+
+

मुगालीको मन जितेर फर्किए प्रजिअ अधिकारी

शुरबहादुर सिंह /रासस शुरबहादुर सिंह /रासस
२०७५ फागुन १३ गते १७:३८

१३ फागुन, सुर्खेत । केन्द्रबाट कार्यालय प्रमुख भएर कर्णाली आउने राष्ट्रसेवक कर्मचारीहरु यहाँ पुगेर सेवा दिनुलाई ‘पेलिएर आउनुपरेको’ ठान्छन् । कर्णाली आउने राष्ट्रसेवक कर्मचारी शक्ति र पहुँच नभएका कमजोर हुन् भन्ने धेरैको बुझाइ छ । यो भ्रम आज पनि छ ।

एकथरीले कर्णालीमा आउने कर्मचारीहरु सजाय काट्न आएका होलान् भनी अड्कल काट्छन् त अर्कोथरीले हिमाली जिल्लामा सेवा गरे नम्बर बढ्छ र अन्ततः वृति विकासमा सहयोग पुग्छ भन्ने ठान्छन् ।

कर्णाली जाने निर्देशन पाउने बित्तिकै धेरै राष्ट्रसेवक कर्मचारी हरेश खान्छन् । सकेसम्म कर्णाली जानु नपरोस् भन्ने उनीहरुको मनोकाङ्क्षा हुन्छ जुन तथ्यलाई सङ्घीय संरचनासम्म मुलुक आइपु्ग्दा पनि कर्णाली प्रदेशको अभावग्रस्त जनशक्तिको तथ्याङ्कले दर्शाइरहेको छ ।

कर्णाली प्रदेशको मन्त्रालयगत जनशक्तिमाथि नियाल्दा उपलब्ध दरबन्दीमा ५० प्रतिशत भन्दा बढी कर्मचारीको अहिले अभाव देखापर्छ । झनै समायोजनमा स्थानीय तहका कर्मचारीले पनि पहिलो संघ, दोस्रो ३ नं प्रदेश र तेस्रोमा संघ अन्तर्गतकै प्रदेश र जिल्ला रोज्ने मनोवृतिले कर्णाली प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ । यसले के बुझाउँछ भने यहाँ काम गर्ने हरेकका लागि कर्णाली सजाय भुक्तान गर्ने थलो हो, जहाँ न दाम छ न नाम छ ।

यद्यपि, यही हेराइ र सोच विपरीत गृह मन्त्रालयबाट सरुवा भई मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारी उमाकान्त अधिकारी भने यस विकट जिल्लामा उदाहरणीय बनेका छन् ।

प्रजिअ अधिकारीको १८ महिने कार्यकाल मुगाली जनताका लागि निकै उपलब्धिमूलक रह्यो । इच्छाशक्तिका अघि विकट भूगोल र चुनौतीका पहाड गौण हुन् भन्ने छाप उनले छोडेका छन् । जिल्लामा सरुवा भई जेनतेन कार्यकाल कटाएर फर्किने अधिकाँश कार्यालय प्रमुखहरुलाई ‘गरे के हुँदो रहनेछ र ?’ भन्ने सन्देश दिएका छन्, उनले ।

उनी आफ्नै कार्यालयको कामकाज र सुशासनमा मात्र सीमित रहनुभएन । दुर्गम र विकट गाउँ वस्तीमा सामाजिक काममा पनि उनी अघि सरे । जिल्लाको शान्ति सुरक्षा, दैवी प्रकोप उद्धार, राहत वितरण, विकास निर्माणमा सहजीकरण तथा योजना अनुगमनलगायतका नियमित र क्षेत्राधिकारभित्रको कार्यको प्रभावकारी सम्पादन सँगसँगै त्यहाँको शैक्षिक र सामाजिक विकासमा पनि उनको त्यत्तिकै योगदान रह्यो ।

गत वैशाख २० गते मुगुम कार्मारोङ्ग गाउँपालिकाको किम्रीमा आगलागी हुँदा केन्द्र, प्रदेश र जिल्लास्तरका सरकारी तथा गैसरकारी संस्था, स्थानीय तहसँगको प्रभावकारी समन्वयबाट आगलागी पीडित १९ परिवारलाई शीघ्र राहत उपलब्ध गराउँदा किम्री गाउँवासीले प्रजिअ अधिकारीलाई कुशल र जिम्मेवार अभिभावकका रुपमा स्मरण गरे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले  भन्छन्, ‘सामाजिक विकृति र शान्तिको बाधकका रुपमा रहेको मदिरा उत्पादन, बिक्री वितरण कार्यलाई रोक्ने मात्र काम त गर्नुभयो नै । साथै उहाँले सामाजिक अभियन्ता र जिम्मेवार नागरिकका हैसियतबाट छायाँनाथ रारा नगरपालिकालाई मदिरामुक्त बनाउने अभियानको समन्वयमा उल्लेख्य योगदान गर्नुभयो ।’

‘यस अघिका प्रजिअहरु छोटो समयमै विवादित भएर जान्थे,’ प्रमुख शाहीले थपे, ‘प्रजिअ अधिकारीबारे सबैले सकारात्मक टिप्पणी गरेका छन् ।’ तटस्थ भएर काम गर्ने र समन्वय गर्नसक्ने क्षमता भएका प्रजिअ अधिकारी सम्मानयोग्य व्यक्तित्व भएको उनको भनाइ थियो ।

विदाई कार्यक्रमपछि स्थानीयसाग प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ।

मदिरा निषेधका निम्ति सोरु, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिकामा उनी पैदल हिँडे । त्यहाँका जनप्रतिनिधि, स्थानीयवासी, महिला, युुवा समूह, सुरक्षाकर्मीसँग अन्तरक्रिया गरेर शान्ति र सुरक्षा विना समृद्धिको अनुभूति गर्न नसकिने सन्देश उनले दिए ।

उनको कार्यशैली र शालीन व्यवहारबाट प्रभावित भएर मदिरा बेचविखन गर्ने अनुमति लिएका ४० जना व्यवसायीले एकैपटक मदिरा निषेध अभियानका खातिर अनुमतिपत्र फिर्ता गरेको स्वयं व्यापारीहरू बताउँछन् । मदिरा नियन्त्रण अभियानबाट परिवार र समाजमा ठूलो परिवर्तन आएको देखियो । परिवारहरु पुनर्मिलन भए । महिला र बालबालिकामाथि हुँदैआएका हिंसापूर्ण घटना धेरै हदसम्म नियन्त्रणमा आयो ।

त्यस्तै, खत्याड गाउँपालिकाको गम्था माझचौरमा पुगेर अहिलेसम्म नागरिकता प्रमाणपत्र पाउन नसकेका करिब ६०० महिला पुरुषलाई हातमै उनले नागरिकता उपलब्ध गराइ । प्रजिअ अधिकारी शान्ति सुरक्षादेखि जनप्रिय काममा खटिने गरेको जिल्ला नागरिक संञ्जालका संयोजक चित्रबहादुर मल्लले बताए । ‘नागरिक सञ्जालको तर्फबाट उनको राम्रो मूल्याङ्कन गरेका छौं,’ उनले भने ।

त्यसैगरी, मानव सूचकाङ्कमा निकै पछि परेको कर्णाली प्रदेश र त्यसमा पनि मुगुको अति विकट मानिने मुगुम कार्मारोङ्ग गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन गत मङ्सिरमा तीन दिन पैदल यात्रामा लौरो टेकेर त्यहाँ पुग्ने उनी पहिलो प्रजिअ भए । त्यहाँ पुगेर उनले स्थानीय तहले सञ्चालन गरेका कामकाजको सघन अनुगमन तथा मूल्याङ्कन गरेका थिए ।

लौरोकै सहारामा प्रत्येक गाउँवस्तीमा पुगेका उनले त्यहाँको वस्तुस्थिति बुझेर गाउँपालिकालाई सुझाव प्रतिवेदन मात्र बुझाउनु भएन, पालिकाका प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई डाकेर गुणस्तरीय शिक्षा दिन र आफ्नो काममा दत्तचित्त भएर लाग्न निर्देशन समेत दिए ।

स्वयं खटिएर समाज बदल्न उनले सबैलाई हौस्याउनुभएको पत्रकार श्याम बुढाक्षेत्रीले बताए । ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अत्यन्त व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेदेखि आफ्नै कार्यालयमा जाडोले प्रभावित करीब १०० गरीब, असहाय र अपाङ्गता भएका बूढापाकालाई बाक्लो कम्बल र तन्नासहित न्यानो कपडा उपलब्ध गराएका थिए ।

सदरमुकाम क्षेत्रमा चौबिसै घण्टा विद्युुत्को आपूर्ति, कर्णाली–रारा पर्यटन वर्षको व्यवस्थित उद्घाटन कार्यक्रम, शान्ति सुरक्षार्थ जिल्लामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना, वर्षाैदेखिको हिलाम्मे र अस्तव्यस्त गमगढीको न्यूरोड सडक पुनःनिर्माणमा पहल, झरी, हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडकमार्गको सञ्चालनमा प्रजिअ अधिकारीले देखाएको तदारुकतालाई मुगाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि, दल, नागरिक समाज, पत्रकार, युवा वर्ग र स्थानीयवासीसँग समन्वय र सहकार्यमा सधैंं अग्रसर देखिएका प्रजिअ अधिकारीले जिल्लास्तरमा आफूलाई सबैले सहयोग र साथ दिएको बताए ।  ‘राष्ट्रसेवकको भूमिकामा रहेर हरेक महीनाको ५ गते प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठक बसाल्ने थिति बसालियो,’ उनले भने, ‘सबै कार्यालय प्रमुखहरुलाई सेवाग्राहीको काम छरितो र उत्तरदायी भएर सम्पन्न गर्न निरन्तर सुझाव र निर्देशन दिइरहें ।’

प्रजिअको बानी, व्यवहार र काम गर्ने शैली सद्भावयुक्त र जनप्रिय देखिएको युवक खगेन्द्र बोहोराले बताए । प्रजिअले गरेका काम र देखाएका पथ पछ्ययाएर यो पुस्ता जिल्लाको विकासमा अग्रसर हुनुपर्ने नत्र जिल्लामा विकास कहिल्यै नआउने उनको ठहर थियो ।

प्रजिअ अधिकारीको कार्यकाल अवधिभर दशैं, तिहार जस्ता चाडपर्व शान्तिपूर्ण रहे । कुनै पनि आपराधिक घटना भएनन् । उनको कार्यकालमा जिल्लाका कुनै पनि महिला सुत्केरी व्यथा र बिरामी हवाईजहाजको टिकट नपाएर विमानस्थलमा अकाल मृत्यु भएको सुनिएन । सामाजिक अपराध, गुण्डागर्दी र उच्छृङखलता पूर्णरूपमा नियन्त्रण भएको देखियो ।

राजनीतिक दलहरूबीच उनको सम्बन्ध सौहार्द देखियो । सुरक्षा अङ्गहरू अत्यन्त कर्तव्यनिष्ठ देखिए । कर्मचारीहरूले आफ्नो पेशागत मर्यादामा खरो उत्रिन राम्रो अभिभावक पाएको अनुभूति गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?