Comments Add Comment

गर्भमा तुहिएको मेरो पत्रकारिता

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वले कैयाैं उतार-चढावका साथै उपलब्धी पनि हात पार्न पुग्यो । सैयौंको सपना तुहिए त सैयौंको जीवन फरक धरातलमा उभ्यायो । त्यसबाट म पनि अछुतो रहन सकिनँ । मेरो जीवनमा पनि धेरै आरोह-अवरोह आए । सबै आरोह-अवरोहलाई पाखा लगाउँदै १० वर्षे यात्रालाई बिट मार्दै शान्ति प्रक्रियापछि मैले आफ्नो जीवनको टुटेको कडी (पढाइ) लाई निरन्तरता दिन थालें ।

टुटेको कडीलाई निरन्तरता दिनु मेरा लागि फलामको चिउरा चपाउनुजस्तै थियो । दश वर्षे कठिन यात्रालाई बिट मारे पनि नयाँ परिवेशमा आफूलाई फरक ठाउँमा उभ्याउनु कम्ति सकस थिएन । तर, जेनतेन आँट गरें । भाैंतारिँदा भौंतारिँदै म ०६८ मा प्रेसकाउन्सिलको जागिरे बन्न पुगें ।

प्रेसका उन्सिलको जागिरे बन्न पुग्दा मेरो एउटा सपना थियो । जुन द्वन्द्वकालीन अवस्थामा सयौंले झेेलेका थिए र मैले पनि झेलेकी थिएँ कि समाचारको विश्वसनियतामा आउने कमी हटाउन म खोज पत्रकारितालाई आफ्नो जिन्दगीको लक्ष्य बनाउन चाहन्थें ।

सानैबाट ममा खोजपत्रकारिता गर्ने रहर पनि थियो । त्यो रहरलाई थाती राख्दै आवश्यकताका नाममा सशस्त्र द्वन्द्वमा मेरो सक्रिय सहभागिता भएकाले रहर पूरा हुन सकेको थिएन । शान्ति प्रक्रियासँगै त्यसैमा मैले आˆनो बाँकी जीवन समर्पित गर्ने मनस्थिति तयार गर्दै थिएँ । तर, द्वन्द्वभन्दा पनि अझ कष्टकरको जीवनमा पुगेकोेेे पत्तो पाएकी थिइनँ ।

मेरो जीवनले द्वन्द्वको आरोह-अवरोह मात्र झेलेको थिएन, राजनीतिक एवं पारिवारिक हिंसाको जटिलतालाई पनि झेलेकी थिएँ, झेल्दै थिएँ । अनौठो त यो थियो कि जहाँ न्याय र स्वतन्त्रताको विगुल फुक्दै जीवनको अमूल्य समय १० बर्ष गुजारेकी थिएँ, त्यहीँबाट अपमानित हुँदै घरबाट निकालिएर श्रीमतीको नाता कायम गर्नसमेत कानूनको सहारा लिँदै थिएँ । शान्ति प्रक्रियामा आइसकेपछि एकपछि अर्को दर्दनाक अवस्थाको सामना गर्नुपरेको थियो ।

त्यसै समयमा फेरि अर्को अनौठो समस्याको बज्रपात आइपर्‍यो ।

नेपालका पूर्वप्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रधानसम्पादक रहेको एउटा पत्रिकामा मेरो चरित्रसँग जोडेर समाचार छापियो । जुन मेरो कल्पना भन्दा पनि निकै बाहिरको कुरा थियो । नाता कायमको साक्षी वयान ०६८ माघ २६ गते चितवनको जिल्ला अदालतमा थियो । म २५ गते नै चितवन जानुपर्ने थियो । त्यसैले निर्धारित समयमा म प्रेस काउन्सिल हानिएँ । हाकिमलाई सोधेर मैले यसो पत्रिकाको शीर्षक मात्रै पढेर निस्कन्छु भनी पत्रिकामा के आँखा लगाएकी थिएँ, त्यो साप्ताहिक पत्रिकामा आँखा पर्‍यो ।

‘काउन्सिलमा अनेक कर्म’ शीर्षकको त्यो समाचारमा मलाई इंगित गरेर ‘काउन्सिलमा महिला र पुरुषबीचमा अवैध सम्पर्क हुने गरेकाले सदस्यसचिव लक्ष्मीविलास कोइरालाले परिचर विष्णु न्यौपानेलाई बोलाएर सोधेपछि कानुन अधिकृत होमबहादुर थापा, अध्यक्षका व्यक्तिगत सहयोगी नारायण पौडेल र माओवादी कार्यकर्ता खिमा रिजालको ओठतालु सुकेको’ उल्लेख गरिएको रहेछ ।

त्यो समाचार देखेपछि अनयासै मेरा आँखामा आशुको थोपा टल्बलाउन पुगे । म समाचारलाई केही वास्ता नगरी झोला टिपेर चितवन हानिएँ । तर, चितवनसम्म कसरी पुगें, मलाई केही थाहा भएन । अर्धचेत अवस्थामा नै म चितवन पुगेकी थिएँ ।

सशस्त्र द्वन्द्वमा प्रकाशित र प्रशारित अनर्गल प्रचारसहितका झूठा समाचारहरुले दिक्दार लागेर समाचार नै नसुन्ने बानी परेकाले शान्ति प्रक्रियापछि अनुसन्धानमुलक, खोजमुलक पत्रकारिता गर्न काठमाण्डौ छिरेकी म आफैं चरित्रमा धावा बोलेर यसरी समाचारको पात्र बन्छु भन्ने कहिल्यै अनुमानसमेत लगाएकी थिइनँ ।

राज्यको चौथो अङ्ग, सत्यतथ्य खबरले जनतालाई सुसुचित गर्ने यस्तो सम्मानित पेशा कसरी रातारात पीत बन्दोरहेछ भन्ने बुझ्न मलाई कठिनाइ भएन ।

चितवन अदालतमा साक्षी वयान सकियो । म पुन काठमान्डाैं फर्कें । तर, कसरी फर्कें, पत्तो पाइनँ । यसै पनि आफ्नो मुटुको टुक्रा (श्रीमान) राज्यले चुँडिदिएको थियो । श्रीमानको हत्यापश्चातको जीवन यसै काहालीलाग्दो थियो, त्यसमाथि श्रीमानको हत्यापश्चात घरबाट निकालिएर सडकमा बास भएकी म फेरि सञ्चारमाध्यमबाट खेदिनु पर्दाको पीडा शब्दमा कसरी व्यक्त गरौं ? शब्दकोष नै रित्तियो मसँग । शब्द नै रहेन । कतिजनालाई स्पष्टीकरण दिनु ?

कलमबाट निस्किएको एउटा शब्द कति दमदार हुन्छ, त्यो त हामी सबैले महशुस गरेकै कुरा हो । जीवनसाथी गुम्नु र घरबाट लखेटिनु भन्दा सैयाैं गुणा कष्टदायक थियो त्यो समाचार मेरो निम्ति । मैले खाना कतिबेला खान्थें, आफ्नो दैनिक कार्य कसरी गर्थें, केही पत्तो पाउन्नथें ।

कहिलेकाहीँ त फुत्त मरिदिउँ जस्तो विचार पनि नआएको होइन । तर, फेरि सम्हालिन्थें । यसरी नै मेरा दिनहरु बित्दै थिए । जेनतेन सम्हालिन कोशिष गर्दै थिएँ । केही महिनापछि पुनः सोही साप्ताहिक पत्रिकाले मलाई नै लक्षित गरेर अर्को समाचार प्रकाशित गर्‍यो, ‘प्रेस काउन्सिलमा झन् भद्रगोल’ शीर्षकमा ।

देशभरिबाट झण्डै हजारको हाराहारीमा निस्कने पत्रपत्रिकाको आचारसंहिता हेर्ने एकमात्र संस्था प्रेस काउन्सिल नेपाल यतिखेर पत्रकारिता विषय नै नपढेको मान्छेका कारण भद्रगोल अवस्थामा छ । हजारको हाराहारीमा निस्कने पत्रपत्रिकाको आचारसंहिता हेर्ने मानिस कस्तो हुनुपर्छ ? सायदै पत्रकारितासँग सम्बन्धित हुनुपर्ला । तर, अध्यक्षको निगाहले पत्रकारितासँग सम्बन्धित नभएका मानिसलाई आचारसंहिता हेर्न राखेपछि अहिले काउन्सिलको आचारसंहिता अनुगमन एकाइ भद्रगोल भएको छ ।

कानुन अधिकृतले राजीनामा दिएर हिँडेपछि आचारसंहिता अनुगमन एकाइ भद्रगोल भएको हो भनेर मलाई इङ्गित गरिएको रहेछ । मलाई हिजोआज समाचार पनि अड्कलेर बुझ्न बानी परिसकेको थियो । किनकि सत्यभन्दा असत्य समाचारको सङ्ख्या बढी हुने गथ्र्यो ।

प्रधानमन्त्रीका सञ्चार सल्लाहकार भैसकेका पत्रकार त यस्तो आधारहीन समाचार प्रकाशित गर्छन् ! मेरो नियुक्ति पाँचौँ तहको हो भने मेरो व्यवस्थापन र पत्रकारिता दुवैमा प्रवीणता प्रमाणपत्रको सबै प्रमाण थियो । जहाँसम्म भद्रगोलको कुरा छ, यस्ता पत्रकार त पत्रकारिताको जिम्मेवार पङ्क्तिमा छन् भने पत्रकारिता पेसा नै के गतिलो होस् ? यसपटक यो समाचारले मलाई कुनै तनाव दिएन ।

यी दुईवटा समाचारमध्ये मलाई धेरै असहज पहिलो समाचार बन्यो, जुन अप्रत्यक्ष रुपमा मेरो चरित्रसँग जोडिएको थियो ।

राज्यको चौथो अङ्ग मानिने सञ्चारकर्मीबाट सहयोग पाएर नयाँ गोरेटो कोर्नु त कता-कता, उल्टो जताततैबाट लखेटिएर सडकमा पुगेको बेलामा झन चरित्र हत्या गरिँदा मृत्युको मुखमा पुग्न कुनै कठिनाई नहुँदो रहेछ । बच्चै हुँदा मेरो मनको कुनै कुनामा टुसाएको खोज पत्रकारिता गर्ने र जनतामा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने रहरले फरक मोड लियो । अन्ततः मैले पत्रकारिता नै नपढेर अरु विषयतिर आˆनो करियरलाई मोड्न पुगें ।

कैयौं बसन्त यसरी नै बित्दै थिए । एकदिन मेरो मनमा फेरि एउटा विचार पलायो । सो पत्रिकाका सम्पादकलाई सम्पर्क गरौं भन्ने । र, गरंे पनि ।

उहाँसँग सामाजिक सञ्जालमा जोडिएँ । अनि कुराकानी शुरु गरें । मैले के अपराध गरेकी थिएँ र तपाईले मेरो चरित्रहत्या गर्नु भयो दाइ भनेर सोधें । यसै पनि उहाँ सगोत्री भएको नाताले दाइ नै हुनुहुन्थ्यो । उहाँको सरल उत्तर थियो- त्यहीँका -प्रेस काउन्सिलका) कर्मचारीले समाचार दिए, मैले पनि होला भनेर प्रकाशित गरें । तर गलत रहेछ । धेरै मान्छे (पत्रकार) ले मलाई गाली गर्नुभयो, सरी बैनी ।

मेरो थप जिज्ञासा थियो- त्यसको जिम्मेवारी सम्पादकको हो कि समाचार दिने मान्छेको ? अनि मेरो सहमति लिइयो कि लिइएन ? मलाई जानकारी नै नदिई मेरै समाचार प्रकाशित कसरी भयो त ? एकपटक नबुझिकन लहडका भरमा कसरी छाप्नुभयो त समाचार ?

मैले यसोभन्दा उहाँ मबाट गल्ती भयो, सरी भनेर उम्कनुभयो । तर, उहाँको ‘सरी’ शब्दले मेरो व्यक्तिगत जीवनमा परेको त्यो क्षतिको पूर्ति हुन सक्दैनथ्यो । त्यसैले मैले फोन गरेर मान्छे भेटौं, भनेको उहाँ भेट्न चाहिँ तयार बन्नुभएन । मात्र मबाट हुन गएको गल्तीका कारण यहाँलाई पर्न गएको असरप्रति क्षमायाचना गर्छु भन्नुभयो ।

जतिबेला मानिसलाई साहाराको खाँचो हुन्छ, त्यतिबेला प्रहार गरिनु पत्रकारिताको धर्म पटक्कै होइन । घायल भै क्षतविक्षत भएको व्यक्तिलाई शब्दले सहयोग गरेको भए जीवन नै फरक मोडमा उभिने प्रायः निश्चित नै थियो । तर, मैले त्यो सौभाग्य प्राप्त गर्न सकिनँ ।

अहिले त झन पार्टी एकता भएको छ । तत्कालीन विद्रोही र नेकपा एमाले मिलेर सिङ्गो नेकपा बनेको छ । सो पत्रिकाका सम्पादक नेकपाकै नेता हुनुहुन्छ । पक्कै पनि म एउटा नेपालको गणतान्त्रिक आन्दोलनमा रगत बगाउने परिवारको सदस्य र उहाँ त्यसैको नेतृत्व गर्ने पार्टीको नेता, जसका कारण मेरो पत्रकारिता गर्भमै तुहिएको छ ।

अझ यतिबेला देशैभरि सहिद सप्ताह मनाउँदै गर्दा म रगत बगेको परिवारको सदस्य र उहाँ मेरो आस्थाको पार्टीको नेता, म कसरी उहाँबाट ‘शहिद पत्नी’ भन्दै सम्मानित बन्न जाउँ ? मेरो पत्रकारिता गर्भमै तुहिए पनि यसको जवाफ भविश्यको गर्भमा छोड्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment