Comments Add Comment

पोखराको जानकी एग्रोमा शीलबन्दी

९ फागुन, पोखरा । पोखरा महानगरपालिका ९ नयाँबजारको जानकी एग्रो प्रोडक्टमा शीलबन्दी गरिएको छ । कास्की जिल्ला बजार अनुगमन समितिको टोलीले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै ताला लगाएको हो ।

उक्त उद्योगले दाल, चना, केराउ लगायतका खाद्यान्न तथा कुखुराको दाना, चोक्कर उत्पादन गर्ने गर्दछ ।

आवश्यक कागजात तथा पूर्वाधार पूरा नभएको र बढी फोहोर भएकाले तालाबन्दी गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए । ‘उद्योगको भण्डारण पनि उचित तरिकाले व्यवस्थापन गरेको छैन,’ शाहीले भने, ‘शीलबन्दी गरेर हामीले भण्डारको उचित व्यवस्थापनका साथै उद्योगको सम्पूर्ण सरसफाइमा ध्यान दिन निर्देशन दिएका छौं ।’

उद्योगले खाद्यान्न तथा कुखुराको दाना पनि सँगसँगै राखेको पाइएको अनुगमन टोलीले जनाएको छ । मापदण्ड विपरित राखिएको खाद्यान्नमा मुसाको दिसा पनि भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरीक्षक भूमिका प्रधानले त्यसरी राखिएको खाद्यान्नले उपभोक्ताको स्वाथ्यमा प्रत्यक्ष असर पर्ने बताइन् ।

अनुगमन टोलीले उद्योग सञ्चालकलाई उद्योग क्षेत्र सफाइ गरेर र आवश्यक कागजातसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमन टोलीले पोखरा ७ मा रहेको ओम नमुना स्टोर्सका म्याद गुज्रेका खाद्य पदार्थ पनि नष्ट गरेको छ । म्याद गुज्रेका २ लिटरका पेय पदार्थ ४४ बोटलसहित १८ किसिमका खाद्यान्न सामग्री नष्ट गरेको गुणस्तर तथा नापतौल कार्यालयका विपिन पुरीले जानकारी दिए ।

उनले भने, ‘स्टोर्सलाई हामीले आवश्यक काजजातसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment