Comments Add Comment

फेरि शुरु हुने भयो पलेँटी

लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुवरी महिनादेखि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी  नेपालयले गराएको छ ।

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका  अधिकांश  सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।

अँग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको कुरा नेपालयले जानकारी गराएको छ ।

‘लामै ग्यापपछि पलेँटी थालिँदै छ । साँच्चै भन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन् । यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं ।’ पलेँटी संयोजक आभासले भने ।

आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।

‘नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारहरूको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ ।‘ महिला विशेष पलेँटीका बारे आभासको टिप्पणी थियो ।

यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झँनेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा संदर्भलाई संक्षिप्त वाचन गर्ने छन् ।

मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलेँटीसँग सम्बन्धित गायिका हुन् । उनले यसपाली प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।

‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालय पनि हो । यो विद्यालयको मञ्चमा बस्न पाउँदा म सँधै उत्साहित हुन्छु । यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु ।‘  ‘आर’शालामा वाद्यवादक बीच अभ्यासरत मीना आउँदो पलेँटी बारे भन्दै थिइन् ।

‘अबका पलेँटीमा संगीतसँग आवद्ध विषय केन्द्रित कार्यक्रम पनि प्रस्तुत हुने छन् । यसैको शुरुवात स्वरुप, फेब्रुवरी महीनाको पलेँटीलाई हामीले ‘नेपाली संगीतमा महिलाको संलग्लनता र योगदान’ विषयमा केन्द्रित गर्दै कार्यक्रम निर्माण गरेका हौं ।’ पलेँटी कार्यक्रम बारे आभासको थप टिप्पणी थियो ।

यही फेब्रुवरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment