+
+

प्रदेश २ मा कृषिमै लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १८:३७

२१ फागुन, जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश २ को विकासका लागि कृषिमा नै लगानी बढाउनुपर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित प्रदेश २ को समृद्धिको मार्ग विषयक कार्यक्रममा उनले कृषिजन्य उद्योगलाई प्राथमिकतामा राखेर अघि बढ्न सरकार र उद्योगी व्यवसायीलाई आग्रह गरे ।

प्रदेश २ को आर्थिक विकासलाई उच्च विन्दुमा पुर्‍याउन संघीय सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माण तथा कानूनी समस्याहरु समाधान गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई जरुरी छ ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी चैत मसान्तभित्र प्रदेशमा उद्योग सम्बन्धी कानुन बनिसक्ने बताएका छन् ।

उनले यो कानुन बनेपछि प्रदेशमा लगानी भित्रिने विश्वास व्यक्त गरे । मंगलबार जनकपुरधाममा आयोजित प्रदेश २ को समृद्धिको मार्ग विषयक अन्तर्क्रियामा उनले उद्योग सम्बन्धी कानुन बनेपछि लगानी भित्र्याउने विषयमा सहयोग गर्न विज्ञ र उद्योगी व्यवसायीलाई आग्रह गरे ।

मुख्यमन्त्री राउतले लगानी भित्र्याउन आवश्यक सबै पूर्वाधार तयार गरी लागानी सुरक्षाको सुनिश्चितता समेत प्रदेश सरकारले ग्यारेन्टी गर्ने उल्लेख गरे । ‘आफूहरु सरकार गठनकै बेलादेखि लगानीमैत्री वातावरण निर्माण गर्ने नीति लिएका छौं’ उनले भने, ‘यसका निम्ति आवश्यक कानुन निर्माणको प्रक्रिया शुरु गरिसकेका छौं ।’

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफूहरुलाई संघीय सरकारले हातखुट्टा बाँधेर काम गर्न नदिएको आरोप लगाए । ‘आफूहरु लगानीमैत्री वातावरण बनाउने प्रक्रियामा रहेका छौं, तर संघीय सरकारले हात खुट्टा बाँध्ने काम गरिरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?