
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी लक्ष्य पूरा गरेका छन्।
- मधेसको GDP आधारभूत मूल्यमा ३.८८ प्रतिशत वृद्धि अनुमान गरिएको छ।
- कृषि, वन, मत्स्य र उद्योग क्षेत्रको उत्पादन र कर्जा प्रवाहमा वृद्धि भएको छ।
५ असार, काठमाडौं । मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी चालु आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्य बराबर पुगेको छ । चालु आव २०८१/८२ पुससम्म मधेसका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १२ प्रतिशत भन्दा माथि पुगेको हो ।
चालु आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो । चालु आव पुससम्मा मधेसका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १३.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ४२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १२.१७ प्रतिशतले वृद्धि भई ४ खर्ब ८८ अर्ब ३८ करोड पुगेको छ ।
२०८१ पुस मसान्तमा मधेसका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६४ अर्ब ६२ करोड कर्जा प्रवाह भएको छ । यो कर्जा मधेसमा प्रवाहित कुल कर्जाको १३.२३ प्रतिशत हो ।
बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा १०.९९ प्रतिशतले वृद्धि भई १ खर्ब २५ अर्ब १३ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो कर्जा १ खर्ब १२ अर्ब ७४ करोड थियो ।
चालु आव पुससम्म मधेसका उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २७.६६ प्रतिशत मात्रै छ । उक्त अवधिमा खाद्य तथा अन्य बाली उत्पादन १.४१ प्रतिशत र फलफूल उत्पादन ११.५२ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन १५.४६ र तरकारी तथा बागवानी उत्पादन १.०७ प्रतिशतले कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।
पशुजन्य उत्पादनतर्फ दूध, मासु र अन्डा उत्पादन क्रमशः ५.२७, १.७१ र २.२० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, माछा उत्पादन ४.१३ प्रतिशतले बढेको छ । वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन ११७.६० प्रतिशत र दाउरा उत्पादन ११.८६ प्रतिशतले वृद्धि भएको छ ।
चालु आव २०८१/८२ को कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।
त्यस्तै मधेसको जीडीपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ । २०८१/८२ मा राष्ट्रिय जीडीपी आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेसको जीडीपी आधारभूत मूल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
यस प्रदेशको जीडीपीमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन् क्षेत्रको छ । २०८१/८२ मा मधेसको प्रतिव्यक्ति जीडीपी अमेरिकी डलरमा ९ सय ३२ हुने अनुमान छ । उक्त अवधिमा घरजग्गा रजिस्ट्रसशन संख्यामा १.०७ प्रतिशतले कमी आए तापनि घरजग्गा रजिस्ट्रेसनबाट संकलित राजस्वमा भने ८.१२ प्रतिशतले वृद्धि भएको छ ।
मधेस प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन चरणमा छन् । ती आयोजनामध्ये हुलाकी सडक मार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र छ ।
प्रतिक्रिया 4