+
+

केपी ओली फेरिएछन् : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १९:०१

१७ फागुन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी नेता मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि पहिलेको तुलानामा फेरिएको बताएका छन् ।

देश टुक्रयाउँछु भन्नेहरु खुलेआम हिडिरहँदा दुई तिहाई बहुमतको सरकार कठोर बन्न नसकेको उनले बताए ।

ओलीसँग एक बर्ष सँगै बसेर काम गरेको बताउँदै उनले पछिल्लो समय ओलीको गतिविधी पहिलेको तुलनामा फरक भएको बताए । ‘मैले उहाँलाई राष्ट्रवादी र निर्णय लिन सक्ने नेताको रुपमा चिनेको थिएँ’ २०७२ मा ओली सरकारको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले भने, ‘तर अहिलेको केपी ओली फरक पाएको छु, उहाँ कसैको दबाव र प्रभावमा हुनुहुन्छ ।’

मेची महाकाली अभियानका क्रममा शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओली कसैको घेराबन्दीमा परेको आफूलाई जानकारी नभएको बताए ।

‘हिजो भारतको आर्थिक नाकाबन्दीमा अडान लिएको कारणले गर्दा जनताले सम्मान गरेका नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । तर, किन देश टुक्राउने गतिविधी हुँदा कुनै कारवाही गर्नुहुन्न ?’ थापाको प्रश्न छ, प्रधानमन्त्री कुन शक्तिको दबाव र प्रभावमा त पर्नु भएको छैन ?’

आफूलाई राष्ट्रवादी भन्ने सरकार देश टुक्रयाउँछु भन्ने तत्वसँग लाचार भएको उनको दाबी छ । ‘देश टुक्र्याउँछु भन्नेहरुबाट प्लेकार्ड र व्यानरसहित खुलेआम प्रदर्शन भयो’ राप्रपा अध्यक्ष थापाले भनेका छन्, ‘तर त्यहीँ बसेको प्रशासन मुकदर्शक भयो कुनै कारवाही गरेन ।’

प्रधानमन्त्रीमाथि लगातार प्रश्न उठाएका थापाले भष्टाचार नियन्त्रण गर्न कठोर बन्ने बताइरहेका ओलीले भष्टाचार गर्नेलाई कारवाही गर्न नसकेको बताए ।

एनसेल कर छली प्रकरण, वाइडबडी विमान प्रकरण र सुन तस्करी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न नसक्नु ओलीको कमजोरी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?