
६ फागुन, काठमाडौं । शिक्षा समूहका आधाभन्दा धेरै उपसचिव स्थानीय तहमा समायोजन भएका छन् ।
शिक्षा समूहतर्फ समायोजन भएका कुल उपसचिवको संख्या ४२९ छ । यसमध्ये स्थानीय तहमा २२७ जना समायोजन भएका छन् । संघमा १४६ र प्रदेशमा जम्मा ५६ जना उपसचिव समायोजन भएका छन् । प्रतिशतमा हेर्दा स्थानीय तहमा शिक्षाका ५३ प्रतिशत कर्मचारी समायोजन भएको देखिन्छ ।
हाल विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई छ । त्यसैले पनि शिक्षाको जनशक्ति स्थानीय तहमा धेरै आवश्यक छ र केन्द्रमा नीति निर्माण तहका कर्मचारी मात्र राखिनुपर्दछ ।
तर, शिक्षाविद मनप्रसाद वाग्ले भने यही अवधारणाअनुसार केन्द्रमा भन्दा स्थानीय तहमा शिक्षाका उपसचिव धेरै समायोजन गरिएको भने मान्दैनन् । उनका अनुसार बढुवा भएका शिक्षाका उपसचिव धेरै भएपछि केही जिल्लामा दुई-दुई जना जिल्ला शिक्षा अधिकारी राख्नुपरेको थियो । आवश्यकताभन्दा बढी कर्मचारीको व्यवस्थापन गर्नुपर्दा यस्तो अवस्था आएको हुनसक्ने वाग्लेको अनुमान छ ।
प्रदेशमा सर्भे इन्जिनियर एकजना मात्र
सबैभन्दा धेरै प्रशासन सेवाका ८४८ उपसचिव छन् । तिमध्ये स्थानीय तहमा ४, प्रदेशमा ८ र संघमा ८३६ जना समायोजन भएका छन् ।
प्रदेशमा सर्भे इन्जिनियरिङ तर्फको एकजना मात्र उपसचिवको समायोजन भएको छ । सर्भे इन्जिनियरिङतर्फ संघमा समायोजन भएका उपसचिवको संख्या भने ५६ छ ।
लेखा समूह तर्फका १६० जना उपसचिव संघमा समायोजन भएका छन् । प्रदेश र स्थानीय तहमा भने ७-७ जना समायोजन भएका छन् ।
राजश्वतर्फ १५२ जना उपसचिव संघमा समायोजन हुँदा प्रदेशमा समायोजन हुनेको संख्या १४ छ ।
हाइड्रो इन्जिनियरिङ, आर्थिक योजना तथा तथ्यांक र जनरल मेकानिकलका सबैजना संघमा समायोजन भएका छन् । हाइड्रो इन्जिनियरिङतर्फ २०, इन्जिनियरिङ जनरल मेकानिकलतर्फ १७ र तथ्यांक सेवाका ५८ जना छन् । इन्जिनियरिङ सेवाअन्तर्गत हाइड्रोलोजीतर्फ भने संघ र प्रदेशमा समान ७-७ जना समायोजन भएका छन् ।
यो पनि पढ्नुहोस्
७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)
प्रतिक्रिया 4