Comments Add Comment

भेनेजुएलाको सहायता सामग्री बोकेको अमेरिकी सैन्य विमान कोलम्बियामा

५ फागुन, काठमाडौं । मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको छ । भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै अमेरिकी सैन्य विमान कुकुता शहर पुगेको हो ।

भेनेजुएलाका विपक्षी नेता जन गुइदोको आग्रहमा मानवीय सहयोगका लागि अमेरिकाले सहायताका सामग्री पठाएको बीबीसीले उल्लेख गरेको छ ।

भेनेजुएला मानवीय संकटमा रहेको भन्दै विपक्षी नेताले आग्रह गरेपछि आफूहरुले मानवीय सहायता गर्न लागेको यूएसएडका प्रशासक मार्क ग्रिनले बताएका छन् ।

‘बालबालिकाहरु भोकभोकै रहने र सबैजसो अस्पताल गम्भीर प्रकृतिका औषधिको अभावमा फस्ने खतरा बढेपछि सहयोग गरेका हौं,’ कुकुतामा आयोजित पत्रकार सम्मेलनमा ग्रिनले अमेरिकी सहायताको औचित्य पुष्टि गर्दै भने ।

खाना र औषधिको अभावपछि भेनेजुएलाका ३० लाख जनता भौतारिँदै छिमेकी देश पुगेको दाबी पनि ग्रिनले उक्त अवसरमा गरे ।

गुइदोले फेब्रुअरी २३ मा भेनेजुएलाका स्वयंसेवकहरुले ती मानवीय सहायता सामग्री सीमा पार गराउने बताएका छन् ।

यो पनि पढ्नुहोस भेनेजुएलाका राष्ट्रपतिद्वारा आर्थिक सहायता अस्वीकार, भन्छन्– हामी भिखारी होइनौं

तर, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विदेशी सहायता इन्कार गरेकाले सीमा पार गर्न सहज नहुने अनुमान गरिएको छ । मदुरोले अमेरिकी सहयोगको आलोचना गर्दै यसलाई अमेरिकी हस्तक्षेपको एक हिस्सा भएको टिप्पणी गरिसकेका छन् ।

मदुरो पछिल्लो समय राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भेनेजुएलाका विपक्षी नेताहरु निर्वाचनको निष्पक्षतालाई लिएर संघर्षमा छन् । गत महिना विपक्षी नेता गुइदोले सडकबाटै आफूलाई राष्ट्रपति घोषणा गरेपछि यसले फरक मोड लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment