Comments Add Comment

हिरोइनको आयुः कसले कति वर्ष काम गरे ?

केही दिनअघि ‘साईनो’ चलचित्रको गीत रिलिज कार्यक्रममा नायिका नीता ढुंगानाले भनिन्, ‘हिरोइन भएर काम गर्ने हो भनेको सिमित समयका लागि मात्र हुन्छ, सँधै काम गर्नलाई त कलाकार बन्नुपर्छ ।’

हुन पनि हाम्रो चलचित्र उद्योगमा सामान्यतया ‘हिरोइन’ को आयू लामो हुँदैन । उनीहरु २०-२२ वर्षमा करिअर सुरुगरेकाहरु ३० नाघ्नासाथ ‘बुढी’ भनिन थाल्छन् । त्यसपछि करिअर पनि ओरालोतिर लाग्छ । बलिउडमा पनि यही हुन्छ । त्यहाँ चाहिँ प्राय बिहे गरेपछि हिरोइनहरुको करिअर सकिन्छ ।

यसको ठिक विपरित हलिउडलाई हेर्ने हो भने ३५-३० वर्षमा हिरोइनहरु करिअरको पिकमा पुगेका हुन्छन् । हिरोइन बन्न नवयौवना नै हुनुपर्छ भन्ने मान्यता त्यता छैन ।

नेपालमा प्रायः चलेका हिरोइनहरुको आयू ५ देखि १० वर्ष हुन्छ । तर, केही यसका अपवाद पनि छन् । जस्तै सदावहार नायिका भनेर चिनिने करिश्मा मानन्धरलाई हेरौं । उनले सन् १९८९ मा ‘सन्तान’ बाट डेब्यू गरिन् । लामो समयसम्म नेपाली चलचित्रमा उनको बोलबाला रह्यो । त्यसपछि ८ वर्ष उनी अमेरिका पलायन भइन् । फर्केर फेरि चलचित्रमै सक्रिय छिन् । यद्यपि, उनको करिअरमा पहिलेजस्तो रौनक भने छैन । करिश्मा अभिनित पछिल्लो फिल्म ‘हिरोज’ गत वर्ष प्रदर्शन भएको थियो, जुन फ्लप भयो ।

करिश्माको सुरुवाती चलचित्र र पछिल्लो चलचित्रलाई हेर्ने हो भने २९ वर्ष उनले यस क्षेत्रमा बिताएकी छन् । बीचमा अमेरिका बसेको ८ वर्ष झिक्ने हो भने पनि २१ वर्ष हुन्छ । आˆनो करिअरमा उनले ७१ वटा चलचित्रमा काम गरिन् ।

अर्की अपवाद हुन् रेखा थापा । उनले ग्ल्यामर फिल्डमा १८ वर्ष बिताएकी छन् । सन् २००० मा रिलिज भएको चलचित्र ‘हिरो’ मार्फत् यस क्षेत्रमा प्रवेश गरेकी रेखा कुनै समयकी नम्बर एक नायिका थिइन् । लगभग एक सयको हाराहारी चलचित्रमा काम गरेकी रेखाको सन् २०१८ सालमा ‘मालिका’ नामक चलचित्र रिलिज भयो तर व्यवसायिकरुपमा सफल हुन सकेन ।

कुन हिरोइनको आयु कति ?

नायिका विपना थापाले धेरै सफल चलचित्रमा काम गरेकी छिन् । सन् १९९५ मा रिलिज भएको चलचित्र ‘जन्मभूमि’ बाट डेब्यू गरेकी उनले लगभग एक सय चलचित्रमा अभिनय गरिन् । उनी हिरोइनका रुपमा देखिएको अन्तिम चलचित्र ‘संघर्ष जिन्दगीको’ सन् २००९ मा रिलिज भएको थियो । विपनाले त्यसपछि सन्  २०१० मा रिलिज भएको ‘निशाना’ मा अतिथि भूमिका निभाइन् । यसरी उनले लगभग १५ वर्ष यस क्षेत्रमा बिताएकी छिन् । विवाहपछि उनी चलचित्र क्षेत्रबाट टाढिएकी हुन् ।

त्यस्तै, नायिका जल शाह १३ वर्षको कलिलो उमेरमा नै चलचित्र ‘अवतार’बाट रंगीन दुनियामा प्रवेश गरिन् । सन् १९९६ मा निर्माण भएको यस चलचित्रमा राजेश हमाल र गौरी मल्ल मुख्य भूमिकामा थिए । चलचित्रलाई प्रकाश सायमीले निर्देशन गरेका थिए ।

जलले आˆनो करिअरमा ३ दर्जन बढि चलचित्रमा काम गरेकी छिन् । अन्तिम चलचित्रका रुपमा सन् २००६ सालमा रिलिज भएको चलचित्र ‘क्रोध’मा उनले अभिनय गरेकी थिइन् । यस अर्थमा उनको चलचित्र दुनियाको आयु १० वर्षको भयो । तर, हिरोइनका रुपमा भने उनी ५-६ वर्ष मात्रै सक्रिय रहिन ।

नायिका झरना थापाले सन् १९९६ मा भुवन केसीको जोडी बनेर चलचित्र ‘दाइजो’ बाट डेब्यू गरिन् । त्यसपश्चात् उनले धेरै सफल चलचित्रमा काम गरेकी छिन् । उनले नायिका बनेर अन्तिम चलचित्र ‘चाँडै आउ है’ मा अभिनय गरिन् । सन् २०१५ मा रिलिज भएको उक्त चलचित्र पश्चात् झरनालाई नायिकाको रुपमा दर्शकले हेर्न पाएका छैनन् । अहिले झरनाले आˆनो परिचय फेरेकी छिन् । उनी नायिकाबाट निर्देशक बनेकी छिन् । उनको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ निकै सफल भयो । अहिले झरना ‘ए मेरो हजुर ३’ मा व्यस्त छिन् ।

अरुणिमा लम्साल पनि एक समय चर्चामा रहेकी नायिका हुन् । सन् २००३ मा रिलिज भएको राजेश हमाल, जल शाह, सृजना बस्नेत अभिनित ‘यस्तै रहेछ जिन्दगी’ बाट डेब्यू गरेकी उनले तीन दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिन् । उनको अन्तिम चलचित्र सन् २०१४ मा रिलिज भएको ‘जोडी नम्बर १’ हो । तर, यो चलचित्र पनि निर्माण भएको लामो समय रोकिएर रिलिज भएको थियो । यो हेर्दा अरुणिमाले पनि झण्डै एक दशक चलचित्र क्षेत्रमा बिताएकी छिन् । अहिले उनी अमेरिकामा सेटल भएकी छन् ।

रेजिना उप्रेतीले पनि लामो समय चलचित्र क्षेत्रलाई दिएकी छिन् । उनले पनि लगभग १३ वर्षको उमेर चलचित्र क्षेत्रमा गुजारेकी छन् । सन् २००० मा निर्माण भएको चलचित्र ‘भाग्यले जुरायो’ बाट यस क्षेत्रमा प्रवेश गरेकी रेजिनाले सन् २०१३ मा रिलिज भएको चलचित्र ‘इतिहास’ मा पनि काम गरेकी छिन् ।

अब गरिमा पन्तको कुरा गरौँ । ‘निखिल दाई’ मार्फत् सन् २००६ मा चलचित्र क्षेत्रमा भित्रिएकी गरिमाले पनि आˆनो करिअरमा धेरै सफल चलचित्रमा काम गरेकी छिन् । गरिमाको अन्तिम चलचित्रको रुपमा सन् २०१७ मा ‘स्काउट’ रिलिज भयो । तर, गरिमाले सन् २०१४ मा रिलिज भएको चलचित्र ‘ठुली’ पश्चात् चलचित्र क्षेत्रमा सक्रियरुपमा काम गरेकी छैनन् । यस अर्थमा गरिमाको आयु पुग नपुग १० वर्ष मात्र हुन्छ ।

सुन्दरी नायिका संचिता लुइँटेलले सन् २००० मा रिलिज भएको चलचित्र ‘अप्सरा’ बाट डेब्यु गरिन् । तर, चलचित्र क्षेत्रमा आˆनो प्रभुत्व जमिरहँदा उनी निखिल उप्रेतीसँग बिबाह गरेर मुम्बई छिरिन् । उनले निखिलसँग बिबाह गर्नुपूर्व सन् २०१३ मा रिलिज भएको चलचित्र ‘इतिहास’मा काम गरेकी थिइन् ।

५ वर्ष मुम्बई बसेर फर्किएकी संचिताले ‘राधा’ चलचित्रमा काम गरिन् । उक्त चलचित्र केही हदसम्म सफल भयो । तर, त्यसयता लगातार चलचित्रमा काम गरेपनि सञ्चिताले आˆनो क्रेज फर्काउन सकेकी छैनन् । उनी अभिनित गुनगुन, आरोप, रुमालै छ चिनो लगायत चलचित्र लगातार असफल भए । संचिताले १३ वर्ष चलचित्र क्षेत्रमा गुजारेकी छन्, तर यहीबीचमा केही वर्ष आफ्ना दुई छोराछोरी हुर्काउन पनि व्यस्त भइन् ।

सन् १९९४ मा रिलिज भएको ‘दक्षिणा’ निकै हिट भयो । यस चलचित्रबाट निरुता सिंहले चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उक्त चलचित्रको सफलतासँगै निरुताले चलचित्र क्षेत्रमा राज नै गरिन् । तर, करिअर बिस्तारै ओरालो लाग्न थालेपछि सन् २०११ मा रिलिज भएको चलचित्र ‘द गेम’ मा काम गरेपछि मुम्बाई छिरिन् ।

अहिले निरुता सिंहले कमब्याक गरेकी छिन् । उनले ‘नाई नभन्नु ल ५’बाट कमब्याक गरिन् । तर, उक्त चलचित्रमा उनी अतिथी भूमिकामा मात्र सिमित थिइन् । तर, ‘दाल भात तरकारी’ मा भने निरुता मुख्य भूमिकामा छिन् ।

किन पलायन हुन्छन् नायिका

सरसर्ती हेर्दा धेरैजसो नायिकाहरु आफ्नो करिअर खस्किन थालेपछि विदेश पलायन भएका छन् । कतिले भने बैबाहिक जीवनपछि ब्रेक लिएका छन् । बिबाहपश्चात् पारिवारिक जिम्मेवारी आˆनो काधमा थपिने भएकाले पनि उनीहरु चलचित्रको पर्दामा देखिन छोड्छन् र घर गृहस्थी सम्हाल्न थाल्छन् ।

जल शाह, अरुणिमा लम्साल, पुजा चन्द, ऋचा घिमिरे, गरिमा पन्त लगायत थुप्रै नायिकाहरु यतिबेला अमेरिकामा छन् । विपना थापा भारतमा आˆनो श्रीमानको साथमा बस्छिन् ।

अमेरिकाबाट फर्किएर चलचित्रमा सक्रिय हुन खोजेकी करिश्मा यस वर्षको एसईई परिक्षाको तयारीमा छिन् । नायिका संचिता लुइँटेल पनि पुनः स्थापित हुन संघर्ष गरिरहेकी छिन् भने झरना थापा निर्देशनतिर लम्किएकी छिन् । नेपालमा नै रहेर काम नगरेकी नायिका भने रेजिना उप्रेती हुन् । यसैगरी रेखा थापा पनि यतिबेला खाली नै छिन् ।

रेजिना परिवारलाई समय दिनु परेकाले चलचित्र क्षेत्रमा सक्रिय हुन नसकेको बताउँछिन् ।

उनी भन्छिन्, ‘बिहे नहुँदासम्म त सुटिङको लागि जहाँ जान पनि मिल्थ्यो । अहिले त्यसरी हिँड्न मिल्दैन । परिवारलाई पनि समय दिनुपर्यो नि ।’

रेजिनाको अहिले एक बच्चा पनि छन् । के परिवारले रोकेको हो चलचित्रमा काम गर्न ? अनलाइनखबरको यो प्रश्नमा उनले भनिन्, ‘हैन, म आफ्नै इच्छाले पछाडी हटेको हुँ ।’

हिरोइन हुनको लागि उमेर हद तोकिने कुराको विरोधी हुन्, रेजिना । उनी भन्छिन्, ‘हालै मात्र माधुरी दिक्षितले मुख्य भूमिकामा अभिनय गरिन् । जसले सुहाउँदो क्यारेक्टरमा आफूलाई लिड रोलमा प्रस्तुत गर्छ, त्यो नै हिरोइन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment