Comments Add Comment

‘निर्माता कलाकार’: नाम आफ्नो, लगानी अर्कैको

 

आजभन्दा २ वर्ष अगाडि नायिका निता ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र प्रोडक्सन कम्पनी खोलिन् । उक्त अवसरमा उनले आफू अब चलचित्र निर्माणमा लाग्ने समेत बताएकी थिइन् । तर, उनले चलचित्र निर्माण गर्ने भनेको दुई वर्ष पुरा भैसकेको छ, तर चलचित्र निर्माणको छाँटकाट छैन । यसको मुख्य कारण भनेको उनले निर्माता नभेट्नु नै हो ।

निता यो कुरालाई स्विकार गर्छिन् । उनले भनिन्–‘म धनाढ्य परिवारकी छोरी होइन । मसँग एउटा सिंगो चलचित्र बनाउने पैसा छैन । यसैले पनि लगानी गर्ने खोजिरहेको छु ।’ नीताका अनुसार केही रकम मात्र लगानी गरेर अधिकांश कलाकार अहिले निर्माता बनिरहेका छन् । कलाकार निर्माता बन्दा केही फाइदा छन् ।

पहिलो कुरा मिडियामा हाइप बनाउन सजिलो हुने, दोश्रो कुरा चलचित्र मेकिङमा लागेर कलाकारले भविष्य सुनिश्चित बनाउने बाटो तय गर्ने । यसैले पनि अहिले थोरै लगानीमा कलाकारको नाम निर्माताको रुपमा अगाडि सार्ने गरिएको हो ।
नायिकाहरूमा निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, छुल्ठिम गुरुङ लगायतका नायिकाहरुले चलचित्र निर्माण गरिसकेका छन् । चलचित्रको निर्मातामा उनीहरुको नाम जोडिए पनि त्यसमा उनीहरुको केही प्रतिशत मात्र लगानी हुन्छ । चलचित्रको मुख्य निर्माता भने अर्कै खडा गरिन्छ ।

निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’मा निशाको लगानी केही प्रतिशत मात्र थियो । यस चलचित्रको निर्माताको रुपमा निशा अधिकारीको व्यानर ‘आलु प्रोडक्सन’ उल्लेख गरिएतापनि चलचित्रका निर्देशक सिमोश सुनुवार पनि लगानीका उत्ती नै हिस्सेदार थिए ।

सिमोश भन्छन्–‘चलचित्रमा हामी दुबैको बराबरी लगानी थियो । तर, मेरो नाम निर्देशकमा आएपछि निर्मातामा किन हाइलाइट गर्नु भनेर निर्मातामा निशा नै अगाडि परिन् ।’ नायिकाहरु निर्माताका रुपमा भएपछि उनीहरुको नाम अगाडि आउनु स्वभाविक नै भएको सिमोश बताउँछन् ।

नायिका ऋचा शर्माले पनि ‘सुनकेशरी’ निर्माण गरिन् । यो चलचित्रको निर्मातामा ऋचाको नाम आयो । तर, यस चलचित्रमा पनि ऋचाको भन्दा अन्य निर्माताहरुको लगानी बढी थियो । यस चलचित्रका कार्यकारी निर्मातामा मनोज अधिकारी थिए । धर्मराज अधिकारी, आशिष चोखाल, महेश थापा, राम घिमिरे, खगराज कंडेल, रंजित बहादुर शाही लगायत चलचित्रको साहायक निर्मातामा रहेका थिए भने निर्मातामा भिम न्यैपाने, शर्मिला सापकोटा र ऋचा शर्मा थिए ।

त्यस्तै, नायिका केकी अधिकारीले पनि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन् । चलचित्रको प्रस्तुतकर्तामा केकी अधिकारीको नाम उल्लेख गरियो । तर, यस चलचित्रमा केकी अधिकारीको लगानी थोरै मात्र थियो । यो चलचित्र बन्नुको पछाडि भद्रबहादुर शाही, देवीलाल न्यैपाने, शिव प्रसाद चौलगाइको हात मुख्य छ ।

चलचित्रको प्रचारमा नायिका केकी अधिकारीको नाम अगाडि सारियो । केकी भन्छिन्–‘हाम्रो योजना अनुसार नै हामीले त्यसो गरेका हौं । यो क्षेत्रमा चिनिएको हुनाले मलाई अगाडि सार्दा चलचित्रको प्रचारमा सहयोग पुग्ने भएकाले म अघि आएँ ।’

नायिका छुल्ठिम गुरुङले पनि ‘डायरी’ नामक चलचित्रको निर्माण गरिन् । तर, यो चलचित्रमा पनि छुल्ठिमको मात्र लगानी थिएन । यो चलचित्रमा अनिल योञ्जन र रोजन श्रेष्ठले पनि पैसा हालेका थिए । त्यस्तै, नायकहरु पनि चलचित्र निर्माणमा लागिरहेका छन् । तर, उनीहरुले पनि चलचित्रमा कमै मात्र लगानी गरेका हुन्छन् ।

यो सूचीमा नायक आर्यन सिग्देल अगाडि आउँछन् । उनले ‘नोभेम्बर रेन’, क्लासिक, कायरा’ नामक चलचित्रमा आर्यनको ब्यानरले साझेदारी गरेको थियो । तर, त्यहाँ उनको नाम निर्माताको रुपमा थियो । आर्यनको यसमा आफ्नो पारिश्रमिक मात्र शेयरमा थियो । अहिले केही कलाकारले यो तरिकाले काम गर्न थालेका छन् । गत साउन १८ मा आर्यन सिग्देलले निर्माण गरेको भनिएको चलचित्र ‘कायरा’ रिलिज भएको थियो । यस चलचित्रको प्रस्तुतकर्तामा ‘आर्यन सिग्देल इन्टरटेन्टमेन्ट’ र ‘आर आर प्रोडक्सन’ थियो । यो चलचित्रलाई आर्यनलाई निर्माताको रुपमा अगाडि सारिएको थियो । तर, यो चलचित्रमा पनि आर्यनको लगानी थिएन । चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्माताका रुपमा रहेका थिए भने निर्माता लक्ष्मण रिजाल हुन ।

एक्सन स्टार निखिल उप्रेतीले पनि चलचित्र निर्माण गरे । कमव्याक पश्चात् उनले ‘रुद्र’ नामक चलचित्र आफ्नै प्रोडक्सनबाट निर्माण गरेका थिए । निखिल उप्रेतीको प्रस्तुति भनिएको यो चलचित्रमा कल्पना कुमारी कटुवाल र भक्त प्रशाद शर्मा निर्माताको रुपमा थिए ।

निखिलले निर्माण गर्ने ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को छायांकन हाल रोकिएको छ । केही प्रतिशत छायांकन सकिएको यो चलचित्रमा लगानीकर्ता नभएपछिे छायांकन रोकिएको हो । यसमा निखिल एक्लैले लगानी गर्न सकेनन् ।
त्यस्तै, रमेश उप्रेतीको प्रस्तुतीमा पनि ‘ऐश्वर्य’ निर्माण भयो । यो चलचित्रमा पनि अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको नाम निर्मातामा उल्लेख छ । निर्मल शर्मा पनि चलचित्रका सह–निर्माता बनेका छन् । चलचित्रको निर्मात्री किरण रमेशको श्रीमती हुन् ।

अहिले कलाकारहरु चलचित्र निर्माणमा अगाडि सर्न थालेका छन् । भलै नाम मात्र उल्लेख गरेर भएपनि निर्माता भएको प्रचार गर्न उनीहरु अभ्यस्त भैसकेका छन् ।  तर, कलाकारले विना लगानी निर्माताको रुपमा आफूलाई सार्वजनिक रुपमा उतार्दा वास्तविक लगानीकर्ता पनि पैसा मात्र खन्याउन आएको जस्तो देखिएको छ । यसले ‘काम गर्ने कालु, मकै खाने भालु’ भने उखानलाई चरितार्थ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment