Comments Add Comment

सेयर लगानीकर्ताको आन्दोलन स्थगित

१३ चैत, काठमाडौं । पुँजी बजार विस्तार र विकासको माग राख्दै आन्दोलनरत सेयर लगानीकर्ताको समूहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । यद्यपि यो समूहले अर्थमन्त्री डा. युवराज खतिवडालाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेको छ ।

यो समूहले अर्थमन्त्रीको कारण शेयर बजार धरासायी भएको आरोप लगाउँदै नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी, धर्ना, प्रदर्शन लगायतका गतिविधि गर्दै आएको छ । यसअघि बोर्डमा लगाइएको ताला प्रहरीले बल प्रयोग गरी फोडेको थियो भने मंगलबार नेप्से घेराउ गर्न पुगेको टोलीलाई केही घण्टा नियन्त्रणमा लिएर प्रहरीले छाडेको थियो ।

अर्थमन्त्री खतिवडालाई पुँजी बजार विरोधीको आरोप यो समूहले लगाएको छ । पुँजी बजार सुधार्न माग गर्ने लगानीकर्ताहरुलाई दमन गर्न खोजेको भन्दै अर्थमन्त्री खतिवडा, मन्त्री खतिवडाका ज्वाइँ रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र नेप्सेका सीईओ चन्द्रसिंह साउदसमेतलाई कारबाही गर्न यो समूहले माग गरेको छ ।

दुई महिना पहिलेदेखि आफूहरुले पुँजी बजार सुधारका लागि माग राख्दै आए पनि लगानी सम्मेलन भाँड्न खोजिएको भन्दै आरोप लगाएको भन्दै खेद प्रकट समेत गरिएको छ ।

‘दुई महिनादेखि हामीले राखेको मागलाई सम्मेलन भाँड्न खोजिएको भनेर दुश्प्रयास भएकोमा हामी खेद व्यक्त गर्दछौं,’ लगानीकर्ता समूहद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, ‘शान्तिपूर्ण तालाबन्दी र अनशनमा ठूलो अप्रीय घटना गराउने अर्थमन्त्री, उनका ज्वाईं रामशरण खरेल, बोर्डका अध्यक्ष कार्की, कार्यकारी निर्देशक गिरी र नेप्सेका सीईओ साउदले लगानीकर्ताको नैसर्गिक अधिकार हनन हुने गरी प्रहरी दमन गर्न लगाएकाले उनीहरुमाथि कारबाही गर्न प्रधानमन्त्री केपी ओली समक्ष माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment