Comments Add Comment

कुकुरको पूजा हुने यो हो अनौठो कुकुरदेव मन्दिर

अहिलेसम्म तपाइँले केवल देवी देवताको मन्दिरका बारेमा मात्र सुन्नुभएको होला । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ कुकुरको पूजा हुन्छ ।

उक्त मन्दिरको नाम नै कुकुर देव मन्दिर हो । त्यो अनौठो मन्दिरका बारेमा रहेको मान्यता तथा निर्माणको कथा निकै रोचक छ ।

छत्तिसगढको रायपुरभन्दा करीब १३२ किलोमिटर टाढा पर्ने दुर्ग जिल्लास्थित खपरी गाउँमा कुकुरदेव मन्दिर रहेको छ ।

उक्त मन्दिरको गर्भगृहमा कुकुरको प्रतिमा रहेको छ । मन्दिरको छेउँमा एउटा शिवलिंग रहेको छ ।

श्रावणको महिनामा मन्दिरमा भक्तजनको ठूलो घुइँचो लाग्दछ । मन्दिरमा भक्तजनले शिवजीसँगै कुकुर देवताको पनि पूजा गर्दछन् ।

यो मन्दिर २ सय मिटरको दायरामा फैलिएको छ । मन्दिरको प्रवेशद्वारमा पनि कुकुरका दुईवटा ठूलो मूर्ति राखिएको छ ।

यो मन्दिरमा पुजा अर्चना गरी कुकुरदेवको दर्शन गरेमा मानिसमा कुकुरखोकी नामक रोग लाग्ने खतरा नहुने विश्वास गरिन्छ । साथै कुकुरदेवको पूजा गरेमा कुकुरले टोक्ने खतरा पनि नहुने आम विश्वास रहेको छ ।

वास्तवमा यो कुकुरदेव मन्दिर एउटा स्मारक हो । एउटा वफादार कुकुरको सम्झनामा यो स्मारक बनाइएको थियो । किम्बदन्ती अनुसार सदियौँ पहिले एकजना फिरन्ते मानिस आफ्नो परिवारसँगै त्यस ठाउँमा आएछन् । उनीसँग उनको एउटा कुकुर पनि आएको थियो । एकसमय गाउँमा अनिकाल परेकाले ती व्यक्तिले गाउँका साहुसँग ऋण लिए । तर उनले ऋण फिर्ता गर्न सकेनन् । त्यसको बदलामा उनले आफ्नो बफादार कुकुर साहुलाई धरौटीमा दिए ।

एकजना ती साहुको घरमा चोरी भयो । चोरले धनमाल चोरी गरेर जमिन मुनि गाड्यो । आफुले चोरी गरेर गाडेका सामानहरु पछि मौका मिलाएर निकाल्ने कुरामा चोर ढुक्क थियो । तर त्यो कुकुरले जमिनमुनि चोरीका सामान लुकाइएको फेला पार्यो । उसले त्यसको सूचना साहुलाई पनि दियो । जब कुकुरले लगेको ठाउँमा गएर साहुले खोस्रिए तब उनको घरबाट चोरिएका सामानहरु गाडेको अवस्थामा फेला परे ।

कुकुरको बफादारीबाट प्रभावित भएर ती साहुले उक्त कुकुरलाई मुक्त गरिदिने र कुकुरका मालिकलाई नै फिर्ता गर्ने निर्णय गरे । उनले त्यो कुकुरका मालिक ऋणीको नाममा एउटा चिठी लेखेर कुकुरको घाँटीमा झुण्डाइदिएर त्यो कुकुरलाई उसको खास घर पठाइदिए ।

तर उक्त कुकुरलाई जब त्यसका मालिकले बजारमा हिँडिरहेको देखे, तब त्यो कुकुर भागेर आएको भन्ठाने । तब उनले त्यो कुकुरलाई समातेर कुटपिट गरे । कुटपिटबाट त्यो कुकुरको मृत्यु भयो ।

कुकुर मरेपछि ती ऋणीले जब कुकुरको घाँटीमा बेरिएको साहुको पत्र खोलेर पढे तब उनलाई ठूलो पछुतो भयो । त्यसपछि उनले कुकुरलाई जुन ठाउँमा गाडे, त्यसमाथि एउटा स्मारक बनाइदिए । सोही स्मारकलाई पछि मानिसहरुले मन्दिरको रुप दिए र त्यहाँ कुकुर देवताको पुजा गर्न थालियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment