Comments Add Comment

किसान एग्रो केमिकल्सको गोदाम शिलबन्दी

२८ फागुन, वीरगञ्ज । वीरगञ्जको छपकैयास्थित किसान एग्रो केमिकल्स उद्योगको गोदाममा जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको छ ।

वीरगञ्ज महानगरपालिका-४ छपकैयामा गोदाम भनिए पनि अनुगमनका क्रममा सबै काम त्यहीबाट हुने गरेको पाइएको छ ।

साईनबोर्ड नराखेको, नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदामबाट समान बिक्री गर्ने गरिएको तर इजाजत नभएको, तयारी बस्तु तथा म्याद नाघेका बस्तु एकै ठाउँमा राखिएको र गोदाममा रि-प्याकिङ गर्ने गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

प्याकिङ गर्ने कोठा र गोदाममा अनुगमन टोलीले शिलबन्दी गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवामा किसान एग्रो केमिकल्स उद्योग सञ्चालनमा छ ।

श्यामकुमार तुल्स्यानले सञ्चालन गरेको किसान एग्रोले कृषि प्रायोजनका लागि आवश्यक पर्ने किटनासक विषादी, भिटामिन, जैविक मल उत्पादन गर्दै आएको छ ।

२०५४ फागुन ५ गते घरेलु तथा साना उद्योग कार्यालय बारामा कृषि पैदावारमा लाग्ने विभिन्न किसिमका औषधि तथा जैविक मल उत्पादन गर्ने उद्धेश्यले ४६ लाख २० हजार ६ सय ६७ रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको थियो । तर, पछि त्यसलाई रामगढवामा सारिएको थियो ।

उद्योगले २०५८ सालमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जसँग लिएको स्थायी लेखा नम्बर लिँदा प्याकिङ मेटोरियल सम्बन्धी कारोबार, कीटनाशक औषधि उत्पादन गर्ने भनी उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत उज्वल बहादुर बस्नेतले किसान एग्रो केमिकल्सको गोदाममा अनियमितता भएको उजुरी आएकोले छापामारी गरिएको बताए ।

उनले छापामारीका क्रममा केही त्रुटिहरु देखिएकोले आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँले प्लान्ट क्वारेन्टाईन एवं विषादी व्यवस्थापन केन्द्र काठमाण्डुबाट अनुमति लिएर मात्रै ती कामहरु गर्न पाईने तर अनुसन्धानका क्रममा त्यसो नगरेको पाइएको बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख ओम नारायण शर्माले साइनबोर्ड समेत नराखेर गोदाममा उद्योगले गर्ने कामहरु गर्ने गरेको पाईएको बताए ।

उद्योग सञ्चालकले आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले उद्योगको आर्थिक विवरणहरु समेत हेरेको छ । थप अनुसन्धान पछि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरु समेत सहभागी भएका थिए । तर, उद्योग सञ्चालकले भने कुनै वदमासी नगरिएको दावी गरेका छन् । उनले स्टाफले राम्रोसँग काम नगर्दा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment