Comments Add Comment

आङ छिरिङ शेर्पा: अल्पिए हिमालका यति !

२० वर्षमा यसरी बने पर्यटन 'सम्राट'

१५ फागुन, काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजू सगरमाथा चढ्दै गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा थिए, जो पछि विमानका मालिक बने ।

हिमाली पर्यटन व्यवसायमा लागेर आङ छिरिङले २० वर्षको छोटो अवधिमा आफूलाई यति एयरलाइन्स, तारा एयर अनि हिमालय एयरको मालिक मात्रै बनाएनन्, छोटै अवधिमा उनी नेपाली पर्यटन व्यवसायको ‘सम्राट’ मा परिणत भए ।

पछिल्लो अवधिमा नेपालमा स्याटेलाइट खरिद गर्ने तयारी गर्दागर्दै ५८ वर्षको उमेरमा आङ छिरिङको असामयिक निधन भयो ।

को हुन् आङ छिरिङ ?

सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका आङ छिरिङ सम्पन्न परिवारका साहिँला छोरा हुन् । उनका बुबाको प्रशस्त जग्गाजमीन र खर्क थियो, जहाँ चौंरी र भेडाहरु प्रशस्त थिए । गाउँको सम्पन्न मानिने शेर्पा परिवारले पशुपालनका साथै गाउँमा पैसाहरु पनि लगानी गर्ने गर्थ्यो ।

आङ छिरिङका चार दाजुभाइमध्ये जेठा दाजु अलि अगाडि नै बिते । माइला दाजु लाक्पा सोनाम यति एयरलाइन्सका चेयरमेन हुन् । उनी सगरमाथा आरोही पासाङ ल्हामुका पति हुन् ।

आङ छिरिङ सन् १९९८ सम्म ट्रेकिङ व्यवसायमा थिए । उनका भाइ टेन्डी शेर्पा पनि अन्य दुई दाजुभाइसँगै पर्यटन व्यवसायमै थिए । यसैवीच ०५५ सालमा सोलुखुम्बुमा एसियन एयरको हेलीकोप्टर दुर्घटनामा परी टेण्डीको निधन भयो ।

नागरिकता अनुसार केही फरक भएता पनि आङ छिरिङको उमेर ५८ वर्ष रहेको पारिवारिक स्रोत बताउँछ । हाल उनका श्रीमती र दुई छोरा छन् । दुबै छोराले व्यवसायमा बुबालाई सघाइराखेका थिए ।

पछिल्लो समय आङ छिरिङ यति एयर लाइन्सका प्रवन्ध निर्देशक थिए । दुर्घटनामा परेको डाइनास्टी हेलिकोप्टरमा पनि उनको सेयर लगानी छ । हिमालय एयर उनको पछिल्लो व्यसाय हो ।

सुरुमा आङछिरिङ आफैं टे्रकिङमा जान्थे । दाजु सोनाम र भाइ टेण्डीसमेत मिलेर तीनभाइले ट्रेकिङ चलाइराखेका थिए । सुरुमा दाजुभाइ मिलेर सानो ट्रेकिङ एजेन्सी खोलेका थिए । पछि त्यसैलाई फैलाउँदै फैलाउँदै ठूलो कम्पनी बनाए ।

सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स सुरु गरे । २१ वर्षमा चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसका अतिरिक्त आङ छिरिङका अरु पनि धेरै कम्पनीहरु छन् । काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, चितवनको कसरा रिसोर्टदेखि लिएर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभरि छन् । यति बाहेक हिमालय एयरलाइन्स र तारा एयरलाइन्स पनि आङ छिरिङकै हुन् ।

२० वर्षमा पर्यटन सम्राट !

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा मुख्य गरी पर्यटनसम्वद्ध व्यवसायमा संलग्न थिए । शेर्पाको थामसेर्कु समूहले पर्यटनलाई नै मुख्य आधार बनाएर विभिन्न फरक-फरक खालका व्यवसाय गरिरहेको छ । समूहका ‘मास्टर माइन्ड’ शेर्पा यति एयरलाइन्सका सञ्चालक थिए । तारा एयरमा पनि उनकै समूहको लगानी छ । हेलिकोप्टर सञ्चालक डाइनेस्टी एयरमा पनि शर्पाको मुख्य समूह साझेदारका रुपमा छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्समा पनि शेर्पाको साझेदारी छ । हिमालयमा चिनियाँ लगानीकर्ताहरु भए पनि शेर्पाकै मुख्य भूमिकामा यो एयरलाइन्स चलिरहेको छ ।

काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट र चितवनको कसरा रिसोर्ट पनि शेर्पाकै स्वामित्वमा छ । यस्तै सोलुखुम्बुको यति माउन्टेन होम पनि यही समूहको हो । यस्तै केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेज लगायतका थुप्रै ट्राभल र टुर्सहरु पनि शेर्पाकै हुन् । थामसेर्कु समूहले पछिल्लो समयमा अन्य क्षेत्रमा पनि लगानी बढाउने गरी योजना बनाउँदै थियो ।

यो समूहलाई सञ्चालनमा सबै व्यवसायलाई सफलताका साथ अघि बढाउन आङ छिरिङको ठूलो अभाव झेल्नुपर्ने उनका निकटस्थहरु बताउँछन् ।

पर्यटन व्यवसायीमाझ सबैभन्दा अग्रणी पहिचान बनाएका शेर्पाको निधनले विशेष गरी यति एयरलाइन्सलाई व्यवसायिक रुपमा बढी चुनौति थपिनेछ । तर, उनका उत्तराधिकारीहरु पनि सक्षम रहेकाले धेरै अप्ठोर अवस्था नआउने विश्वास उनको परिवार र कम्पनीका उच्च पदस्थ अधिकारीलाई छ ।

निकटस्थको नजरमा आङ छिरिङ

आङ छिरिङलाई नजिकबाट चिन्नेहरु उनलाई एकदमै भिजनरी, दिमागवाला मान्छे ठान्छन् । व्यवसाय दाजुभाइले मिलेर गरे पनि मुख्य ब्रेन आङ छिरिङ नै रहेको निकटस्थहरु बताउँछन् । सुरुमा यति एयरका एमडी माइला दाजु सोनाम आफैं थिए । भाइहरु छिरिङ र टेण्डी डाइरेक्टर थिए । पछि सोनामले तिमी चलाउ भनेर भाइ आङछिरिङलाई यति एयर सुम्पिए । र, आफूले बढीजसो ट्रेकिङ व्यवसाय हेर्न थाले । छिरिङ आएपछि २० वर्षको अवधिमा कम्पनीले ठूलो आकार लियो ।

जानकारहरुका अनुसार आङ छिरिङ मिलनसार स्वाभावका थिए । तर, सुरुमा भेट्नेले उनी छुचोजस्तो ठान्थे । गाली गरिहाल्ने बान भिएता पनि मनमा पाप नभएको र व्यापारिक दिमाग भएको व्यक्तिका रुपमा उनका व्यवसायिक पार्टनरहरु आङ छिरिङलाई स्मरण गर्छन् ।

आङ छिरिङको स्वभाव ‘रिजर्भ’मा बस्नेखालको थियो । उनी सतहमा आउनै नचाहने र मञ्चहरुमा नजाने स्वाभावका थिए । मिडया व कसैले केही बुझ्न चाहेमा उनी अरुलाई नै अघि सार्थे । पत्रकारलाई अन्तरवार्ता दिन मान्दैनथे ।

हिमाली जनताका साथी

आफैंं हिमाली भेगमा जन्मेको हुनाले आङ छिरिङले हिमाली जनताको सेवामा चासो दिने गरेको उनका निकटस्थहरु बताउँछन् । कतिपय अवस्थामा घाटै भएर पनि हिमाली भेगमा हवाइ सेवा सञ्चालन गर्ने गरेको दाबी उनका कम्पनीका कर्मचारीहरुको छ । जस्तो कि तारा एयरले दुर्गममा धेरै सेवा गरेको छ र बिरामीहरुले राहत पाएको कम्पनीका अधिकारीहरु बताउँछन् ।

‘अस्तिमात्रै सिमिकोटमा हिउँ पर्दा पनि तारा एयरले काम गर्‍यो,’ तारा एयरमा कार्यरत एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘आङ छिरिङले हिमालका विकट क्षेत्रमा सेवा गर्न कहिल्यै छाडेनन् । एयरक्राफ्ट घाटामै गए पनि खाद्यान्न सप्लाई गर्ने उनको बानीलाई हेर्दा उनी बिजनेस मोटिभ मात्रै भन्दा पनि पर्यटनको विकासमा ध्यान दिने व्यक्ति थिए ।’

शेर्पाका सहपाठीहरुका अनुसार उनी हिमाली क्षेत्रको विकास गरेन भने विदेशी पर्यटकहरु आउँदैनन् भन्ने मान्यता राख्थे । आङ छिरिङ आफैं हिमाली भेगमा जन्मिएका हुनाले पनि उनलाई हिमाली क्षेत्रका जनताको दुःख थाहा थियो र त्यसलाई महसुस गर्थे ।

यति एयरलाइन्सका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘ आङ छिरिङ हिमाली भेगमा जन्मेका ठेट नेपाली छोरा हुन् । अरु शेर्पाका छोराहरु विदेश जान्छन्, तर उनी एकजना सच्चा नेपालीको छोरा थिए । त्यो समुदायबाट आएर उनले नेपालको पर्यटनमा साम्राज्य नै खडा गरेका थिए । उनको निधनले नेपालको पर्यटन व्यवसायले धेरै क्षति व्यहोर्नुपरेको छ ।’

सामाजिक कार्यहरुमा पनि आङ छिरिङले सहयोग गर्ने गरेका थिए । धेरैका बच्चाहरुलाई सहयोग गरेको उनका स्टाफहरु सम्झन्छन् । गत ल्होसारमा उनले २ लाख सहयोग गरेका थिए । स्टाफहरु विरामी हुँदा उपचारमा सहयोग गर्थे ।

तर, बुधबार एउटा भवितव्य आइलाग्यो । छोटो अवधिमा नेपालको पर्यटन एवं हवाइ यातायातको क्षेत्रमा अतुलनीय योगदान गरेका एकजना ‘हिमालका यति’ हामीमाझ अलप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment