Comments Add Comment

प्रदेश राज्यमन्त्रीहरूको जिम्मेवारी : चिया र बिस्कुट !

८ चैत, जनकपुरधाम  । राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद सुरेश मण्डलले प्रदेश-२ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएको ९ महिना पुगेको छ । यो अवधिमा उनले मन्त्रालयमा कुनै जिम्मेवारी पाएका छैनन् ।

‘अहिलेसम्म एउटै फाइलमा हस्ताक्षर गर्न पाएको छैन’ राज्यमन्त्री मण्डलले अनलाइनखबरसँग भने, ‘मन्त्री भइस् भनेर साथीहरू आउँछन्, तर उहाँहरुलाई चिया खुवाएर पठाउने गरेको छु ।’

सिरहाको क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित मन्त्री मण्डल महाशाखाले फायल उठाएर सचिवलाई दिएपछि सचिवले आफूलाई लेख्नुपर्ने बताउँछन् । तर सचिवले सिधै फायल मन्त्रीलाई लेख्ने गरेकोप्रति उनको गुनासो छ ।

प्रदेश २ का अन्य राज्यमन्त्रीहरूले पनि मण्डलले जस्तै जिम्मेवारी पाएका छैनन् । कामबिहीन बनेका राज्यमन्त्रीहरूको दैनिकी आफनो कार्यकक्षमा कार्यकर्ता भेटेरै बित्ने गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको संयुक्त गठबन्धनको प्रदेश नम्बर २ मा सरकार छ । मन्त्रीहरुले कार्यभार राज्यमन्त्रीमा प्रत्यायोजन नगर्दा आफूहरू जिम्मेवारीविहीन भएको राज्यमन्त्रीहरूको गुनासो छ ।

भाैतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झा र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको दैनिकी पनि मन्त्रालय आउजाउ र सार्वजनिक कार्यक्रमको सहभागितामै सीमित छ ।

राजपाबाट राज्यमन्त्री बनेकाहरुले अध्यक्ष मण्डललाई जिम्मेवारी दिलाउन नभए सरकारबाट फिर्ता बोलाउन माग गरेका छन् । उनीहरुको मागकै आधारमा राजपाले तीन दिनभित्र राज्य मन्त्रीलाई अधिकार प्रत्यायोजन गर्न आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई अल्टिमेटमसहितको पत्राचार गरेको छ ।

गत साउन ९ गते राजनीतिक जोड घटाउ मिलाउनकै लागि राजपाबाट तीन र संघीय समाजवादी फोरमबाट तीन गरी ६ जना राज्यमन्त्री नियुक्त भएका थिए ।

फोरमबाट सहभागी राज्यमन्त्रीको अवस्था पनि उस्तै छ । मन्त्रीलाई सहयोग र मन्त्रालयको कामकाजलाई गति दिन राज्यमन्त्री नियुक्त गरिएपनि मन्त्रालयको कार्यभार बिभाजन नहुँदा योजना बाँडफाँड, बजेट बिनियोजन, नीति निर्माण कुनै पनि राज्यमन्त्रीको भूमिका छैन । केही राज्यमन्त्रीहरुले जिम्मेवारीबारे खुलेर बोलेका छन् भने कतिपयले मुख खोल्न सकेका छैनन् ।

राज्यमन्त्रीको नियुक्ति पाएको ९ महिना बितिसक्दा पनि एउटा फाइलमा हस्ताक्षर गर्न नपाएको बताउने उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री मण्डल निराश भइसकेका छन् । मण्डल भन्छन्, ‘अब साथीभाइ र कर्मचारीले पनि त्यो कुरा बुझ्दै गएको छ चिया र बिस्कुटबाहेक केहि गर्न सक्दैनन् ।’

‘राज्यमन्त्रीलाई ६ जिम्मेवारी’ 

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आफनो मन्त्रालयबाट राज्यमन्त्रीहरुलाई लिखित रुपमा नै जिम्मेवारी दिएको बताँउछन् । ‘राज्यमन्त्रीले कुन कुन काम गर्ने भनेर लिखित जिम्मेवारी नै दिएको छु’ उनले भने ।

राज्यमन्त्रीलाई जेल, सूचना सञ्चारलगायतका जिम्मेवारी लिखित रुपमा दिएको यादव बताउँछन् । कतिपय मन्त्रालयमा लिखित जिम्मेबारी नदिइएको बताउँदै उनले यसबारे मन्त्रीहरूलाई आग्रह गरेको बताए । मन्त्री परिषद्मा पनि यो कुरा उठेको बताउँदै उनले भने, ‘जिम्मेवारी दिन मन्त्रीहरूसँग बैठकमा पनि आग्रह गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment