Comments Add Comment

संसदीय उपसमितिको निश्कर्ष– खेलको वर्गीकरण नहुँदा परिणाम निराशाजनक

खेलकुदमा लगानीका लागि उदार बन्न सरकारलाई सुझाव

१४ फागुन, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको युवा तथा खेलकुद उपसमितिले खेलको वर्गीकरण नहुँदा नेपालले अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सन्तोषजनक परिणाम ल्याउन नसकेको निश्कर्ष निकालेको छ ।

‘हालसम्म नेपालको खेलाडीहरुको खेलको सम्भावनालाई आधार बनाइ खेलको वर्गीकरण नभएको कारणले खेलको यथोचित विकास हुन सकेन र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सन्तोषजनक परिणाम आउन सकेन’, प्रतिवेदनमा उल्लेख छ ।

गत मंसिर २ गते समिति सदस्य जीवनराम श्रेष्ठको संयोजकतत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनले वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको क्यालेण्डर नबन्नुलाई पनि प्रमुख समस्याका रुपमा औंल्याएको छ ।

‘वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको क्यालेण्डरको व्यवस्था नहुँदा समयमा खेलकुदको आयोजना हुन सकेको छैन’ प्रतिवेदनको बुँदा नम्बर ७.१ मा उल्लेख छ ।
शैक्षिक कारणले विद्यार्थीको तयारी तथा सहभागितामा पनि असर परेको उपसमितिको ठहर छ ।

पूर्वाधार अभाव तथा भौगोलिक अवस्थाका आधारमा खेल विधाको विकासको योजना नहुनुलाई पनि उपसमितिले समस्याका रुपमा किटान गरेको छ । दक्ष प्रशिक्षक र खेल प्रावधिकहरुको अभाव नेपालको खेल क्षेत्रको अर्को समस्या भएको प्रतिवेदनको निश्कर्ष छ ।

उपसमितिले प्रतिवेदनमार्फत सरकारलाई राष्ट्रिय खेलकुदमा लगानीका लागि उदार बन्न सुझाएको छ । ‘खेलकुदको राम्रो विकाश हुन सकेमा दीर्घकालिन राष्ट्रिय आयआर्जन र रोजगारी सिर्जना गर्नमा खेलकुदको महत्त्वपूर्ण योगदान हुने कुरा विकशित देशबाट सिक्न सकिन्छ’, प्रतिवेदनको बुँदा नम्बर ११. १ मा भनिएको छ, ‘यसर्थ खेलकुदमा हुने लगानीलाई अनुत्पादक लगानीको रुपमा हेर्ने पुरानो परिपाटीको अन्त्य हुन जरुरी छ ।’

प्रतिवेदनले सम्बन्धित मन्त्रालयलाई प्रभावकारी बनाउन र खेलकुद क्षेत्रको उद्देश्य प्राप्तिका लागि प्रतिवेदन उपयोगी हुने विश्वास उपसमिति संयोजक श्रेष्ठले व्यक्त गरे ।

तयार प्रतिवेदन मूल समितिमा पेस गरिने र मूल समितिले प्रतिवेदनका सन्दर्भमा सम्बन्धित मन्त्रालयसँग समेत छलफल गरी टुङ्गो लगाएर सरकारलाई निर्देश गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment