Comments Add Comment

मधेसका बुद्धिजीवी भन्छन्– सिके राउतको ‘रिडिङ’ गलत सावित भयो

सिके राउत मूलधारमा आउनु राम्रो हो : बिजयकान्त कर्ण

Photo Credit : फाइल तस्वीर

२४ फागुन, काठमाडौंं । स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी आन्दोलन चलाउँदै आएका डा. सिके राउत पृथकतावादी नारा छाडेर मूलधारको राजनीतिमा आउन सहमत भएका छन् ।

आजै उनले प्रधानमन्त्री केपी ओलीसँग संयुक्त सहमति पत्रमा हस्ताक्षर गर्दैछन् । यसरी सिके राउतले विखण्डनको मुद्दा छाडेर राष्ट्रिय राजनीतिमा आउने सहमति जनाउनु सकारात्मक कार्य भएको मधेस मामिलाका जानकारी वुद्धिजीवीले बताएका छन् ।

पूर्वराजदूतसमेत रहेका वुद्धिजीवी विजय कान्त कर्ण भन्छन्– ‘सरकारसँग सिके राउतजीको कुनै डिल भएको होला । तर, यसरी मेन स्ट्रिममा आउनु राम्रो हो । पृथकतावादी आन्दोलनलाई राम्रो मानिएको पनि थिएन, हामीले पनि यसलाई कहिल्यै राम्रो भनेनौं ।’

मधेसमा चमत्कार हुन्छ र उपेन्द्र यादवजस्तै नेता बन्न सकिन्छ भन्ने सिके राउतको ठम्याइ गलत सावित भएको कर्णको विश्लेषण छ ।

तर, मान्छे मात्रै मेन स्ट्रिममा आएर नपुग्ने भन्दै अब सरकारले मधेसका मुद्दारु सम्वोधन गर्नुपर्ने उनको सुझाव छ ।

पूर्वराजदूत कर्णको विश्लेषण उनकै शब्दमा–

सरकारसँग सिके राउतको कुनै डिल भएको होला । यसवीचमा सिके राउत त जेलभित्रै थिए । यसवीचमा उनको पार्टीका मान्छेहरुले नै वार्ता गरेका होलान् । सरकारले उनलाई ल्याएर वार्ता गराएको मलाई थाहा छैन । त्यो पनि भयो होला । वार्ता त सिके राउतसँग पनि गरेका होलान् । मैले सुनेसम्म उनी हिजो काठमाडौं आइपुगेका हुन् । त्यसपछि वार्ताहरु भए भनेर सुनेको हुँ ।

सिके राउत ‘मेन स्ट्रिम’ मा आउनु राम्रो हो । पृथकतावादी आन्दोलनलाई राम्रो मानिएको पनि थिएन, हामीले पनि यसलाई कहिल्यै राम्रो भनेनौं । मेरो आफ्नो सोचाइ के हो भने यहाँ नेपालभित्र जसलाई जेजे माग्न मन लाग्छ, माग्न दिनुपर्छ । नेपालको सीमाभित्र नेपाली जनतालाई जुनसुकै कुरो माग्नलाई अधिकार दिनुपर्छ । यो सीमा भत्काएर माग्छु भन्ने त्यो अधिकार हुन सक्दैन । देशभित्र कसले के माग्छ भन्ने कुरो त्यो प्रत्येक व्यक्तिको अधिकारको कुरा हो । तर, हाम्रो सीमालाई भत्काएर माग्न पाइँदैन ।

श्रीलंकामा सन् १९७८ देखि २००९ सम्म, ठ्याक्क २५ वर्षसम्म जसले आफ्नै पैसा निकाल्यो, रोड बनायो, ट्रेन चलायो, त्यो पूरा राज्यको सिस्टमै चलाउँदा त इण्डियाले श्रीलंकालाई विभाजित हुन दिएन । त्यो त ठूलो उदाहरण हो नि । त्यो अवस्थामा नेपालजस्तो देशमा त्यो हुने कुरै भएन । नेपाल भनेको पूर्ण सर्वभौम बन्ने तरखरमा लागिरहेको देश हो ।

हामी सार्वभौम बन्ने कोसिसमा छौं । प्रयत्न हाम्रो जारी छ । शायद एक दिन हामी पूर्ण सार्वभौम पनि हौंला । त्यो अवस्थामा अर्काले चाहिँ म पनि टिक्न सक्छु भनेर सोच्नु भनेकै बकवास कुरो हो । नेपालबाट कुनै टुक्रा अलग भएर न त्यो सार्वभौम बन्न सक्छ । न टिक्न सक्छ ।

त्यसैले सिके राउत मेन स्ट्रिममा आउनु राम्रो हो । तर, यसलाई सरकारले अर्को तरिकाले प्रयोग गरेर केही गर्न खोजेको हो भने यो चाहिँ अप्ठ्यारो हुन्छ ।

सिके राउतको ‘रिडिङ’ गलत सावित भयो

सिके राउतले विगत ६/७ वर्षदेखि जुन गतिविधि गरिाख्नुभएको थियो । केही उवाहरुको लगाव उनीतिर नभएको होइन । युवाहरुको ठीकैठीकै लगाव थियो । मधेसमा मात्रै होइन, थरुहट क्षेत्रमा पनि केही लगाव थियो ।

राज्य र मधेसवीचको विभिन्न समयको जुन टकराव छ, माग छ, आन्दोलन छ, त्यसले गर्दा फ्रस्टेसनमा परेका युवाहरु उनीप्रति आकर्षित नभएका होइनन् ।

तर, यिनले जुन किसिमले संगठन विस्तार हुन्छ र मधेसमा एउटा उभार आउँछ भन्ने उनको ‘रिडिङ’ गलत रहेछ भन्ने प्रमाणित भयो ।

मान्छेहरुलाई के लागेको थियो भने पहिलो मधेस आन्दोलनबाट जसरी उपेन्द्र यादवको उदय भयो, त्यसरी नै अर्कोको पनि हुनेछ । तर, जहिल्यै पनि चमत्कार हुँदैन नि पोलिटिक्समा । सबै उपेन्द्र यादव हुन सक्दैनन् नि ।

मान्छेमात्रै आएर केही हुँदैन

मधेसमा पृथकतावादी आन्दोलन जयकृष्ण गोइतले सुरु गरे । पछि ज्वाला सिंह निस्किए । त्यस्ता धेरै अरु पनि निस्किए । कहीँ न कहीँ मान्छेमा असन्तुष्टिको पराकाष्टा त छ नि । त्यो असन्तुष्टिलाई सम्वोधन गर्नु भनेको राष्ट्र निर्माण गर्नु हो । त्यो असन्तुष्टिको सम्वोधन राज्यको लागि ठूलो मौका किन हो भने गोइतजी यसरी आएनन् । उनी आफूलाई त्यसरी नै बिताउँदै छन् ।

सिके राउत आए भन्ने कुरोलाई सकारात्मक रुपमा लिएर मधेसका राजनीतिक दलहरुसँग रुलिङ पार्टीले, विपक्षी पार्टीले एउटा नयाँ किसिमको सम्वन्ध विस्तार गरेर यो समस्याको समाधान खोज्यो भने त्यो चाहिँ उपयुक्त हुन्छ । र, यो राम्रो मौका हो ।

मान्छेमात्रै आएर केही हुँदैन, मुद्दाहरुको सम्वोधन भएन भने भोलि अर्को मान्छे जन्मिइहाल्छ नि । त्यसैले मागहरुको सम्वोधन गर्नुप¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment