+
+
Shares

प्रियंका र आयुष्मानले मासिक श्राव स्वच्छता सम्बन्धी अभियान चलाउने 

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १६:१२

मासिक श्रावको बेला के-कस्ता सावधानी अपनाउने ? महिला-स्वास्थ्यको हकमा यो प्रश्नले निकै महत्व राख्छ । किनभने मासिक श्रावको बेला गरिने कतिपय हेलचेक्राईले महिलाहरु जटिल रोगको दलदलमा फस्ने गर्छन् ।

हुन त मासिक स्राव एक प्राकृतिक चक्र हो । तर, मासिक स्रावलाई अझैपनि ‘लाज’को विषय बनाइन्छ । युवतीहरु यसबारे खुला बहस गर्न अझै पनि हच्किने गर्छन् । असहज मान्छन् । त्यसैले मासिक स्राव सम्बन्धी उठ्ने कतिपय प्रश्नहरु उनीहरु मनभित्रै दबाएर बस्छन् ।

त्यसो त मासिक स्राव सुरु हुने उमेर-अवधी पनि घट्दैछ । अहिले किशोरवयमा प्रवेश गर्नसाथ मासिक स्राव सुरु हुन थालेको छ । अर्थात मासिक स्रावबारे राम्ररी ज्ञान नहुँदै किशोरीहरुमा मासिक स्राव हुन थालेको छ । यस्तो अवस्थामा कस्तो सजगता अपनाउने ? उनीहरुले भेउ पाइसकेका हुँदैनन् ।

मासिक स्रावको बेला कतिपयलाई निकै पीडा हुन्छ । एक किसिमको छटपटी, बेचैनी हुन्छ । यस्तो कुरा पनि उनीहरु खुलेर साझेदार गर्दैनन् । यसरी युवतीहरुले मासिक स्रावको पीडा, समस्या भित्रभित्रै गुम्साएर राख्ने गर्छन् ।

यसै मेसोमा मासिक स्रावको बेला के कस्ता कुरामा सावधान रहने ? कसरी यौनाङ्गको संभावित संक्रमणबाट बच्ने भन्ने जस्ता कुरामा जनचेतना फैलाउने उदेश्यले खानेपानी मन्त्रालयले एक अभियान अगाडि सारेको छ । उक्त अभियानका अगुवाई अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले गर्नेछन् ।

खानेपानी मन्त्रालयले ‘महिलाहरु महिनावरी हुँदा भोग्नुपरेको समस्या सम्बन्धी जनचेतना जगाउन’ उनीहरुलाई महिनावरी स्वच्छता दूतमा नियुक्त गरेको हो ।

मन्त्रालय र आयंका फाउन्डेसनबीच यस अभियानमा सहकार्य हुनेछ । खानेपानी मन्त्री बिना मगरले ‘महिनावरीको बेला पर्ने अप्ठ्यारा समस्याहरुमाथी खुला बहस गर्न यो अभियान सुरु गरिएको’ बताएकी छिन् । महिनावरीको बेला महिलाहरु जुन समस्या र पीडाबाट गुजि्रन्छन्, त्यसको उन्मुक्तीको लागि आयंका फाउन्डेसनसँगको सहकार्य सार्थक हुने मन्त्री मगरको विश्वास छ ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावरीसम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेशनले उपलब्धीमूलक भूमिका खेल्ने बताए । मन्त्रालयको तर्फबाट यो अभियान सफल बनाउन आफुहरु खुला हृदयले तत्पर भएको पनि उनको भनाई छ ।

प्रियंका कार्की र आयुष्मान जोडी अब विभिन्न ठाउँमा गएर महिनावरी सम्बन्धी जनचेतना जगाउनेछन् । उनीहरुले मासिक स्रावको बेला के कस्ता सावधानी अपनाउने भन्ने विषयमा वहस गर्नेछन् । यसको सुरुवात धनुषा जिल्लाबाट हुनेछ । यस क्रममा ६ वटा महिलामैत्री सौचालय बनाउने र सेनेटरी प्याड वितरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?