
१४ चैत, विराटनगर । चालु आर्थिक वर्षको ८ महिनामा विराटनगर भन्सार कार्यालयबाट झण्डै १० अर्ब ८४ करोडको सामान आयात हुँदा जम्मा १ अर्ब ५९ करोडका सामानमात्र निर्यात भएको छ । विराटनगर नाकाबाट ८ महिनामा ९ अर्ब २४ करोड ७९ लाख रुपैयाँ बढीको सामान आयात भएको हो ।
भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले भने ‘विराटनगर नाकाबाट हुने माल बस्तुको आयात प्रत्येक बर्ष चुलिँदो छ, निर्यातमा वृद्धि नगरे व्यापार घाटा अझै बढ्दै जाने देखिन्छ ।’
गत आर्थिक वर्षमा विराटनगर नाकाबाट निर्यात भन्दा १२ अर्ब ५३ करोड ९४ लाख बढीको मालसामान आयात भएको थियो । भारत तथा तेस्रो मुलुकबाट १४ अर्ब ९३ करोड ७० लाख रुपैयाँको सामान आयात हुँदा नेपालबाट २ अर्ब ४० करोड ५९ लाख ६१ हजार रुपैयाँको सामान निर्यात भएको थियो ।
आठ महिनाको अवधिमा सबै भन्दा वढी डिजल आयात
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रानी भन्सारबाट ९२ करोड ८३ लाख ८ २३ रुपैयाँको डिजल आयात भएको छ । त्यसैगरी ३५ करोड ९२ लाख ५०९ रुपैयाको तयारी पोशाक, त्यस्तै २६ करोड ३५ लाख ६ ८३ रुपैयाको पेट्रोल र ५१ करोड २३ लाख मुल्यको पोलिथिन दाना भित्रिएको छ ।
४८ करोड १८ लाख ५९३ रुपैयाँको स्टिल वायर रड र ३० करोड ५५लाख ७०२ रुपैयाको एलपी ग्यास आएको भन्सार कार्यालयले जनाएको छ ।
देशभित्र रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएका कारण मुलुकमा परनिर्भता बढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए ।
मुलुकभित्र उत्पादन भएका वस्तुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले उत्पादकत्व घट्दै गएको छ । नेपाली बजार आयातमुखी हुँदै गएको उपाध्यक्ष राउतको भनाइ छ ।
विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात हुने गरेको छ ।
पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनि यही रहेको छ । जहाँ साना ठूला गरी करिव सात सयको संख्यामा उद्योगहरु रहेका छन् ।
प्रतिक्रिया 4