
चिजकुमार श्रेष्ठ चलचित्र क्षेत्रको लागि नयाँ नाम हो । उनी चैत २९ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘यात्रा’का प्रस्तुतकर्ता समेत हुन् । लामो समय राजनीतिमा आफ्नो समय खर्चिएका उनी अहिले चलचित्र निर्माणमा लागेका छन् ।
उनले आफूलाई धेरै समय अगाडिबाट नै चलचित्रमा क्षेत्रमा आउने रुचि भइरहेको बताएका छन् । ‘मलाई चलचित्र क्षेत्रमा रहेर काम गर्ने मन पहिलेबाट नै थियो । तर, बाटो पाएको थिइन । बल्ल बाटो पाएको छु र काम गर्न सुरु गरेको छु ।’ उनले चलचित्र क्षेत्रमा आइपुग्नुको अर्को रमाइलो कुरा पनि शेयर गरेका छन् ।
चलचित्र ‘यात्रा’कै एक कार्यक्रममा उनले आफू चुनावमा हारेर सरकारको मन्त्री बन्न नपाएकोले चलचित्रमा भएपनि मन्त्री बन्ने सोचले यो क्षेत्रमा प्रवेश गरेको बताए । उनले भनेका छन्–‘चुनाव हारेर मन्त्री बन्ने सपना पूरा भएन । अब चलचित्र क्षेत्रमा रहेर पुन काम गर्ने अवसर पाए भने पर्दामै भएपनि मन्त्री बन्नेछु ।’ उनले अबको दिनमा पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब देखि म चलचित्र निर्माणलाई निरन्तरता दिनेछु ।’
सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, रेअर राई, जाहन्वी बस्नेत लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’बाट उनी निकै आशावादी पनि छन् । ‘मलाई यो क्षेत्रको विषयमा खासै जानकारी त छैन तर पनि मलाई मेरो टिममा पूर्ण विश्वास छ । त्यसैले चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ केशव भट्टराई पनि प्रस्तुतकर्ताका रुपमा रहेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । सुशिल पोखरेल चलचित्रका निर्माता हुन् ।
प्रतिक्रिया 4