Comments Add Comment

सिकेसँग झुक्ने होइन, समातेर कारबाही गर : कमल थापा

२८ फागुन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्नसमेत थापाले माग गरेका छन् ।

‘सहमतिपछि पटकपटक दोहोर्‍याएर पढ्यौं, तर त्यहाँ विखण्डनको एजेण्डा छोडेको कतै देखिन्न, स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिन्न’, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल आइपुगेका थापाले पत्रकार भेटघाटमा भने, ‘राउतको फेसबुक स्ट्याटस् र जनकपुरको प्रदर्शनले पनि सहमति रहस्मय रहेको पुष्टि गरेको छ ।’

जनकपूरमा सिके राउत समर्थकले गरेको प्रदर्शन आपत्तिजनक भएको प्रतिक्रिया थापाले दिए । विखण्डनकारी नारा लगाउँदा समेत सरकार मुकदर्शन बनेको भन्दै उनले सीके राउतलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे । ‘सीके राउतले विखण्डनकारी माग यथावत् राखिरहँदा पनि सरकार मुकदर्शक देखिएको छ’, थापाले अगाडि थपे, ‘राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस् ।’

सहमतिका बुँदाबारे उठाइएको प्रश्नको जवाफ दिनुपर्नेमा सरकारले प्रतिरोध गरेको भन्दै उनले आक्रोस पोखे ।

दिल्लीको १२ बुँदे समझदारीपछि बढेको बाह्य हस्तक्षेपले अहिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै खतरा पैदा गराएको विश्लेषण थापाको छ ।

विखण्डनकारी आवाज सतहमा आएको भन्दै थापाले त्यो नकारात्मक दिशातर्फ बहेको १२ वर्षे राजनीतिको परिणाम भएको टिप्पणी गरे ।

राप्रपाले सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गर्दै उनले आफ्ना मागहरु सम्बोधन नभए चैतदेखि जनसंघर्षमा जाने चेतावनी दिए ।

गणतन्त्र स्थापनापछि पटकपटक त्यसको कार्यान्वयन गर्न सरकारमा समेत सामेल थापाले सेरेमोनियल वा संसदको नियन्त्रणमा रहने राजसंस्था र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए ।

विप्लव नेतृत्वको पार्टीलाई सरकारले कम आँकेको भन्दै उनले गम्भीरतापूर्वक लिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment