
१२ चैत, काठमाडौं । भक्तपुरका तिर्थराम शिल्पकारले काठमा शिल्प भर्न थालेको २० वर्ष भयो । यतिबेला उनी पाटनका सम्पदाहरुमा मेहनत गरिरहेका छन् ।
पुर्ख्यौली पेशामै रमाएका शिल्पकार पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न नपाएको गुनासो गर्छन् । बाबुबाजेबाट हस्तान्तरण हुँदै आएको यो कलाप्रति पछिल्लो पुस्तामा चाख नभएको उनको अनुभव छ ।
उनी भन्छन्, ‘हामीले त पुर्खादेखि नै काठको काम नै गर्दै आएको हो । बुट्टा कुँद्नेदेखि सबै काम गर्छौं, यस्तो काम गर्ने नयाँ पुस्तामा धेरै नभए पनि हाम्रो पुस्ताका त धेरै नै छन्, ढुंगाको काम गर्ने पनि त्यस्तै हो ।’
कहिलेकाँही उनी पुर्खाको पौरख देखेर छक्क पनि पर्छन् । उनलाई लाग्छ, ‘त्यो समयमा यतिका काठ यहाँसम्म कसरी बोकेर ल्याए होलान् ? यती ठूल्ठूला काठमा यस्ता बुट्टा कसरी भरे होलान् ?
टुँडालको बुट्टा देखेर सिप जानेका तिर्थराम त छक्क छन् भने घुम्न जानेहरु त के सोच्दा हुन् ? स्वदेशी-विदेशी कला-सम्पदा पारखी र अध्ययताहरुले यीनको महत्व राम्ररी बुझेको शिल्पकारको ठम्याई छ । तर, हाम्रै पुस्ता उदाशीन हुँदै गएकामा उनलाई नमजा लाग्छ । सम्पदा पुनर्निर्माणमा भएका हेलचेक्र्याइँले त उनलाई दिक्क नै बनाउँछ ।
पाटन हरिशंकर मन्दिरमा टुँडालको काम गरिरहेका तिर्थरामलाई अहिलेसम्म दक्ष कामदार पुगिरहे पनि केही वर्षमा कामदार अभावको समस्या आउन सक्ने लाग्छ । तर, सम्पदा पुनर्निर्माणको ठेक्का लिनेमध्ये अधिकांशले कामदार अभाव भन्दै म्याद गुजारीरहेका छन् ।
सम्पदा नबुझेका ठेकदारले ठेक्का पार्नु, दक्ष कामदार नखोजी नाफालाई मात्रै वास्ता गर्नु, पुरातत्वका आधारहरुलाई बेवास्ता गर्नु, ठेक्का लिएर पनि समयमा काम नसक्नु जस्ता समस्या सम्पदा पुनर्निर्माणमा देखिएको जानकारहरु नै बताउँछन् ।
पाटनमा पुनर्निर्माणको काम गरिरहेको काठमाडौं उपत्यका संरक्षण कोषका नेपाल निर्देशक रोहित रञ्जितकार पनि दक्ष कालीगढको अभावलाई एउटा बहाना बनाइएको बताउँछन् ।
१९९० सालको महाभूकम्पपछि महाराजको प्रतापले पुनर्निर्माण छिटो सक्ने बहानामा पाटनका देगु तले, केशवनारायण चोक, सुन्दरी चोकको पूर्वी भागलगायत केही सम्पदाका स्वरुप फेरिए । अब, २०७२ सालको महाभूकम्पपछि भइरहेको पुनर्निर्माणको क्रममा सम्पदाको संरचनागत साख कसरी बचाउने त ?
ठेक्का लिएर अलपत्र
राधाकृष्ण मन्दिरको काम सम्पन्न गर्ने म्याद गुज्रिएको ६ महिना बितिसक्यो, ठेकदार कम्पनी रामविनायक जेभी टुँडाल र मूर्तिहरु अलपत्र छाडेर बसेको छ ।

३ करोड ८ लाख ४६ हजार ७ सय ३३ रुपैयाँमा टेन्डर पारेको यो कम्पनीको काम सक्ने दुई वर्षे म्याद गएको असोजमा सकिएको हो । पाटन संग्रहालयको खुला स्थानमा अलपत्र छाडिएको पुरातात्विक बस्तुहरु हेर्दा ठेकदारले श्रीखण्डलाई खुर्पाको बिँड बनाउने काठ सम्झेको छर्लङ्ग हुन्छ ।
कम्पनीका मालिक सुरेश सिलवाल ‘भनेजस्तो कामदार नपाएको’ बताउँछन् । पुरातत्व विभाग धाउँदै गरेको र अब म्याद थप हुने उनले बताए । ‘कामदार नपाएरै रोकिएको हो’, उनले भने, ‘काठको ढोका तयार गर्दैछु, असारमा सक्छु ।’
कामै नगरी साढे दुई वर्ष गुजारेकाले म्याद थपिने सम्भावना भने कमै छ । पटक-पटक अनुरोध गर्दा, पत्र पठाउँदा पनि रामविनायक जेभीले अटेर गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेल बताउँछन् । उनले भने, ‘अति नै कम काम गरेर म्याद गुजारेको प्रतिवेदन पुरातत्व विभागमा बुझाइसकेका छौँ ।’
पुनर्निर्माणको काम नियालिरहेका पाटनवासी समय थपिए काम सकिन्छ भन्नेमा विश्वास गर्दैनन् । किनभने, यो पैसाको कमी र कामदार अभाव नभई प्रवृत्तिको समस्या हो । अनुचित नाफा कमाउने र बदमासी गर्दा पनि दण्डित नहुने कारणले ठेकदारले काम सक्नेमा सबैमा शंका छ ।
ठेक्का लिएर काम नगर्नेलाई केही गर्ने अवस्था नभएको उनले बताए । ‘काम दिनेलाई भन्दा लिनेलाई बलियो बनाएको ऐन परिवर्तन नगरेसम्म काम हुन गाह्रो छ,’ मेयर महर्जनले भने, ‘सम्पदा क्षेत्रमा यो ऐन लागु नगरे बरु समयमै काम हुन्थ्यो ।
‘विभिन्न दातृ निकायबाट आएको सहयोगमा काम समयमै राम्ररी सकिने र स्थानीय बासिन्दा पनि खुशी हुने, तर सरकारी रकमबाट काम अलपत्र किन हुन्छ त ? ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सार्वजनिक खरिद ऐनमार्फत हुने सरकारी काम यस्तै हुने बताउँछन् ।
संरक्षण कोषको सह्रानीय काम
विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रका हरिशंकर मन्दिर, चारनारायण, दुईवटा मणीमण्डप र राधाकृष्ण मन्दिरलाई २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त पारेको थियो । त्यस्तै, योगनरेन्द्र मल्लको शालिक र भिमसेन मन्दिर अगाडिको सिंह स्तम्भ भाँचिएको थियो ।
त्यसबेला पाटन दरबार क्षेत्रका ३० वटा सम्पदामा क्षति पुगेको पुरातत्व विभागको हिसाब छ । तिमध्ये ११ वटाको पुनर्निर्माण सकिएको छ भने सात वटाको काम भइरहेका छन् । बाँकी १२ वटा सम्पदा असरल्ल अवस्थामा छन् ।
काठमाडौं उपत्यका संरक्षण कोषले पाटन दरबार परिसरमा पुनर्निर्माणको काम सकेको छ । कोषका निर्देशक रञ्जितकारका अनुसार, भिमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, दुईवटा मणीमण्डप, कृष्ण मन्दिर, तलेजु मन्दिर, योगनरेन्द्र मल्लको शालिक स्तम्भ, विश्वेश्वर मन्दिर, सुन्दरी चोकको पूर्वी भाग र बहादुर शाह बैठकको काम समयमै सम्पन्न भएको छ ।

हरिशंकर मन्दिर र चारनारायण मन्दिर पुनर्निर्माणको जिम्मा पनि कोषले नै लिएर धमाधम काम गरिरहेको छ । पुरातत्व विभागले ठेक्कामा लगाएको काम चाहिँ कसरी भइरहेको छ भनेर बुझ्न पाटन स्वःठमा रहेको राधाकृष्ण मन्दिर हेर्दा काफी छ ।
सचेत स्थानीय बासिन्दा
पाटन दरबार क्षेत्रको भीमसेन मन्दिरको पुनर्निर्माणमा सरकारले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दा आफैं जुटेका छन् ।
सरकारले भीमसेन मन्दिर पुनर्निर्माणको लागि भारत सरकारसँग सम्झौता गरे पनि काम सुरु नै भएन । भारतले पैसा दिँदा पनि काम टेन्डरबाटै हुने भएकाले स्थानीय बासिन्दा सुरुदेखि नै विश्वस्त पनि थिएनन् ।
हुन पनि भिमसेन नेवार समुदायको आराध्यदेव नै हुन् । त्यसैले पनि स्थानीय बासिन्दा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा ‘आफ्नो सम्पदा आफैं बनाउने’ अभियानमा सरिक भएका छन् । यसमा काठमाडौं उपत्यका संरक्षण कोषको पनि सहयोग छ ।
अर्को कुरा, काम सकिएपछि मल्लकालीन भीमसेन मन्दिरमा ‘भारतीय सहयोगमा निर्मित भनेर’ भारतको झण्डासहित शिलालेख राखिने थियो । मंगल टोल सुधार समितिमार्फत सक्रिय रहेका एक वृद्ध भन्छन्, ‘पौने चार सय वर्षअघि श्रीनिवास मल्लले बनाएको सम्पदाको पुनर्निर्माणमा अरुको सहयोग लिने कुरा नै ठीक थिएन ।’
भीमसेन मन्दिर पुनर्निर्माणमा स्थानीय बासिन्दा टोल सुधार समितिमार्फत संलग्न छन् । स्थानीयहरु ‘सडक बनाउने ठेकदारले ठेक्का लिएर अरु काम अलपत्र पार्ने जस्तो सम्पदामा नचल्ने’ भनेर जागरुक बनेको मेयर महर्जन बताउँछन् ।
मध्यकालमा बनेका सम्पदा पुनर्निर्माणको काममा निपूर्ण व्यक्तिहरु नेवार समुदायमा अझै निकै रहेको मंगलबजारका किरणमान प्रधान बताउँछन् ।
समस्या निपूर्ण कामदारहरु सामान्य कामदारभन्दा ज्याला बढी लिन्छन्, जसले ठेकेेदारहरु उनीहरुलाई काम नलगाई कम ज्यालाका कामदार खोज्छन् । जसले सम्पदाको पुनर्निर्माणमा हुनुपर्ने ध्यान हुँदैन ।
सडक बनाउने ठेकदारले पनि मन्दिर बनाउन सक्ने, तर त्यसको लागि कुशल कालीगढ नै चाहिने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकार बताउँछन् ।
‘त्यसलाई सार्वजनिक खरिद ऐनले पनि रोकेको छैन, तर मन्दिर बनाउने ठेक्का लिएपछि ठेकदारले कामदार भने मन्दिर बनाउने नै खोज्नुपर्ने हो,’ गएको २७ वर्षदेखि सम्पदा क्षेत्रमा काम गरिरहेका रञ्जितकार बताउँछन् ।
संरचनागत साख बचाउने चिन्ता
विदेशी पर्यटकहरु मूल रुपमा मध्यकालीन सम्पदा हेर्नकै लागि काठमाडौं आउँछन् । पुनर्निर्माण झारा टार्ने हिसाबबाट भयो भने हाम्रो सम्पदाको गौरव रहँदैन । ‘तर, पुर्खाहरुले निर्माण गरेका यी सम्पदा भोलिका सन्ततिसम्म उही स्वरुपमा नपुग्ला कि भन्ने चिन्ता बढेको छ’, मेयर महर्जन भन्छन् ।
उपत्यकामा मात्र नभई नेपालभरका सम्पदाबारे यस्तै चिन्ता बढेको उनले बताए । यस्तो चिन्ता हटाउन एकदमै मिहिन काम हुनुपर्ने संरक्षण कोषका निर्देशक रञ्जितकार बताउँछन् । त्यसका लागि सही कालीगढ खोज्नेदेखि भत्केका सामानहरु टुक्राटुक्रा भएपनि मिल्नेसम्म छानेर पुनः प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
कतिपय हराएका टुक्रा पनि फोटो हेरेर सिकर्मीको सिपले पहिलेको जस्तै बनाएको र मिहिन ढंगले काम गर्दा पनि लगातार गरेर समय सीमाभित्रै सकेको उनले बताए । उनले भने, ‘त्यसक्रममा सम्बन्धित टोल, स्थानीय क्लब, जातीय समूह, पुरातत्व विभाग, संग्रहालय सबैसँग आवश्यक छलफल चलाएरै काम सक्यौँ ।’
उनले पहिले कृष्णमन्दिर पेटिको तीन सय वर्ष पुरानो एउटा ढुंगा फुटेपछि त्यसको ठाउँमा सिमेन्टले जोडिएको बताए । ‘त्यसलाई हटाएर हामीले ढुंगा नै राख्यौं’, उनले भने, ‘अहिले नयाँ भएकाले नयाँ-पुरानो छुट्टिए पनि कालान्तरमा उस्तै देखिन्छ ।’
उनी अघि थप्छन्, ‘सम्पदा निर्माणमा कुनै पनि नयाँ चिज प्रयोग गरेपछि जोसुकैले छुट्याउन सकोस् भन्ने महत्वपूर्ण रहन्छ । यति सालमा यो-यो कुरा थपेका हुन्, यो नयाँ बनाएका हुन् भन्ने ज्ञान पाउनै पर्छ ।’
हुन पनि सय वर्षअघि कुँदिएको ढुंगामा आजको ढुंगा जोडेर उही शैली दिँदा अर्को केही वर्षमा नयाँ ढुंगाकै महत्व पनि बढेर गइसक्छ । समयक्रममा बिग्रेका कुरा फेर्दै लैजाँदा पुरानो कुराको बचाव हुँदै जान्छ । अनि त्यसमा नै इतिहास जोडिँदै जान्छ ।
प्रतिक्रिया 4