Comments Add Comment

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, मेस्सीको दुई गोल

Photo Credit : च्याम्पियन्स लिग

३० फागुन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले पहिलो र दोस्रो लेग गरी समग्रमा ५–१ गोलकै जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा बार्सिलोना र लियोनले गोलरहित बराबरी खेलेका थिए ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, फिलिपे कौटिन्हो, जिरार्ड पिके र औसमाने डेम्बेलेले समान एक–एक गोल गरे । यता, लियोनका लागि लुकास टौस्टार्टले एक गोल फर्काए थिए ।

कप्तान मेस्सीले खेलको १७औं मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३१औं मिनेटमा फिलिपेले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दा लियोनले एक गोल फर्काउन सफल भएको थियो । ५८औं मिनेटमा लुकासले गोल गर्दै लियोनलाई २–१ गोलको अवस्थामा ल्याए । तर बार्सिलोनाले ७८औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक पनि कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, ८१औं मिनेटमा पिके र ८६औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको जित दिलाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment