+
+
Shares

लगानीसम्बन्धी विधेयकको छलफल आजै सिध्याउने तयारी, सांसदको विरोध

संसदलाई हतार हुनु ठीक होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १४:५९

२८ फागुन, काठमाडौं । सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार विहान संसदबाट पारित गर्ने तयारी छ ।

हाल अर्थ समितिमा छलफलका क्रममा रहेको सो विधेयकमाथिको छलफल समितिले मंगलबार नै सिध्याउने तयारी गरेको छ ।

यही चैत १५–१६ गते गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’का लागि लक्षित गरेर सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन १४ गते संसदमा दर्ता गरेको थियो ।

प्रतिनिधिसभाको बुधबार मध्यान्न १२ बजे बस्ने बैठकबाट दुवै विधेयक पारित गर्ने तयारी छ । समिति सभापति कृष्णप्रसाद दाहालका अनुसार उक्त लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले ल्याएको विधेयक छिट्टै टुङ्ग्याएर समितिले पनि पठाउन लागेको हो ।

समितिले सोमवार नै विधेयकमाथि छलफल सुरु गर्ने र मंगलबार टुंग्याएर बुधबार बस्ने प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको थियो । सोमबार अर्थमन्त्रीले समय नदिँदा विधेयकमाथि छललफल हुन नसकेकाले मंगलबार एक दिनमात्र छलफल गर्ने समय छ ।

विधेयकमा २३ वटा संशोधन दर्ता भएका छन् । संशोधनकर्ता सांसदहरुसँग छलफल सिध्याएर समितिले अहिले दफाबार छलफल गरिरहेको छ ।

सरकारलाईजस्तै संसदलाई किन हतारो : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमाथिको छलफलका क्रममा हतार गर्न नहुने बताए । विधेयक पारित गर्न सरकारलाई हतार भए पनि संसद र संसदीय समितिले हतार गर्न नहुने उनले बताए ।

‘सरकारलाई हतारो लाग्ने कुरा बुझ्न सकिन्छ । संसदले सरकारका कतिपय हतारलाई बुझ्नु पनि पर्छ’, उनले अगाडि भने, ‘कता कता के पनि लाग्न थालेको छ भने, सरकारलाई लागेको जस्तै अदालतलाई लाग्ने । सरकारलाई मन लागेको कुरा संसदलाई गर्न मन लाग्न थाल्यो भने यसले हाम्रो आधारभूत प्रबन्धहरु खलबलाउन सक्छ ।’

थापाले मन्त्रालयका सचिवहरुले समेत आफ्ना सुझावहरु संशोधनमार्फत समावेश गरिदिन अनुरोध गरेको पनि बताए । ‘यहाँ आएका संशोधन र मेरो संशोधन पनि के हामी आफैले लेखेको भन्दा पनि नेपाल सरकारका सचिवज्यूहरुले लौन विधेयकमा यो राखिदिनुपर्यो, भनिदिनु पर्यो भनेर आएका संशोधनहरु छ’ उनले भने ।

विधेयकको मस्यौदा गर्दा मन्त्रालयका सचिवहरुले नै देख्न नपाएको गुनासो आएको पनि थापाले बताए । ‘यस्तो किन भयो त भन्दा हामीले राख्नै पाएका छैनौं । हामीले भन्नै पाएका छैनौं, ठाउँ पाएका छैनौं भन्ने अवस्था छ’, उनले थपे, ‘त्यसकारण यहाँ प्रशस्त छलफल हुनुपर्थ्यो । त्यो अवस्था देखिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?