Comments Add Comment

घाँस र मासु बेचेरै नम्बर १ बन्यो महिला सहकारी

१४ चैत, बुटवल । धेरै सहकारीहरूले बचत संकलन र ऋण लगानीलाई प्राथमिकता दिइरहेका बेला रूपन्देही सैनामैनाको एक महिला सहकारीले भने नमूना काम गरेको छ ।

सैनामैनाको मुर्गियास्थित उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाले बचत तथा ऋणको कारोबारभन्दा माथि उठेर सयौं महिलाहरूलाई उद्यमशील मात्र बनाएको छैन, मासु पसल, सुपथ मूल्य पसल, घाँस खेती र पशु बीमाको काम पनि एकसाथ गरेको छ ।

२०६९ साल असारमा शुरु भएको यो सहकारीमा तीन हजार आठ सय तीनजना महिला आवद्ध छन् । सहकारीकी अध्यक्ष शारदा चालिसेको दावीअनुसार महिलामात्रै आवद्ध सहकारीहरुमध्ये यो प्रदेश ५ कै ठूलो हो ।

सहकारीले बाख्रापालन मार्फत सदस्यहरुको आयआर्जन बढाई आत्मनिर्भर बनाउनुलाई पहिलो प्राथमिकता दिएको अध्यक्ष चालिसे बताउँछिन् । अधिकांश सदस्यले संस्थाबाट कर्जा लिएर बाख्रापालन गरेका छन् । केहीले गाई–भैंसी पनि पालेका छन् । सहकारीका सदस्यहरुसँग ४ हजारदेखि ५ हजारको संख्यामा बाख्रा र खसी–बोका नियमितजसो हुन्छन् ।

सदस्यले पालेका खसी–बोकालाई उचित मूल्य दिएर सहकारीले नै खरिद गर्छ र मासु पसल आफैं चलाएको छ । पसलबाट जिउँदो खसी–बोका पनि बेचिन्छ ।

गएको आर्थिक वर्षमा सहकारीको मासु पसलले ६ सय ७७ वटा खसी बोकाको मासु तथा ८५ वटा जिउँदो बेचेर ३० लाख ७५ हजार आम्दानी गरेको अध्यक्ष चालिसेले बताइन् । मासु पसल सञ्चालनपछि सदस्यहरुले उत्पादन गरेको खसी–बोकाको उचित मूल्य पाएका छन् भने अर्कोतिर उपभोक्ताहरुले स्थानीयस्तरको स्वच्छ मासु पाएका छन् ।

सहकारीले सञ्चालन गरेको उपभोक्ता पसलबाट मासिक सरदर ५ लाख रुपैयाँको कारोबार हुने गरेको व्यवस्थापक तारा बस्यालले बताइन् । आफ्ना सदस्यहरुलाई एक महिनासम्म आवश्यक पर्ने उपभोग्य सामानको माग संकलन गरेर एक महिनासम्म उधारो दिइन्छ । घरघरमै निःशुल्क डेलिभरी दिन थालेपछि उपभोक्ता पसलको कारोबार अझै बढ्न थालेको बस्यालले बताइन् । मासु पसलमा २ जना र सहकारीमा २ जनाले रोजगारी पाएका छन् ।

सहकारीले तीन बिघामा घाँसको बिउ उत्पादनसहित ६ बिघा जग्गामा घाँस खेती पनि गरेको छ । घाँस खेतीले सदस्यहरुको बाख्रापालनमा टेवा पुगेको छ । पशुपालनलाई प्रवद्र्धन गर्न सहकारीले एक हजार एक सय बाख्रा र ५८ वटा गाईभैंसीको बीमा गराएको छ ।

स्थापनाको छोटो समयमै सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउन नमूना काम गरेको मूल्यांकन गरेर सहकारीको भवन बनाउन शहरी विकास मन्त्रालयले ५ लाख र सैनामैना नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । सहकारीले सञ्चालन गरेको मासु पसललाई पशु सेवा कार्यालयले एक लाख रूपैयाँ अनुदान दिएको छ ।

सहकारीले आफ्ना सदस्यलाई व्यवसायिक रुपमा स्थापित गर्न आवश्यकताअनुसार सिपमूलक तालिमहरु पनि दिने गरेको छ । सहकारीले सदस्यलाई कुनै उद्यम वा व्यवसाय गर्न विना धितो एक लाख रूपैयाँ कर्जा दिने गरेको छ । ‘सहकारीबाट कर्जा लिएर महिलाहरूले बाख्रापालन, गाई–भैंसी पालन, तरकारी खेतीदेखि विभिन्न व्यवसायिक पेसा अंगालेका छन् । कसैले फुल्की बेचेर घर नै बनाएका छन्,’ अध्यक्ष चालिसेले भनिन् ।

संस्थाले गरेको प्रगति हेर्न, बुझ्न देशका विभिन्न जिल्लाबाट वर्षमा करिब ५० वटा सहकारी संस्थाको भ्रमण टोली कार्यालयमा आउँछन् । त्यस्ता भ्रमण टोलीसँग २ हजार शुल्क लिएर संस्थाका गतिविधि जानकारी गराइने व्यवस्थापक बस्याल बताउँछिन् ।

गत आर्थिक वर्ष १५ लाख रुपैयाँ खुद नाफा कमाएको सहकारीले यो आर्थिक वर्षभित्र सदस्य संख्या ४ हजार पुर्‍याउने र आउँदो २ वर्षभित्र सैनामैनाकै सोरौलीमा आफ्नै स्वामित्वको एकबिघा बढी जग्गामा भवन बनाउने लक्ष्य रहेको अध्यक्ष चालिसेले बताइन् ।

हाल सैनामैनाको ८ वटा वडा कार्यक्षेत्र बनाएको सहकारीले निकट भविष्यमै मासु पसलको सेवा र कारोबारलाई बुटवलदेखि सालझण्डीसम्म विस्तार गर्ने लक्ष्य लिएको छ । सुपथ मूल्य उपभोक्ता पसललाई स्तरोन्नति गर्ने र दूधको कारोबार पनि शुरु गर्ने तयारी रहेको सहकारीकी व्यवस्थापक बस्यालले बताइन् ।

‘सहकारीलाई देशकै नमूना बनाएर महिलाले चाहे भने जस्तोसुकै सफलता हासिल गर्न सक्छन् भन्ने राज्यलाई देखाउने संकल्प गरेका छौं,’ अध्यक्ष चालिसेले भनिन्, ‘हाम्रो काममा प्रदेश र स्थानीय सरकारको नजरमात्रै जाओस् भन्ने हाम्रो आग्रह हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment