Comments Add Comment

शिल्पाको दाबीः फलोअर्स धेरै हुनेलाई फिल्म खेलाउँदा दर्शक भड्किए’

चलचित्र सफल हुनका लागि धेरै कुराले अर्थ राख्दछ । चलचित्र सफल हुनका लागि स्टार कलाकार लिएर मात्र पनि हुँदैन, अभिनय गर्न सक्ने र भूमिका अनुसार काम गर्ने कलाकार पनि चाहिन्छ । तर, अहिले टिकटकमा हिट भएका, फेसबुक र इन्स्टाग्राममा हिट भएका व्यक्तिलाई सहजै चलचित्रमा ल्याएर काम गराउने चलन पनि बढेको छ । फेसबुक र इन्स्टामा सर्वाधिक फलोअर्स भएका कलाकारको चलचित्र असफल भएका उदाहरण चलचित्र वृत्तमा देखिएको पनि छ ।

चलचित्रमा अभिनय गर्नु भनेको सामान्य कुरा होइन । तर, अहिले चलचित्रमा अभिनय यति खेलाँची र भद्रगोल पाराले हुन्छ, यसैले नै हो चलचित्र सफल हुन गाह्रो भएको देखिन्छ । कलाकारको छनोट गर्दा सामाजिक संजालमा देखिएको फलोअर्सलाई आधार मानिने कुरालाई नायिका शिल्पा मास्केले गलत प्रथा भनेकी छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै नायिका मास्केले भनिन्–‘चलचित्रमा कलाकार छनोट गर्दा फलोअर्स भन्दा पनि अभिनय क्षमता हेर्न आवश्यक छ । यदी चलचित्र राम्रो बनाउने सोच छ भने राम्रो अभिनय क्षमता भएको र कथामा सुहाउने कलाकार छनोट गर्नुहोस् । फलोअर्स हेरेर कलाकार छनोट गर्नतर्फ लाग्ने निर्माता सुरुमै असफल हुने पक्का छ ।’ शिल्पाले कलाकार बन्न फलोअर्स नभएर अभिनय क्षमता चाहिने समेत बताएकी छिन् । ‘फलोअर्स भएको मान्छेलाई अभिनयको केही थाहा छैन भने कसरी काम गर्न सकिन्छ ?’ शिल्पाले थपिन्–‘कलाकार बन्न फलोअर्स हैन, अभिनय चाहिन्छ ।’ शिल्पा पढेर वा सिकेर आएको मान्छेहरुलाई इन्स्टाग्राम वा टिकटकको फलोअर्ससँग दाज्न नमिल्ने बताउँछिन् ।

उनले भनिन्–‘यदी धेरै फलोअर्स भएको व्यक्तीहरुलाई चलचित्रमा लिने भए ५–६ महिना अभिनयको वर्कशप गराएर वा अडिसन लिएर मात्र छनोट गर्न म आग्रह गर्न चाहन्छु ।’ फलोअर्स हेरेर कलाकार छनोट गर्ने शैलीले यो क्षेत्रलाई ठूलो घाटा पुगेको उनको भनाई छ । ‘दर्शक हलसम्म पुग्नुहुन्छ । चलचित्र हेर्नुहुन्छ तर, अभिनय जिरो भएपछि दर्शकले गाली गर्न थाल्नुहुन्छ । त्यसले पूरा चलचित्र क्षेत्रलाई असर गरेको छ ।’ नायिकाले भनिन् ।

शिल्पाले कुराकानीका क्रममा विदेशमा कलाकार छनोट गर्ने शैलीको पनि चर्चा गरिन् । ‘बाहिर त निर्देशकको दिमागमा जस्तो कास्ट छ त्यस्तै नै चाहिन्छ । त्यो पनि अडिसन गरेर मात्र लिइन्छ । तर, यहाँ त यो कल्चर नै विकास भएको रहेनछ ।’

शिल्पाले आफूलाई ‘गुड लुकिङ’ मात्र भएका कारण कुनै चलचित्रमा अफर आएको खण्डमा, त्यसमा काम नगर्ने बताउँछिन् । ‘मैले कती वटा राम्रो कथा पनि छाडेकी छु । किनभने उहाँहरुले मलाई त्यो क्यारेक्टरमा सुहाउने भन्दा पनि गुड लुकिङ भएका कारण लिन खोज्नु भएको रहेछ । शिल्पाले थपिन्, ‘त्यस्तो चलचित्र राम्रो बन्नेमा म ढुक्क हुन सकिनँ र गरिनँ ।

शिल्पा अभिनित ‘कागजपत्र र दि ब्रेकअप’ रिलिजको क्रममा रहेका छन् । उनले, केही हलिउड चलचित्रमा समेत काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment