Comments Add Comment

विप्लव समूहको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर : गृहमन्त्री

२२ फागुन, धनगढी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका बादललाई सञ्चारकर्मीहरुले विप्लव समूहले गराएको विस्फोटबारे प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’

संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ बनाइने गृहमन्त्री बादलको दाबी छ ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री बादलले भने, ‘यो प्रकरणमा सुरुमा केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ ।’

प्रादेशिक सुरक्षा गोष्ठी शुरु

मंगलबार एकदिन चल्ने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिव नारायण बिडारी, तीन वटै सुरक्षा निकायका प्रमुख सहभागी छन् । यस्तै चार वटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता छ ।

गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनौती र त्यसका समाधानका उपायबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment