Comments Add Comment

गिरिजाप्रसाद पुरस्कार श्रेष्ठलाई, मदन भण्डारी पुरस्कार घिमिरे र जोशीलाई

१७ चैत, काठमाडौं । रिपोर्टस क्लबले यसवर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय सुवास घिमिरे र हरिप्रसाद जोशीलाई प्रदान गरेको छ ।

क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । नेपाल समाचारपत्रका प्रकाशक–सम्पादक श्रेष्ठलाई प्रदान गरिएको गिरिजाप्रसाद पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।

‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ रिपब्लिक दैनिकका प्रधान सम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।

क्लबले कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार सम्झना वनलाई, शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार इमेज च्यानलका समाचार सम्पादक डिल्ली बसेललाई र कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका शिवहरि घिमिरेलाई प्रदान गरेको छ । यी सबै पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपाने र क्रियाशील युवा पत्रकारिता पुरस्कार राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्साललाई प्रदान गरिएको छ । यी दुई पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

१० हजार राशीको क्रियाशील महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरिएको रिपोर्टस् क्लबले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment