Comments Add Comment

सरकार ! भारतले ८ वर्षअघि नियन्त्रणमा लिएका ३ नेपाली कहाँ छन् ?

गम्भीर घटनाप्रति राज्यको उदासीनता, प्रजिअ भन्छन्– बुझ्दै छु

१४ चैत, बर्दिया। भारतले ८ वर्षअघि नियन्त्रणमा लिएका ३ नेपाली नागरिक बेपत्ता बनाएर राखेको पाइएको छ । आफ्ना ३ नागरिक भारतीय पक्षले बेपत्ता बनाएर राखे पनि नेपाल सरकारले कुनै खोजखबर गरेको छैन ।

आफ्नो जंगल क्षेत्र प्रवेशको आरोपमा नियन्त्रणमा लिइएका गुलरिया नगरपालिका–८, बर्दियाका राममिलन लोध, जमुनीका हर्कबहादुर शाही र राघेश्याम लोधलाई भारतले ८ वर्षदेखि बेपत्ता बनाएर राखेको हो । छिमेकी देशको नागरिक पक्रेको भारतले अहिलेसम्म यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छैन् ।

८ वर्षअघि ०६७ मा भारतीय वन रक्षकले आफ्नो वन क्षेत्रमा प्रवेश गरेको भन्दै गोली हानेर तिनै जनालाई घाइते बनाएको गुनासो परिवारका सदस्यहरूले गरेका छन् । घाइते तीनैलाई उपचार गर्ने भन्दै वनरक्षकले लगे पनि ८ वर्षदेखि उनीहरूको अवस्थाबारे कुनै जानकारी नपाएको पारिवारिक सदस्यको भनाइ छ ।

गोलीले घाइते भएका श्रीमानलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको लोधकी श्रीमती पार्वतीले गुनासो गरिन् ।

२०६७ फागुन ५ गते बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ ।

लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए । दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताइन् ।

घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए ।

घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोजतलास गरे पनि फेला नपरेको आफन्तको दाबी छ ।

पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् । गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएकाको खोजी राज्यले गर्नुपर्ने बताइन् ।

सरकार बेखबर 

आफ्नो नागरिकलाई भारतले ८ वर्षदेखि बेपत्ता पारे पनि सरकार भने बेखबर छ । अहिलेसम्म सरकारी तबरबाट यति गम्भीर प्रकृतिको घटनामा कुनै खोजखबर भएको छैन ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामबहादुर कुरुम्बाङ आफ्नो मान्छे भारतले बेपत्ता पारेको भन्दै परिवारका सदस्य आइपुगेको बताउँछन् । उनले यसबारे आफूले भारतीय प्रहरीसँग जानकारी माग्ने तयारी गरेको बताए ।


राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment