Comments Add Comment

वर्षाको फिटनेस राजः भात नखाने, मस्त पसिना बगाउने 

वर्षा सिवाकोटी, जसलाई चिनाउने एउटै विशेषण हो, अभिनेत्री । ‘नाई नभन्नु ल-२’, ‘पशुपतिप्रसाद’ हुँदै ‘वीर विक्रम-२’सम्म आइपुग्दा उनले जोडेको चिनारी यही हो । तर, अभिनेत्रीको रुपमा आफ्नो चमकदमक टिकाइराख्न उनले कति मेहनत गरेका छन् ? यसबारे सायदै सोधीखोजी हुन्छ ।

अनलाइनखबरले उनीसँग यसपाली फिटनेस र सौन्दर्यकै सेरोफेरोमा रहेर कुराकानी गरेको छ । उनको फिल्मी पाटोलाई छाडेर हामीले उनको सौन्दर्य राज खोतलेका छौं ।

वर्षा भन्छिन्, ‘विगत एक वर्षदेखि व्यायाम गरिरहेकी छु । व्यायाम गर्न थालेपछि अनुहारमा चमक यसै पनि आउँदो रहेछ । खानपिन पनि नियन्त्रित भएको छ । त्यो भन्दा ठूलो कुरा आत्मसन्तुष्टि रहेछ । मानिस जब सन्तुष्ट हुन्छ, त्यो उसको अनुसार तथा शरीरमा स्वत देखिदो रहेछ । त्यसबाहेक, निद्राले पनि यसमा महत्वपूर्ण भूमिका खेल्दो रहेछ ।’

वर्कआउट प्लान

वर्षाले फिल्म क्षेत्रमा आएको दुई/तीन वर्षसम्म पनि खासै वर्कआउट गरिनन् । उनलाई वर्कआउट तथा व्यायाममा खासै रुची थिएन । तर विगत एक वर्षदेखि उनी आˆनो फिटनेसबारे सजग छिन् । उनी पछिल्लो एक वर्ष देखि नियमित जीम जान थालेकी छिन् ।

जीममा उनी विशेषगरी पेटको वोसो कम गर्ने र टोनिङ्ग एक्सरसाइजमा केन्दि्रत छिन् ।   एक्सरसाईज सुरु गर्नु करिब दश करिब मिनेट पहिले मात्र उनी कार्डियोभास्कुल एक्सरसाइज गर्छिन् । फिटनेस ट्रेनर रतन बमले उनलाई फिटनेस ट्रेनिङ्ग दिइरहेका छन् ।

एपको एक्सरसाइज तथा लिफ्टिङ  बढी गर्छिन् । उनी योगा खासै गर्दिनन् । यद्यपी, एक्सरसाइज सकेपछि करिब दश मिनेट मात्र योगा गर्छिन् ।

जीम जानु अघि भने उनी डान्स गर्थिन् । उनको मान्यता छ, डान्स गर्नु आफैमा एउटा राम्रो एक्सरसाइज हो ।

खानपान

वर्षा फिल्म क्षेत्रमा आउनु अघिसम्म खानपानबारे खासै सजग थिइनन् । उनी जे पनि मज्जाले खाइदिन्थिन् । फिल्म क्षेत्रमा प्रवेश गरेदेखि उनी खानपानलाई लिएर पनि विशेष रुपले सजग हुन थालेकी छिन् । खानापानलाई नियन्त्रण गर्न थालेकी छिन् भने जंकफुड, तथा धेरै चिल्लो भएको खानेकुराबाट टाढै बस्न रुचाउँछिन् ।

खानामा उनले सेतो चामललाई पूर्णतया वर्जित गरेकी छिन् । उनले  विगत एक वर्षदेखि उनले सेतो चामलबाट बनेको कुनै पनि खानेकुरा खाएकी छैनन् । ब्राउन राइस भने उनको दैनिक खानपानको एउटा अंश बन्ने गरेको छ । उनी दूध पनि खाँदिनन् ।

मिठाई भनेपछि हुरुक्कै हुने वर्षा पहिले पहिले साताको दुई तीन पटक विभिन्न थरीका   मिठाई खान्थिन् । जुन अहिले खाँदिनन् । फलफूल धेरै धेरै खान्छिन् ।

ननभेज वर्षालाई बिरयानी भनेपछि निकै मनपर्छ । त्यसैले, खानपानका नियन्त्रणका बाबजुद उनी महिनामा एक, दुई पल्ट विर्यानी खान्छिन् । त्यसबाहेक, चिकन र फिश पनि उनलाई निकै मनपर्छ ।

वर्षाको दैनिकी

वर्षा विहान करिब साढे सात बजे उठ्छिन् । उठेपछि उनी सबैभन्दा पहिले उनी अघिल्लो दिन नै भिजाएको जीरा, कागती तथा धनियाँ मिसाएको पानी पिउँछिन् । त्यसपछि राती नै भिजाएर राखेको ४/५ वटा बदाम खान्छिन् । त्यसपछि उनी अनिवार्य रुपमा कालो चियाको साथमा विस्कुट तथा अण्डा खान्छिन् ।

विहानको करिब एघार बजेतिर विभिन्न सागसब्जी, गेडागुडी मिसाएर, मासु मिसिएको प|mाइड ब्राउन राइस खान्छिन् ।

दिउँसो करिब एक बजेतिर उनी स्याउ, किबी, अंगुर, गाँजर लगायत विभिन्न फलफूल मिसिएको जुसको सेवन गरेपछि उनी जीम जान्छिन् ।

आफू बस्ने ठाउँ र जीम जाने ठाउँ बीचको दुरी धेरै भएकोले वर्षा विहानको सट्टा दिउँसोको समयमा जीम जान्छिन् ।

जीममा उनी बेरीको जुस  खान्छिन् । उनी भन्छिन्,  यो जुसले शरीरलाई शक्ति प्राप्त हुन्छ ।

बेलुकी उनी आठ बजे अगावै खाना खाइसक्छिन् । खानामा उनी सुप, रोटी, ओटमिल लगायतका खानेकुरा खान्छिन् । रातीको दश बजेभित्रमा उनी सुतिसक्छिन् ।

उनको मान्यता छ, स्वस्थ रहन सन्तुलित खानपान र व्यायाममा पर्याप्त छैन । समयको निद्रा पनि आवश्यक छ ।

मेकअप

वर्षाको भनाई छ, स्वस्थ भएपछि यत्तिकै पनि फ्रेश भइन्छ । त्यसैले, स्वस्थतामा बढी ध्यान दिनु पर्छ । प्रशस्त मात्रामा पानी पिउनु पर्छ । व्यक्तित्वमा विकास गर्नुपर्छ ।

यसको लागि उनी हल्का मेकअप गर्छिन् । उनलाई मेकअप गर्न खासै धेरै समय लाग्दैन । आधा घण्टामा उनको सबै मेकअप सकिन्छ ।

मेकअपमा उनी स्किनको लागि टोनरको प्रयोग गर्छिन् । त्यस्तै, मेकअपमा सनव्लक कहिल्यै छुटाउँदिनन् । प्राइमर लगाएपछि मात्र फाउण्डेशन, लिपस्टिक, गाजल तथा व्लशर गर्छिन् ।

उनी मुखको लागि घरैमा फेशप्याक बनाउँछिन् । भन्छिन्,  ‘बाहिरी छालालाई मात्र राम्रो बनाउँदा त्यो तत्कालको लागि सुन्दर त देखिन्छ । तर दीर्घकालीन रुपमा यसले छालालाई निकै असर गर्छ । त्यसैले, प्राकृतिक रुपमा छालालाई कसरी स्वस्थ राख्ने भन्नेतर्फ ध्यान केन्दि्रत गर्छु’ ।

त्यसैले, उनी अनुहारलाई सुन्दर राख्न महिनामा एक पटक पार्लर गएर कोरियन फेसियल गर्छिन् । त्यसबाहेक, उनी घरमै बनाएको प्याक दिन विराएर लगाउँछिन् ।

उनी ओठको लागि लिपगार्ड लगाउनुको सट्टा भ्यासलिनमा एलोभेरा जेल, ग्लिसिन तथा तोरीको तेल  मिसाएर प्याक बनाएर लगाउँछिन् । ओठ कालो भएमा त्यसलाई स्क्रब गर्न चिनी तथा तोरीको तेल प्रयोग गर्छिन् ।

फेश प्याकको लागि उनी कफीमास्कको प्रयोग गर्छिन् ।कफी मास्क बनाउन उनी कफीमा दूध वा दही, अलिकति मह, चन्दन तथा एलोभेरा जेल मिसाएर अनुहारमा लगाउँछिन् । यसले अनुहारलाई सेतो बनाउनुका साथै अनुहारका दागधब्बा हट्छ  । त्यस्तै, छालालाई भित्रैबाट सुन्दर बनाउँछ । त्यसबाहेक, उनी प्रत्येक दिन आइसले छालाको मसाज गर्छिन् । यसले अनुहारको क्षिद्र टाल्नुका साथै छालालाई कसिलो बनाउँछ ।

कपालको सुुन्दरताको राज

वर्षा सातामा दुई पटक मात्र कपाल नुहाउँछिन् । एक पटक नुहाउनु  अघि उनी कपालमा क्यास्ट्रोल आयल, भिटामिन ई र कोकोनट आयललाई मिक्स गरेर टाउकोमा लगाउँछिन् ।  त्यस्तै, अर्को पटक नुहाउनु अघि उनी कपालमा एलोभेरा जेल लगाउँछिन् । त्यसलाई उक्त मिश्रणलाई करिब एक घण्टा कपालमा लगाएर मात्र उनी नुहाउँछिन् । वर्षा दिनहँु जीममा जाने भएकोले उनी जीउ भने दिनमा दुई पटकसम्म पनि नुहाउँछिन् । नुहाएपछि पनि वर्षा आˆनो कपाललाई प्राकृतिक तरीकाले नै सुकाउँछिन् । नुहाए लगत्तै बाहिर बाहिर जानु परेमा मात्र उनी ड्रायरको प्रयोग गर्छिन् ।

त्यसबाहेक, उनी महिनामा दुई पटक कपालको टि्रटमेन्ट गर्छिन् । यसले उनको कपालको ग्रोथ राम्ररी भएको छ ।

‘ पहिले पहिले मेरो कपाल असाध्यै झर्थ्यो । कपाल पनि रुखो थियो । तर पछिल्लो दुई महिनादेखि यो तरीका अपनाउन थालेपछि कपाल पनि निकै बाक्लो, सुन्दर र आर्कषक हुन थालेको छ’, वर्षाले भनिन् ।

वर्षाको टिप्स

‘सबै भन्दा पहिले त व्यायाम जरुरी छ । व्यायाम सँगै सन्तुलित र स्वस्थ्यवर्द्धक खानेकुरा खानुपर्छ । किनकी हामीले जे खान्छौ, त्यो नै अनुहारमा देखिन्छ । विशेषगरी, नपच्ने तथा चिल्लो खानेकरा खानसाथ पेट खराब हुन्छ । र, पेट खराब हुनासाथ त्यो अनुहारमा देखिहाल्छ । त्यसैले, स्वस्थ रहन पनि स्वस्थ खानपान गर्नुपर्छ । र, नियमित व्यायामका साथमा प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ । सकेसम्म घरमै तयार पारिएको खानेकुरा खानुपर्छ ‘, वर्षाले अनलाइनखबरसित भनिन् ।

त्यसबाहेक, सफासुगर रहनुका साथै आफ्नो लागि दिनमा कम्तीमा आधा घण्टाको समय दिनुपर्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment