Comments Add Comment

भारतले स्याटेलाइट खसाएकै हो कि चुनावी फन्डामात्रै ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षमा महाशक्ति बनेको घोषणा गरे । एन्टी स्याटेलाइट मिसाइल प्रक्षेपण गर्ने थोरै देशहरुको सूचीमा भारत समावेश भएको उनको भनाई थियो ।

मोदीको यो भनाइमा कति दम छ भन्नेमा यतिबेला भारतीय मिडियाले विश्लेषण गरिरहेका छन् । चुनावको मुखैमा गरिएको यो घोषणालाई आलोचकहरुले भने ‘चुनावी फन्डा’ का रुपमा मात्रै लिएका छन् ।

अहिलेसम्म एन्टी स्याटेलाइट मिसाइल प्रक्षेपण गर्ने राष्ट्रमा अमेरिका, रुस र चीन थिए । यसमा भारत पनि थपिएको दाबी मोदीले गरेका हुन् । उनका अनुसार भारतले अन्तरिक्षमा ३ सय किलोमिटरको उचाईमा एउटा स्याटेलाइटलाई मिसाइलले हानेर खसाएको छ । यो भारतको एन्टी स्याटेलाइट अस्त्रको पहिलो प्रयोग हो । भाजपा समर्थित मिडियाले यसलाई सरकारको ठूलो सफलताका रुपमा चित्रित गरेका छन् ।

विज्ञान पत्रकार पल्लव बागलाले बीबीसीलाई बताएअनुसार केही दिन अगाडि भारतले ‘माइक्रो स्याट आर’ नाम स्याटेलाइटलाई लोअर अर्थ अर्बिटमा प्रक्षेपण गरेको थियो ।

उनले भने, ‘यो स्याटेलाइट २४ जनवरी २०१९ मा २ सय ७७ किलोमिटर उचाइमा प्रक्षेपण गरिएको थियो । भारतले पहिलोपटक यति कम उचाइमा स्याटेलाइट लन्च गरेको हो ।’

बागलाका अनुसार बुधबार भारतले यही स्याटेलाइटविरुद्ध आफ्नो परिक्षण गरेको हो । यद्यपि, यसको पुष्टि सरकारले गरेको छैन । बताइए अनुसार उडिसाबाट यो एन्टी स्याटेलाइट हतियार प्रक्षेपण गरिएको थियो ।

भारतलाई के फाइदा ?

बागलाका अनुसार चीनले यसप्रकारको मिसाइल परीक्षण गर्दा विश्वका देशहरुले कडा आलोचना गरेका थिए । यस्तो परीक्षणले अन्तरीक्षमा फोहोर थुप्रिने गर्छ, जुन पछि खतरनाक सावित हुन सक्छ ।

के यो स्याटेलाइट परीक्षणपछि भारत अन्तरीक्षमा सुपर पावर नै बनेको हो त ? भन्ने प्रश्नमा बागला भन्छन्, ‘जब कुनै दुश्मन देशको स्याटेलाइटले हामीमाथि नजर राख्छ, हामी त्यसलाई ध्वस्त पार्न समर्थ भएका छौं । यस अर्थमा हाम्रो अन्तरीक्षमा शक्ति बढेकै हो ।’

‘तर, यस्तो अस्त्र प्रयोग गर्ने मौका त्यति आउँदैन । अहिलेसम्म कुनै पनि देशले यस्तो अस्त्र प्रयोग गरेर दुश्मनको स्याटेलाइट खसाएको उदाहरण छैन,’ उनले थपे ।

भारतको दुश्मन मानिने पाकिस्तानसँग यस अर्बिटमा कुनै स्याटेलाइट नभएको उनले बताए ।

तर, प्रधानमन्त्री मोदीको घोषणापछि प्रश्न उठ्छ कि भारतले खसाएको भनिएको भू–उपग्रहको अवशेष पृथ्वीमा किन भेटिएन त ? खासमा यो पृथ्वीको गुरुत्वाकर्षणले गर्दा हो । पृथ्वीबाट निश्चित दुरीपछि गुरुत्वाकर्षणको प्रभाव समाप्त हुन्छ । त्यसैले स्याटेलाइटका अवशेषहरु अन्तरिक्षमा नै छरिन्छन् । त्यसो भएकाले भारतले स्याटेलाइट खसाएको हो वा होइन भन्ने कुनै विश्वसनीय आधार भने छैन ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment