Comments Add Comment

यूएस–बङ्ला विमान दुर्घटनाको एक वर्ष, के थियो कारण ?

‘क्याप्टेन तनावग्रस्त र थकित’

२८ फागुन, काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ ।

२०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।

चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए ।

दुर्घटनाको बाह्र दिनपछि विमानका प्रमुख चालक क्याप्टेन अविद सुल्तानकी श्रीमती अफ्साना खानमको उपचारको क्रममा ढाकामा मृत्यु भएको थियो । दुर्घटनाको खबर सुनेपछि विरामी परेकी उनको न्यासनल इन्स्टिच्यूट अफ न्यूरो साइन्सेज अस्पतालमा उपचार चलिरहेको थियो ।

‘क्याप्टेन तनावग्रस्त र थकित’

दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले विमानका क्याप्टेन सुल्तान मानसिक रुपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको छ ।

आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उनलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षीय सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत माघमा सरकारलाई बुझाएको प्रतिवेदनअनुसार क्याप्टेन सुल्तान उडानका बेलामा पनि अनावश्यक, गैर–व्यावसायिक र लामो संवाद गरिरहेका थिए । समितिका एक सदस्यका अनुसार उनी उडानका बेलामा निकै हतास र अस्थिर मानसिकतामा देखिएको अनुमान लगाउन सकिन्छ ।

चालक दलका सदस्यहरूले रक्सी वा अन्य नशालु पदार्थ सेवन गरेको भने नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनामा विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलर (एटीसी) को पनि कमजोरी देखिएको आयोगको ठहर छ । एटीसी र चालक दलबीच ‘०२ रनवे’ कि ‘२० रनवे’ प्रयोगसम्बन्धी संवादमा द्विविधा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एटीसीले चालक दललाई विमानको वास्तविक अवस्थिति बताउन असफल हुनु, एटीसी र चालक दलबीच प्रस्ट संवाद हुन नसक्नु जस्ता कारण प्रतिवेदनमा औंल्याइएको छ ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई दुई/दुई र सञ्चालकलाई ११ वटा सुझाव दिएको छ । जसमा लाइसेन्स नवीकरण गर्नुअघि पाइलटको मानसिक तथा शारीरिक परीक्षण हुनुपर्ने, एटीसीको क्षमता वृद्धि गर्नुपर्ने, चालक दल व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment