Comments Add Comment

के तपाईं आफ्नो बुढ्यौलीलाई धकेल्न सक्नुहुन्छ ?

एकपटक सोच्नुहोस् त, तपाईंको उमेरले ६५ बर्ष पार गर्नेछ । संभवत त्यसबेला तपाईं आफ्नो पेशा-व्यवसायबाट अवकास लिइसकेको हुनुहुनेछ । भनौं, ति साथीहरुसँग चिया वा कफी पिउँदै नयाँ-नयाँ योजनाहरु बनाउने दिन गुजि्रसक्नेछ । साथीभाई क्रमस पातलिदै जानेछन् ।

शरीरले पनि कहाँ उस्तै हुन्छ र ? उच्च रक्तचाप, मधुमेह, कोलोस्ट्रोर, थाइराइड, दम, हृदयरोग जस्ता अनेक समस्याले च्यापिसकेको हुनेछ । नियमित औषधी र उपचार गर्नैपर्ने हुनेछ । औषधी र अस्पतालको चक्करले तपाईंको दैनिकी झर्कोलाग्दो हुनेछ ।

तपाईंको अनुहारको रंग उड्नेछ । छाला चाहुरिनेछ । मेरुदण्ड कुप्रो हुनेछ । दाँत थोतो हुनेछ । कपाल झर्नेछ । आँखाको दृष्टि कमजोर हुनेछ । श्रवणशक्ति कमजोर हुनेछ । फुर्तिसाथ हिँड्ने, उफ्रने, दौडने कामबाट बञ्चित हुनुहुनेछ ।

उहिले संयुक्त परिवार हुन्थे । हजुरबा पुस्तादेखि नाती-पनातीपुस्तासम्म एकै छानोमुनी बस्थे । परिवारका सदस्यहरु धेरै हुँदा एकअर्काको दुःखसुख साट्न सहज हुन्थ्यो । एक्लोपन र उदासीले गाँज्दैनथ्यो । सबैजनासँग सहकार्य, सर-सहयोग, सल्लाह आदनप्रदान हुन्थ्यो । तर, अहिले संयुक्त परिवार टुक्रिएर एकल परिवार भएका छन् । यस्तो घरका बुढापाकाहरु पनि एक्लिएका छन् ।

संभवत त्यो चरणसम्म पुगिसक्दा तपाईंका जीवनसाथी छुटिसक्छन् । तपाईंसँग मनको बह पोख्ने, भलाकुसारी गर्ने सबैभन्दा नजिकका साथी हुनेछैनन् । तपाईंको विच्छ्यौना चिसा हुनेछन् । रात कटाउन मुश्किल हुनेछ ।

एकातिर तपाईं आफै शिथिल र कमजोर हुँदै जानुहुनेछ, अर्कोतिर तपाईंसँग भेट्ने, कुरा गर्ने साथीभाई र आफन्तहरु टाढिदै जानेछन् । जति-जति बुढ्यौलीले थिच्दै जानेछ, उत्तिनै तपाईं एक्लिदै जानुहुनेछ ।

उफ् बुढ्यौली

बुढ्यौली वास्तवमै पट्यारलाग्दो हुन्छ, खासगरी हाम्रो जस्तो समाजमा । किनभने हाम्रो पारिवारिक संरचना यसरी कमजोर हुँदैछ कि, जहाँ बुढ्यौलीका लागि न्यानो स्थान छैन । संयुक्तबाट टुक्रिदै गएको परिवारमा बुढाबुढी नितान्त एक्लो हुँदैछन् ।

अर्कोतिर बुढापाकालाई श्रद्धापूर्वक व्यवहार गर्नुपर्छ र उनीहरुको उचित ख्याल राख्नुपर्छ भन्ने संस्कृति राम्ररी विकास हुन पाएकै छैनन् । छोरा-नातीहरुका लागि बुढा बुवाआमा वा बाजेबज्यै बोझिलो लाग्न थालेको छ ।

जब घरमा कोही बुढाबुढी हुन्छन्, उनीहरुलाई रेखदेख गर्ने, औषधी उपचार गर्ने, स्यहार गर्ने जस्तो काममा छोरा-नातीले जाँगर देखाउँदैनन् ।

घर-परिवारमा बुढाबुढी पुरै उपेक्षित हुन्छन् । घरको रमझममा उनीहरुलाई सहभागी गराइदैन । घरमा मिठो मसिनो खानेकुरा पकाइरहँदा बुढाबुढीको स्वाद र स्वास्थ्यको कुनै हेक्का राखिदैन ।

अर्कोतिर हाम्रो राज्य पनि बुढ्यौलीप्रति उति उदार छैन । जीवनभर अनेक पेशा-व्यवसाय गरेर राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्वभार वहन गरेपनि बुढ्यौली हुँदै गएपछि उनीहरु अनागरिक जस्तै हुन्छन् । बुढाबुढीको स्यहार-सुसार र संरक्षणका लागि राज्य त्यती उत्तरदायी छैन ।

हुन त अहिले बृद्ध भत्ता दिन थालिएको छ । तर, यसरी प्राप्त हुने भत्ताले संभवत उनीहरुको औषधी खर्च पनि जोडिदैन । ज्येष्ठ नागरिकका लागि सार्वजनिक यातायात लगायतमा केही सुविधा दिएपनि ति सबै पर्याप्त र सुलभ छैन ।

अर्कोतिर हाम्रो समाज संस्कारहिन भएको छ । बुढापाकाप्रति कस्तो व्यवहार गर्ने, उनीहरुलाई कसरी सम्मान गर्ने भन्ने कुरामा हामी अभ्यस्त छैनौं । बुढापाका देख्नसाथ हामीलाई टिठलाग्छ, कमजोर लाग्छ, निरिह लाग्छ ।

यस्तो समाजमा बुढ्यौली जीवन पक्कै दिक्कलाग्दो, झर्कोलाग्दो, उराठलाग्दो हुन्छ ।

बुढापाका अनमोल भण्डार

बुढापाकाप्रति हामी अनुदार छौं । उनीहरुप्रति हामीमा सम्मान-भाव छैन । बुढाबुढी हामीलाई बोझिलो लाग्छ ।

तर, सोच्नुहोस् त एउटा ७० बर्षका व्यक्तिले भोगेको समय र समाज कस्तो थियो होला ? उनले आफ्नो जीवन-कालमा के कस्ता कुरा देखे-सुने, भोगे-झेले होलान् ? उनले जीवनमा के-कस्ता सीप सिके होलान् ? के कस्ता क्षमता विकास गरे होलान् ? के कस्ता ज्ञान आर्जन गरे होलान् ?

मानौं, एउटा सरकारी कार्यलयबाट अवकास पाएका बुढा व्यक्तिसँग उनले जागिरे जीवनमा देखे-भोगेका स्मरण हुन्छ । अनुभव हुन्छ । अनुभूति हुन्छ । त्यस क्रममा उनले धेरै कुरा सिकेका र बुझेका हुन्छन् । यी सबै कुरा आफैमा एक पाठ हो, हाम्रो निम्ति ।

बुढापाका आफैमा खुला पुस्तक हुन् । विश्वविद्यालय हुन् । उनीहरुसँग आफुले भोगेको र झेलेका अनेक कथा हुन्छन् ।

तर, बुढापाकाको कुरा सुन्ने धैर्यता हामीसँग छैन । हामी ज्ञान आर्जनका लागि नयाँ-नयाँ पुस्तक किन्छौं, कक्षा लिन्छौं, इन्स्िटच्युट धाउँछौं, गुगल सर्च गर्छौं । तर, साक्षत भेटिने बुढापाकासँग केही सोध्दैनौ, केही बुझ्दैनौं । उनीहरुसँग आफ्नै अनुभवले आर्जन गरेको अथाह ज्ञान हुन्छ । तर, हामी उनीहरुले आर्जन गरेको ज्ञान र सीप दोस्रो पुस्तामा हस्तान्तरण गर्दै लाने बारे सोच्दैनौं ।

पछिल्लो आंकडाले के देखाएको छ भने अब भविष्यमा तन्नेरीभन्दा बुढापाकाको संख्या बढी हुनेछ । यो विश्वका अन्य मुलुकसँगै नेपालको सन्दर्भमा पनि हो ।

बीबीसीमा प्रकाशित एक लेखमा उल्लेख भए अनुसार यसरी बुढापाकाको संख्या बढ्दै गएपछि राज्यको व्यायभार पनि बढ्दै जानेछ । बुढापाको संख्या तुलनात्मक रुपमा बढी भएपछि उनीहरुमाथि राज्यको दायित्व बढ्ने उक्त लेखमा उल्लेख थियो । साथसाथै के पनि लेखिएको छ भने, अहिले विश्वका कतिपय कम्पनीले आफ्नो पेशा-व्यवसायबाट अवकास लिइसकेका बुढापाकालाई पुन काममा लिने गरेका छन् ।

यसले एकातिर बुढापाको दिन छरितो र सक्रिय हुने भयो । अर्कोतिर उनीहरुको अनुभव त्यसै खेरो जाने भएन । बुढापाकाले आर्जन गरेको परिपक्क ज्ञान र सीपको उपयोग हुने भयो ।

के बुढ्यौलीलाई धकेल्न सकिन्छ ?

जन्मपछि मृत्यु जसरी टार्न सकिदैन, उसैगरी बुढ्यौली पनि । अकालमा मृत्यु भएन भने पृथ्वीमा जन्म लिने हरेकले बुढ्यौली उमेरबाट गुज्रनैपर्छ ।

बुढ्यौली एक प्राकृतिक अवस्था हो । तर, बुढ्यौलमा प्रवेश गर्दैमा सबैको दैनिकी झर्कोलाग्दो, पीडादायक, अपहेलित हुन्छ भन्ने होइन । यसमा आफुले आफ्ना सन्तानलाई कसरी हुर्काइएको छ भन्ने कुराले पनि अर्थ राख्छ ।

आफ्ना छोरा-नातीलाई राम्रो संस्कार दिएर, सभ्यता सिकाएर हुर्काएको छ भने उनीहरुले बुढा बुवाआमा, हजुरबा-हजुरआमालाई बुढ्यौलीको अनुभव हुन नदिई खुसी र सुखी बनाएर राख्छन् ।

बुढ्यौलीमा हुने संभावित कष्ट, एक्लोपन आदिबाट मुक्त हुनका लागि आफ्नै प्रयास पनि आवश्यक हुन्छ । र, यसका लागि हामीले जवान छँदै सोच्नुपर्छ ।

बुढ्यौलीमा हुनसक्ने संभावित रोग वा शारीरिक र मानसिक समस्या कम गर्नका लागि हामीले युवाअवस्थामा शारीरिक स्वास्थ्यको ख्याल गर्नुपर्छ । जस्तो खानपान, व्यायाम, सोंच-चिन्तन सबै कुरा राम्रो हुनुपर्छ । जति हामी सक्रिय हुन्छौं, हाम्रो खानपान जति सुपाच्य र सन्तुलित हुन्छ, हाम्रो सोंच चिन्तन जति सकारात्मक हुन्छ, हाम्रो बुढ्यौली पनि उत्तिनै धकेलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment