Comments Add Comment

गोरखाको धार्चे गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण

२७ फागुन, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण गरिएको छ ।

गाउँपालिकाको विभिन्न वडाबाट प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

लाप्राकको रुगाङ डाँडा, निर्माणाधीन एकीकृत नमूना वस्तीको डाँडा, काशीगाउँ र धार्चे डाँडाबाट उडान परिक्षण भइसकेको उनले जानकारी दिए । ‘रुगाङ डाँडाबाट उडेर माछाखोला, गुम्दा वा राइजुखोलामा ल्याण्ड गर्ने, लाप्राककै एकीकृत नमूना वस्ती निर्माण भइरहेको डाँडाबाट उडेर वारपाक, वालुवा वा छेवेटार ल्याण्ड गर्ने गरी उडान परिक्षण भइसक्यो,’ उनले भने ।

काशीगाउँबाट आरुघाटमा र धार्चे डाँडाबाट भिमसेन थापा गाउँपालिकामा ल्याण्ड हुने गरी उडान परीक्षण समेत भइसकेको उनले जानकारी दिए । यी सबै ठाउँमा सडक सञ्जाल जोडिएका कारण पनि प्याराग्लाइडिङ सञ्चालनमा सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

‘लापु, गुम्दा र लाप्राकमा यस अघि नै मोटरबाटो पुगिसकेको थियो, गत बर्षको बजेटले काशीगाउँमा पनि सडक पुगेको छ, प्याराग्लाइडिङका लागी सामान ओसारपसार गर्न पनि सहज हुन्छ,’ गुरुङले भने ।

सम्भाव्यता अध्ययनका लागि यस बर्ष गाउँपालिकाले पाँच लाख रकम विनियोजन गरेको छ । धरानको कम्पनीबाट आएका पाँच जना टोलीले उडान परीक्षण गरेका हुन् । ‘धेरै ठाउँबाट उडान परीक्षण गर्‍यौं, अहिले रिपोर्ट तयार पारिरहेका छौ, सम्भावना राम्रै छ,’ उडान परीक्षण गर्ने मध्यका एक मनबहादुर गुरुङले भने ।

व्यवसायिक प्याराग्लाइडिङ उडान शुरु गरेसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गुरुङले गरेका छन् । ‘मनास्लु र गणेश हिमाल र रुपिनालाको ट्रेकिङ रुटमा पर्ने भएकाले पर्यटक प्रवद्र्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

अर्काे बर्ष पुन बजेट छुट्याएर कामलाई निरन्तरता दिने उनले बताए । ‘अर्काे बर्ष ल्याण्ड गर्ने ठाउँ बनाउछौं, अनि प्याराग्लाइडिङ उडानको जिम्मा कुनै एउटा कम्पनीलाई दिन्छौं,’ उनले भने । ल्याण्ड हुने ठाउँमा ‘कफी सप’ हरु पनि सञ्चालन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment