Comments Add Comment

मुआव्जा बिवादले रोकियो पेप्सीकोला-सल्लाघारी सडक विस्तार

Photo Credit : फाइल फाेटाे

१० फागुन, काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।

मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ ।

बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उनका अनुसार काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको छैन ।
स्थानीयवासीले घरको मात्रै नभएर जग्गाकोसमेत मुआव्जा माग गरिरहेको उनले बताए ।

उनले भने, ‘जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।’ अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको इञ्जिनीयर श्रेष्ठले बताए ।

उनका अनुसार स्थानीयले सङ्गठीत रुपमा मुआव्जाको माग गरिरहेकाले स्थानीय तहले चाहेर पनि केही गर्न सकेका छैनन् ।
४ दशमलव पाँच किलोमिटर लम्वाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो ।

सडकको ठेक्का सम्झौता अवधि आगामी वर्ष सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो ।

काठमाडौँ उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तारको काम शुरु गरे पनि कामले गति लिनसकेको छैन । काठमाडौँ र ललितपुर जिल्लाका पाँच/पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment