Comments Add Comment

झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्दै

Photo Credit : सुवास पण्डित/अनलाइनखबर

२४, फागुन, चितवन । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । सडक विभागको पुल महाशाखा सडकखण्डमा पर्ने १४ वटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’को आधारमा निर्माण गर्न दिने गरी प्रकृया अघि बढाएको छ ।

सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चार वटा पुल निर्माणको चरणमा छन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईले अनलाइनखबरसँग कुरा गर्दै पुल निर्माणको लागि ठेक्का आहृवान गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

सुरूमा नेपाल सरकारकै लगानीमा १४ वटा पुल निर्माण गरिने छ । पुल निर्माण सकिएपछि विश्व वैंकको प्रोगाम फर रिजल्ट (पीफरआर) कार्यक्रम अन्र्तगत पुल निर्माणको रकम लिने गरी सम्झौताको तयारी भइरहेको छ ।

‘डिजाइन एण्ड बिल्ड’का आधारमा पुल निर्माण गर्दा चाँडो बन्ने विश्वास विभागको छ । विभागले गरेको डिजाइन अनुसार काम गर्दा ठेकदारहरुले अनेक उल्झन निकाल्ने गरेकोलेे ठेकेदारलाई नै डिजाइन गर्न दिने र त्यसको ‘एप्रुभ’ विभागले गर्ने महाशाखा प्रमुख दीपक भट्टराईले जानकारी दिए ।

‘साधारण ठेक्काको अवधि राखेर ठेक्का खोल्छौं, त्यसपछि कम रकम बोलकबोल गर्नेसँग सम्झौता गरिन्छ’, पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईले भने, ‘सम्झौताको ६ देखि ९ महिनासम्म ठेकेदारलाई सर्भे र डिजाइनका लागि दिन्छौं, त्यो पास भएपछि निर्माणको चरणमा जान्छ । त्यो गर्दा जोखिम कम हुन्छ ।’ भट्टराईका अनुसार पुल निर्माणमा एक अर्बको हाराहारी खर्च लाग्ने अनुमान छ ।

नारायणगढ मुग्लिन सडकखण्डका १४ मध्ये तीनबाट पुल निर्माण गर्न कठिन र जटिल भूगोल छ । मुग्लिनबाट नारायणगढ तर्फ आउँदाको पहिलो खहरे पुल, दुई नम्वर किसिन्जी पुल, तीन नम्बरको तुइनखोला पुल सबैभन्दा कठिन ठाँउमा छन् ।

सडक विस्तार गरी ९ मिटरदेखि ११ मिटर बनाइएपनि सडकखण्डमा पर्ने पुल साना र जीर्ण छन् । पुल सानो हुँदा दुर्घटना नहोस् भनेर पुलको दुवैं तर्फ ‘रम्बल स्ट्रीप’ राखिएको छ । यसलाई यात्रु र चालकहरूले त्यति रूचाएका छैनन् ।

सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहजता आउने छ । त्यसलाई मध्येनजर गरी चाडो पुल निर्माणको काम गरिने प्रमुख भट्टराईले बताए ।

राजधानी काठमाडौं र पोखराको लाइफ लाइन मानिने यो सडकखण्डमा दैनिक १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

तीन वटा पुल अन्तिम चरणमा

नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने निर्माणाधीन चार पुल मध्ये तीनबाट पुल निर्माणको अन्तिम चरणमा छन् । मौरी, खानीखोला र दासढुङ्गा पुल निर्माणको काम अन्तिम चरणमा छ । जेठको आधाआधीमा काम सकिने सम्भावना छ ।

आयोजनाका इन्जिनियर शिव खनालका तीनबाट साना पुलको ६४ प्रतिशत काम सकिएको छ । मौरीपुल र दासढुंगा पुलको माथिल्लो स्लावसमेत ढलान भैसकेको छ । भने, खानीखोलाको तयारी भइरहेको छ ।

तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुङ्गा पुल २० मिटर लम्बाइका हुनेछन् । चौडाइ भने सबैको समान ११ मिटर हुनेछ । तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ ।

सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे पुल निर्माणको काम ३८ प्रतिशत मात्रैं सकिएको छ । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो ।

जलवीरे पुल ८० मिटर लामो हुनेछ । यो पुल बनाउन १४ करोडमा ठेक्का दिइएको हो । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको कारण पुल निर्माणमा ढिलाई भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment