Comments Add Comment

छापामा आज : संवैधानिक परिषदका सिफारिस बारम्बार विवादित

९ फागुन, काठमाडौं । नेताका गलामा धान्नै नसक्ने गरी लगाइएका मालादेखि संवैधानिक परिषद्का सिफारिसमा बारबार देखापर्दै आइरहेको विवादसम्मका विषयलाई आजका पत्रिकाहरुले उठाएका छन् । त्यस्तै, शिक्षाका चार ऐन खारेज हुन लागेको, अनुमति नै नपाएको कलेजमा नेपाली विद्यार्थी पठाउँदा अस्ट्रेलियामा बिचल्ली भएको लगायत खबरलाई पनि आजका पत्रिकाहरुले हेडलाइन बनाएका छन् ।

कान्तिपुरले संवैधानिक परिषद्का पछिल्ला केही वर्षयताका सिफारिसमाथि प्रश्न उठाएको छ ।

मुस्लिम आयोग अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको प्रसंग जोड्दै कान्तिपुरले परिषद्ले गरेका सिफारिस बारबार विवादित हुने गरेको लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, आयुक्त राजनारायण पाठक र प्रधानन्यायाधीश गोपाल पराजुली प्रकरणलाई कान्तिपुरले त्यसको दृष्टान्तको रुपमा प्रस्तुत गरेको छ ।

कान्तिपुरले परिषदको सिफारिसमाथि प्रश्न उठाउँदै लेखेको छ– परिषद्ले सिफारिस गरेका व्यक्तिमध्ये विवादमा परेका अधिकांशको उच्च नैतिक चरित्रमै प्रश्न उठ्ने गरेको छ ।

नागरिकनयाँ पत्रिकाले आज नेताको मालामोहबारे समाचार बनाएका छन् । नेताहरुमा मालामोह बढिरहेका बेला बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई १५१ किलोको माला लगाइएको थियो भने शशांक, शेखर र सुजाता कोइरालालाई वीरगञ्जमा आयोजित एक कार्यक्रममा १२१ किलोको माला पहिर्याइएको थियो । संयोग कस्तो भने डोटीमा प्रधानमन्त्रीलाई ५१ किलोको माला लगाइएको थियो ।

नागरिकमा वसन्त खड्का लेख्छन्– नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रुपमा विकसित हुँदै गएको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता , मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन् ।’

कोदालोको सहायताले रोल्पामा खनिएको सडकको तस्वीर छापेको अन्नपूर्णले डलर सञ्चिति घट्दा अत्यास बढेको लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकूत सम्पत्तिमा छानबिन थालेको खबरलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

राजधानीले काठमाडौं महानगरपालिकाले भत्ता, सुविधा र भ्रमणका नाममा ९ करोड सकेको लेखेको छ भने गोरखापत्रले सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीले गरेको सम्बोधनको विषयवस्तुलाई प्रमुख समाचार बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment