+
+

सिके राउत : ७ सवाल, ३ सरप्राइज !

‘म सिके राउतलाई झण्डै २० वर्षदेखि चिन्छु’

तुलानारायण साह तुलानारायण साह
२०७५ फागुन २७ गते ११:४७

१) सिके राउतबारे काठमाडौंमा शुरुदेखि भ्रमहरु फैलाइयो । उनलाई धेरै नै बढाइ–चढाइ प्रस्तुत गरियो । भयको हाउगुजी फैलाइयो । उनी र उनको संगठन देशको सबैभन्दा ठूलो खतरा हो भनेर प्रचार गरियो ।

यसमा देशको राजनैतिक परिवेशले पनि काम गरेको थियो । संविधान निर्माणका बेला अनेकौं आन्दोलनहरु भए । मधेस आन्दोलनका क्रममा नाकाबन्दीसम्म भयो । यसक्रममा नेपाली समाजमा स्पष्टरुपमा दुईधार देखिए । राष्ट्रवादी र पहिचानवादी ।

राष्ट्रवादी धारका मानिसहरु काठमाडौंमा निकै प्रभावशाली थिए । तिनीहरुको उग्रता सोसल मिडियामा बढी देखिन्थ्यो भने काठमाडांैको सत्ता, प्रशासन, मिडिया सबैमा उत्तिकै बलियो पकड । पहिचानवादी धारका मानिसहरु उल्लेखित तीनै पक्षमा कमजोर थिए । केबल सडकमा बलियो उपस्थिति देखाएको थियो ।

सिके राउतले जब स्वराज आन्दोलनको एजेण्डा घोषणा गरे र पक्राउ परे, राष्ट्रवादी धारका मान्छेहरुले उनीबारे अनेक डरलाग्दा काल्पनिक तस्वीर बनाउन थाले । उनलाई देशकै सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा प्रस्तुत गर्न थालियो । त्यसपछि सुरक्षा निकायका अनेक प्रतिवेदनहरुमा उनको नाम उल्लेख हुन थाल्यो ।

भोलि पनि सिके राउतले सरप्राइज दिने निर्णय गर्दैनन् जस्तो लाग्दैन । किनभने, धेरै तीक्ष्ण बुद्धिको मान्छे हरेक काम कुरा बडो स्मार्ट तरिकाबाट गर्न खोज्छन् । सरप्राइज दिन खोज्ने उनीहरुको ठूलो अभिलाशा हुन्छ

जबकि सिके राउतले भनेको जम्मा के थियो भने मधेसका मानिसहरु नेपालमै बस्न चाहन्छन् कि छुट्टिन चाहन्छन् यसबारे जनमत संग्रहको संबैधानिक ब्यवस्था हुनुपर्छ ।

त्यसैलाई काठमाडौंमा धेरै बढाइ चढाइ भयो र खतराको सूचक मानियो । खतरा त त्यसबेला हुन्छ, जब त्यो व्यक्ति वा उसको समूहले शान्ति सुरक्षाको अवस्थालाई नै चुनौती दिन्छ । देशको कुनै भागलाई आफ्नो कब्जामा लिएको हुन्छ । समानान्तर सत्ता चलाएको हुन्छ । राज्यको उपस्थितिलाई मान्दैन । आम मानिसको जनजीवनलाई अस्तब्यस्त गरिदिन्छ ।

तर, यी सब त केही पनि भएको थिएन । राउतको बोलीमात्रमा राष्ट्रवादीहरुले किन ठूलो खतरा देखे थाहा छैन । ११ बुँदे सहमति त्यसैको परिणाम हो, जसलाई त्यही राष्ट्रवादीहरुले ठूलो उपलब्धी भनेर प्रचार गर्दैछन् ।

२) सिके राउतको व्यक्तित्व र एजेण्डाबारे मधेस र पहाडमा अलग–अलग धारणा रहेका थिए । मधेसमा उनको ब्यक्तित्वप्रति धेरै आकर्षण तर एजेण्डाबारे मौनता थियो । पहाडमा उनको एजेण्डाबारे घोर घृणा र ब्यक्तित्वप्रति मौनता ।

मधेसमा खासगरी युवाहरुले सिके राउतको व्यक्तित्वप्रति आकर्षित हुनुको कारण उनको पारिवारिक पृष्ठभुमि, शिक्षादीक्षा र अमेरिकाको जागिर त्यागेर राजनीति गर्न आएको जस्ता पक्षले भूमिका खेलेको थियो । उनीहरुले सिके राउतलाई मुक्तिदाताका रुपमा देखे ।

तर, मधेसी समाजले मुक्तिको बाटो स्वतन्त्र मधेसलाई देख्यो कि देखेन ? कतिपय उनका समर्थकहरुले भन्थे, ‘अहिले भन्नलाई पो स्वतन्त्र मधेस भन्छन्, भोलि वार्ताको बेला लेनदेन हुने हो । तर, यो मान्छे नेता चाहिँ बन्नुपर्छ । किनभने अहिलेसम्मका नेताहरुभन्दा यिनी पढेलेखेका, त्यागी देखिएका छन् । यिनले केही गर्लान् जस्तो छ ।’

यसरी मधेसी समाजमा सिके राउतबारे आशलाग्दो तस्वीरको कल्पना गरिएको थियो ।

ठीक त्यहीबेला पहाडका राष्ट्रवादी धारमा मानिसहरुले भने सिके राउतबारे डरलाग्दो तस्वीरको कल्पना गरे । उनको व्यक्तित्वबारे मौनता थियो भने एजेण्डाबारे घोर घृणा । क्याम्ब्रिजमा पढेको होस् कि अक्सफोर्डमा, देश टुक्राउँछु भन्न त पाइँदैन नि भन्थे । राउतले माग गरेको जनमत संग्रहलाई बढाई चढाई देश टुक्राउन पाउनुपर्छ भनियो ।

तुलानारायण साह

जसले आशलाग्दो तस्वीरको कल्पना गरे, उनीहरु सिके राउतका पछाडि गए । जसले डरलाग्दो तस्वीरको कल्पना गरे, उनीहरुले राष्ट्रिय एकताको सबैभन्दा ठूलो चुनौतीका रुपमा प्रचार गरे ।

३) मेरो बुझाइमा मधेसी समाज निकै भावनात्मक छ । समाजमा हरेकले चरम विभेदको महसुस गरेको छ । एउटा मधेसी दलितलाई गएर सोध्नुस् वा एरिस्टोक््रयाट मधेसी ब्राह्मणलाई, सबैसँग पहाडिया समाज र नेपाली राज्यले विभेद गरेको आआफनै ब्यक्तिगत कथाहरु छन्, पीडाहरु छन् । मधेसमा विभेद भोगेको ब्यक्तिगत कथ्यहरु (इन्डिभिजुअल न्यारेटिभ) निकै बलिया छन् ।

विभेदको महसुसबाट विद्रोहको भावना जन्मिने हो । मानिसमा विद्रोहको भावना हुने तर, आँट नहुँदा उसले चमत्कारको आशा गर्न थाल्छ । चमत्कारिक हिरोको कल्पना गर्न थाल्छ । मधेसको अवस्था त्यस्तै हो । यहाँ छिटो–छिटो हिरोहरुको आगमन भएको छ । केही दिनमै फेरि अर्को हिरोको खोजी हुन थाल्छ ।

२०६२/६३ सालतिरको अवस्थालाई सम्झौं । माओवादी पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेको थियो । काठमाडौंको भित्तामा पहिलोपटक मधेसीहरुको पक्षमा चर्काचर्का नाराहरु लेखिएको थियो । त्यतिबेला मात्रिका यादवलाई हिरोका रुपमा देखेका थिए । उनी जता जान्थे, सैयौं मानिस उनको पछाडि हुन्थे ।

केहीपछि जब मधेस बिद्रोह भयो, मानिसहरु एकाएक उपेन्द्र यादवका पछि लागे । २२ बुँदे सहमति गरेपछि अनेक कुरा हुनथाल्यो । फेरि कांग्रेस छाडेर महन्थ ठाकुर आए । त्यो भिड त्यतै लाग्यो । दोस्रो मधेस आन्दोलन भयो । चुनाव भयो । चुनावले मधेसीहरुलाई आ–आफ्नो पार्टीमा विभाजित गराइदियो । चुनावपछि मधेसी दलहरुको विभाजन र सत्ता यात्राको दौड शुरु भयो । समाजमा निकै उदासी छायो ।

०६९ सालमा सिके राउतले स्वराज आन्दोलनको घोषणा गर्दा शुरुमा धेरैको ध्यान तानिएको थिएन । तर, ०७१ सालमा जब राज्यले सिके राउतलाई पहिलोपटक गिरफ्तार गर्‍यो, मधेसमा उनको क्रेज ह्वात्तै बढेको थियो । खासगरी सोसल मिडियामा उनको पक्षमा अनौठो दृश्य देखिएको थियो ।

सिके राउतबारे काठमाडौंले डरलाग्दो तस्वीर कोर्दै थियो, मधेसले आशलाग्दो तस्वीर कोर्दै थियो, त्यो आफ्नो ठाउँमा छ । तर, उनले लिएको एजेण्डा आवश्यक थियो कि थिएन ?

त्यसमा पनि अनेक तर्क छन् । तर, त्यो गल्यामरस थियो । हिजो एकजना पढेलेखेका मधेसी मित्रले भन्दैथिए, ‘हामी आफू केही गर्न नसके पनि, असम्भवजस्तै लागे पनि सिके राउतको एजेण्डा सुनेर मनमनै दगं पर्थें ।’

क्रेज भनेको त्यही त हो नि । सम्भव, असम्भवको तराजुमा कसले तौलेर आन्दोलन गर्छ र ?

४) ११ बुँदे सहमतिमा कुनै एक वा दुई शब्दहरुमात्रको फरक–फरक अर्थ लाग्न सक्छ । त्यसरी शाब्दिक बिवेचना अदालतमा मुद्दाको बहस गर्दा वकिललाई बढी काम लाग्ने कुरा हो । तर, ११ बुँदे सहमतिको स्पिरिट, प्रक्रिया र सार्वजानिक घोषणासभाको दृश्यले प्रष्ट हुन्छ, सिके राउतले पृथकतावादी धारको राजनीतिलाई छोडेकै हुन् ।

एजेण्डा छाडेर सिके राउतले नराम्रो गरेको म भन्दिनँ, राम्रो नै गरेका छन् । तर अब झेल गर्ने कि अगाडि बढ्ने ? बल सिके राउतका हातमा छ । यदि उनी अझै पनि सरकारले जनमत संग्रहलाई नै मानेको छ भन्दै हिँड्छन् भने परिस्थिति फागुन २३ अघिको अवस्थामा पुग्ने छ । अर्थात यो सहमतिको कुनै अर्थ नै रहँदैन ।

५) यहाँनेर राज्यपक्षले पनि बुझनु जरुरी छ, मधेसमा पृथकतावादी धारको राजनीति सर्वथा नयाँचाँहि होइन । यस धारका पहिलो नेता सिके राउत हुँदा पनि होइनन् । जयकृष्ण गोइतको आन्दोलन जारी नै छ । त्यसैले यसखाले आन्दोलनको स्थायी सामाधान सिके राउतसँग वा कुनै पात्र विशेषसँगको सहमति मात्र हुन सक्दैन ।

यसको वास्तविक सामाधान भनेको नेपाली राज्यमा रहेको संरचनागत विभेदको उपचार खोज्नु हो । संविधानको उचित संशोधन गर्नु हो । महन्त ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) जस्ता दलको खेदो खन्ने र स्वतन्त्र मधेस गठबन्धनलाई स्वीकार गर्ने प्रधानमन्त्रीको मनसायलाई कुन तरिकाले कसरी बुझ्ने ?

६) अब सिके राउतले दल खोले हुन्छ । प्रश्न उठ्न सक्छ, यो गर्दा फाइदा के हुन्छ ? अथवा उहाँले किन मूलधारको राजनीति गर्नुपर्छ ? किनभने मधेसी समाजमा बहुआयामिक विभेद छ । सामाजिक विभेद छ । आर्थिक विभेद छ । चरम वर्गीय बिभेद छ ।

तर, सबैभन्दा ठूलो राज्यको संरचनाहरु मार्फत विभेद गरिएको छ । यो संरचनागत विभेदको अनुभव सबैलाई छ । त्यस विभेदबिरुद्ध नै पटक–पटक ठूलाठूला आन्दोलनहरु भएका हुन् ।

आजको दिनमा पनि मधेसी समाज भावनात्मकरुपमा आन्दोलित तर राजनीतिक रुपमा कम संगठित समाज हो । आजको मुख्य कार्यभार भनेको समाजलाई राजनीतिकरुपमा संगठित गर्नु हो ।

०४६ पछि नेपाल सद्भावना पार्टी ले यो कुरा सुरु गरेको थियो । उसले जग मात्रै हाल्यो, फोरमले अगाडि बढायो । फोरमले मधेसीहरुको राजनीतिक एजेण्डाहरुलाई बुझ्ने भाषामा पुनव्र्याख्या गर्‍यो ।

मधेसी समाजमा अहिले पनि ठूलो तप्काले समस्या भनेको उ राष्ट्रिय दलहरुलाई आफनो पार्टी मान्दछन् । भोट पनि उसैलाई दिन्छन् । तर, गाली गर्नुपर्‍यो भने मधेसी दललाई नै गाली गर्छन् । यो भनेको के हो भने मानिसहरु मुद्दाको मामिलामा इमोशनल छन् । तर, राजनीतिक रुपमा सही ठाउँमा संगठित छैनन् । राजनीतिक रुपमा संगठित नभएसम्म उपलब्धी हासिल गर्न गाह्रो छ ।

त्यसैले अब सिके राउतले मूलधारको पार्टी खोलेर राजनीति गर्न कोसिस गर्छन् भने मधेसी राजनीतिले एउटा राम्रो पढेलेखेका नेता पाउनेछन् । कार्यकर्ताहरुले राम्रो प्रशिक्षण पाउँछन् । आजका पढेलेखेका स्मार्ट युवाहरु जो भित्रभन्दा मधेस बाहिर बढी छन्, विभिन्न सपना बुन्दै र विभेद खेप्दै बसेका छन्, तिनको भावना बुझ्ने एकजना नेता बन्नेछन् ।

७) तर, सिके राउतले पार्टी खोल्ने काम गर्छन् कि गर्दैनन् भन्न गाह्रो छ । काठमाडौंले सिके राउतको नाम सुनेको ५÷६ वर्ष भयो । म उनलाई झण्डै २० वर्षदेखि चिन्छु । उनले यस्तो राजनीति गर्लान् भन्ने लागेको थिएन । साह्रै सोझो, सज्जन, पढालु मान्छे थिए ।

जुन दिन अमेरिका छाडेर आए र म राजनीति गर्छु भने, त्यो नै मेरा लागि पहिलो सरप्राइज थियो । दोस्रो, स्वतन्त्र मधेसको राजनीति गर्छु भने, त्यो झन् सरप्राइज थियो । अहिले आएर सहमति गरेका छ, यो पनि मेरा लागि सरप्राइजकै विषय भयो ।

त्यसैले भोलि पनि सिके राउतले सरप्राइज दिने निर्णय गर्दैनन् जस्तो लाग्दैन । किनभने, धेरै तीक्ष्ण बुद्धिको मान्छे हरेक काम कुरा बडो स्मार्ट तरिकाबाट गर्न खोज्छन् । सरप्राइज दिन खोज्ने उनीहरुको ठूलो अभिलाशा हुन्छ ।

(कुराकानीमा आधारित)

लेखकको बारेमा
तुलानारायण साह

मधेस मुद्दामा रुचि राख्दै अध्ययन अनुसन्धानमा क्रियाशील साह राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?