+
+
Shares

तत्काल ब्याजदर नघटे व्यापारीले सडक संघर्ष गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते ११:४६

२७ फागुन, काठमाडौं । बैंकको ब्याजदर तत्काल नघटे सडक संघर्ष गर्ने व्यापारीहरुले चेतावनी दिएका छन् । राष्ट्रिय व्यवसायी महासंघले चर्को ब्याजदरका कारण व्यापारीहरु मारमा परेको भन्दै यस्तो चेतावनी दिएको हो ।

बैंकको ब्याजदर आकासिएका कारण व्यवसाय गर्नै मुश्किल परे पनि सरकारले गम्भीर रुपमा नलिएको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । मन्त्री तथा विभिन्न निकायका हाकिमहरुलाई भेटेर यस विषयमा गुनासा राख्दा सम्वोधन नभएको उनको गुनासो छ । सोमबार नै पत्रकार सम्मेलन गरेर आफ्ना माग र आन्दोलनका कार्यक्रमहरुबारे प्रष्ट पारिने समेत महासंघ अध्यक्ष कटुवालले जानकारी दिएका छन् ।

‘ब्याजदरका कारण हामीले व्यवसाय गर्नै नसक्ने अवस्था आउन लागेको छ । व्यापारका लागि लिएको ऋण घर बेचेर तिर्नुपर्ने स्थिति हुँदा पनि व्यादजर घटाउन सरकार गम्भीर देखिएन । अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘हामी आजै पत्रकार सम्मेलन गर्दैछौं ।’

तत्काल माग सम्वोधनका लागि सरकारसँग आग्रह गर्ने र कुनै सम्वोधन नभए आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।

विभिन्न ९ वटा बुँदाहरु अघि सारेर प्रेस वक्तव्य जारी गर्ने तयारी भइरहेको समेत उनले बताए । केरुङ नाकामा जान व्यवसायीहरुलाई गाह्रो परेको विषय पनि महासंघले उठाउन लागेको छ । केरुङ नाकामा गएर व्यवसायीहरुलाई निर्वाध रुपमा सामान खरिद गरेर ल्याउन ठूलो समस्या रहेको तर सरकारले यसलाई बेवास्ता गरेको कटुवालले बताए ।

यस विषयमा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत बेवास्ता भएको उनको भनाइ छ ।

‘हामीले केरुङ नाकाको विषयमा माननीय परराष्ट्रमन्त्रीज्यूलाई ज्ञापन पत्रसमेत बुझाएका थियौं, उहाँले १५ दिनमै समस्या समाधान हुन्छ भन्नु भएको थियो’ उनले भने, ‘१५ दिन भनेको ५ महिना नाघिसक्यो सरकारले वास्ता गरेको छैन ।’

घरभाडाको विषयलाई पनि मागमा समेटिएको उनले बताए । काठमाडौंमा ब्याजदर, घरभाडा आकासिदा व्यवसायीहरु ठूलो मारमा परेको भन्दै भन्दै उनले यस विषयमा सरकार गम्भीर हुनु पर्ने समेत बताए ।

ब्याजदरको विषयमा विशेष गरेर पूर्वका उद्योगी व्यवसायीहरुले आवाज उठाउँदै आएका छन् । ब्याजदर आकासिएर उद्योग एवं व्यवसाय चलाउनै नसकिएको भन्दै विराटगरमा सडकमै उत्रिएका उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई भेटेर ब्याजदर सहज बनाइदिन आग्रह गरेका थिए ।

पूर्वका व्यवसायीहरुलाई उद्योगी-व्यवसायीहरुको छाता संगठन नेपाल उद्योगग वाणिज्य महासंघले समेत समर्थन गरेको छ । ब्याजदरका विषयमा महासंघले समेत प्रधानमन्त्री, अर्थमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरसँग सहज बनाउन आग्रह गरिसकेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधिक समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदरको समस्या समाधान गरेको दावी गरिरहे पनि उद्योगी-व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् । ७ प्रतिशतमा लिएको कर्जा दोब्बर बढेर १४ प्रतिशतसम्म पुगेको भन्दै उनीहरुले आपत्ति जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?