र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

कसले कति तिर्न बाँकी ?

महानगरका अनुसार जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिले महानगरलाई १ करोड १ लाख ३३ हजार रुपैयाँ भाडा बुझाउन बाँकी छ । उक्त प्रालिको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता र महानगर लेखा शाखाबाट उनीसँग हुने सम्पूर्ण भुक्तानी पनि रोक्का गरिसकेको जनाएको छ ।

त्यसैगरी महानगरको सटर प्रयोग गरेवापत व्यक्तिगत रुपमा सबैभन्दा बढी भाडा नतिर्ने पोखरा महनेन्द्रपुलस्थित महानगरको ‘क’ ब्लकको १ नम्बर सटर प्रयोगकर्ता गमालदीन मिया छन् । उनले माघ महिनासम्मको सटर भाडा  १५ लाख रुपैयाँ तिर्न बाँकी छ तर उनी सम्पर्कमा आएका छैनन् ।

मियाले भाडामा लिएको सटर अहिले रामचन्द्र पाण्डेले प्रयोग गरिहरहेका छन् । ‘मिया सम्पर्कमै छैनन् । उनी सम्पर्कमा नभएपछि सटर प्रयोग गर्ने पाण्डेलाई नै हामी सोधपुछ गर्छौं,’ महानगर राजस्व शाखाका आन्तरिक लेखा परीक्षक अधिकृत रोमनाथ उपाध्यायले भने ।

त्यस्तै, महानगरको सटर प्रयोग गर्ने सन्दीप कुमार अग्रहरीले महानगरलाई भाडाबापत १२ लाख रुपैयाँ तिर्न बाँकी छ । महेन्द्रपुल ग ब्लकको सटर नम्बर २ र ३ उनको नाममा रहेपनि हाल विजय गुप्ताले प्रयोग गरिरहेका छन् । भाडा बुझाउन पत्राचार गर्दासमेत उनी सम्पर्कमा नआएको महानगरले जनाएको छ । उपाध्यायले भने, ‘कतिपटक ताकेता गरिसक्यौं तर उहाँ सम्पर्कमै हुनुहुन्न ।’

त्यसैगरी विश्वराज गिरीको नाममा रहेको तर दीपेन्द्र आचार्यले प्रयोग गरिरहेको राष्ट्रबैंक भवन सटरबाट महानगरले ७ लाख ८० हजार रुपैयाँभन्दा बढी उठाउन बाँकी छ ।

महानगरको तथ्यांक अनुसार लेखनाथ अर्घांैचोकमा रहेको महानगरको भवन प्रयोग गर्ने कसमस कम्प्युटरले माघसम्ममा ४ लाख ४२ हजार रुपैयाँ तिर्न बाँकी छ । महानगरका अनुसार साविक लेखनाथ नगरपालिकामा बनेको ५ कोठे भवन कसमस कम्प्युटरले ०७१ सालदेखि ०७५ मंसिरसम्म भाडा सम्झौता गरेको थियो । सम्झौता सकेर पनि महागरको भवन प्रयोग गरिरहेको र पूरा भाडा पनि नतिरेको हुनाले कसमस पनि कारबाहीको दायरामा परेको छ ।

त्यसैगरी महेन्द्रपुल क ब्लक ४ नम्बर सटर प्रयोग गर्ने विन्दु अधिकारीले ९ लाख रुपैयाँ भाडा बुझाउन बाँकी छ । उनको उक्त सटर अहिले केकबहादुर परियारले चलाइरहेका छन् ।

अर्का प्रयोगकर्ता विमराज आचार्यको नाममा रहेको तर माधव मिश्रले प्रयोग गरिरहेको राष्ट्रबैंक चोकमा बनाएको महानगरको भवन सटरले ५ लाख रुपैयाँ  भाडा बुझाउन बाँकी छ ।

महेन्द्रपुलकै सटर प्रयोग गर्ने काजिबाबु चिलवालले महानगरलाई ३ लाख ७७ हजार रुपैयाँ भाडा बुझाउन बाँकी छ । उनको नाममा रहेको उक्त सटर अहिले हिरालाल सुनारले प्रयोग गरिरहेका छन् ।

त्यसैगरी महेन्द्रपुल ख ब्लकको सटर प्रयोग गरिरहेका प्रकाश पौडेलले महानगरलाई भाडाबापत १ लाख ३२ हजार तिर्न बाँकी छ । उनको नाममा रहेको उक्त सटर अहिलेे मनोज लामा र इन्द्र सुनारले प्रयोग गरिरहेका छन् ।

महेन्द्रपुलकै सटर प्रयोग गरिरहेका प्रकाश पहारीले २ लाख रुपैयाँ महानगरलाई भाडा बुझाउन बाँकी छ । उनले हाल उक्त सटर मिलन नेपालीलाई प्रयोगमा दिएका छन् । त्यसैगरी संगिता साईको नाममा रहेको सटर अहिले कल्याण श्रेष्ठले प्रयोग गरिरहेका छन् । उनले हालसम्म २ लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी देखिएको छ ।

राजिन ढकालको नाममा रहेको महेन्द्रपुलको ख ब्लकको सटरले महानगरलाई ३ लाख ८३ हजार रुपैयाँ तिर्न बाँकी छ भने सुमन गुरुङले महेन्द्रपुलको बनाएको सटर भाडाबापत ५ लाख ६० हजार रुपैयाँ महानगरलाई तिर्न बाँकी देखिएको छ ।

करापुकोट मल्टी सर्भिसले महानगरलाई सटर भाडाबापत ९ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । सर्भिसको नाममा रहेका ती सटर विभिन्न अन्य व्यक्तिले चलाइरहेका छन् । उनीहरुले आफूले करापुकोटसँग सटर ३० हजार रुपैयाँका दरले किनेको बताएका छन् ।

राष्ट्रबैंक चोकमा महानगरले बनाएको व्यवसायिक भवन प्रयोगको सम्झौता गरेका तोरण मल्ल ठकुरीले महानगरलाई ६ लाख ३५ हजार रुपैयाँ तिर्न बाँकी छ भने पवनराज बसौलाले महानगरलाई भाडाबापत १ लाख ३९ हजार रुपैयाँ तिर्न बाँकी छ ।

राष्ट्रबैंक भवनको सटर प्रयोग गर्न सम्झौता गरेका दिलप्रसाद पोख्रेलले महानगरलाई उक्त सटर प्रयोग गरेवापत १ लाख २७ हजार रुपैयाँ तिर्न बाँकी छ । राष्ट्रबैंकमै रहेको भवनको सटर प्रयोग गर्ने रीता श्रेष्ठले महानगरलाई २ लाख बुझाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment