Comments Add Comment

डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनीतालाई भाइले दिए दागवत्ती

१७ चैत, वीरगञ्ज । चिकित्सक श्रीमानको कुटाईबाट मृत्यु भएकी सुनीता यादवको आइतबार दाहसंस्कार गरिएको छ । भाइ सन्तोष यादवले उनलाई दागवत्ती दिए ।

४५ बर्षीया सुनीताको वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा बस्ने माइती परिवारले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् । बाराको परवानीपुर गाउँपालिका–५ बहुवरीबाट दुघौरा नदीमा उनको शव जलाइएको थियो ।

सुनीता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचिदानन्द यादवकी जेठी श्रीमती थिइन् । डा. यादवले निर्घात कुटपिट गरेका कारण नै उनको मृत्यु भएको हो । श्रीमानले उनलाई इलेक्ट्रिक आइरन तताएर शरीरको विभिन्न भागमा डामेको माइती पक्षले बताएका छन् ।

सुनीता घाइते रहेकै अवस्थामा माइती पक्षले चिकित्सक यादवसहित उनको परिवारका ४ जना सदस्यविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धासमेत दर्ता गराएका थिए । डा. सचिदानन्द वीरगञ्जमा डा. एसएन यादव नामले परिचित छन् ।

चैत ६ गते बुधबार होलीको दिन राति डा. यादवले वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा सुनीतालाई निर्घात कुटपिट गरेको माइती पक्षले बताएका छन् । चैत ७ गेत बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्‍याइएको थियो ।

आईसीयूमा राखेर उपचार गर्दासमेत अवस्थामा सुधार नआएपछि चैत १२ गते उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगियो । त्यहाँ उपचारको दुई दिनपछि मृत्यु भयो ।

हिरासतमा रहेका चिकित्सक यादवलाई निर्दोष बताउँदै छुटाउन राजनीतिक दवाव आइरहेको चर्चा पनि वीरगञ्जमा छ ।

दोषीलाई कारबाही हुन्छ : प्रशासन

सुनीताको शव काठमाडौंबाट बहुअरी ल्याएपछि आइतबार अन्तिम श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई सहानुभूति दिन प्रदश नं २ का सभामुख सरोज यादव, सभासद करिमा वेगम लगायत पुगेका थिए ।

श्रद्धाञ्जलीका लागि बहुअरी पुगेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही हुने बताएका छन् ।

‘नहुनुपर्ने दुःखद घटना भएको छ । अनुसन्धान प्रभावकारी र निष्पक्ष हुन्छ,’ उनले भने ‘दोषी देखिएका जो सुकैलाई कानुन बमोजिम कारबाही गर्छौ ।’

बाराको बहुअरीकी सुनीताको विवाह २०५९ साल फागुन ९ गते साविकको हरपतगञ्ज गाविसका डा. सचिदानन्द यादवसँग भएको थियो । विवाहमा १२ लाख ५० हजार नगद, २ लाख ५० हजारको सरसमान र गरगहना समेत गरी २० लाख खर्च भएको माइती पक्षको दावी छ ।

विवाह भएको दुई महिना वित्न नपाउँदै ०६० साल वैशाखमा डा. यादव परिवारले सुनीताको दाजु मनोहरसँग मारुती गाडी र वीरगञ्जमा एउटा छुट्टै घर किनिदिन माग गर्दै आएका थिए । थप गाडी र घर दिन सक्ने औकात आफूहरुको नभएको भन्दै माइती पक्षले टार्दै आएका थिए । त्यसैबेलादेखि उनीहरुबीचको सम्बन्धमा चिसोपना आउन थालेको परिवारका सदस्यहरु बताउँछन् ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउ ज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा. सचितानन्दले आइन्दा यस्तो गल्ती नदोहो‍र्‍याउने भन्दै लिखित रुपमै माफी मागेका थिए । तर व्यवहार त्यसको उल्टो भयो ।

घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थाल्यो । डा. यादव लगायत परिवारले ०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् । एउटा कागजमा सही गर्न नमान्दा उनलाई मट्टितेल छर्केर आगो लगाउने प्रयाससमेत भएको रहस्य खुल्न आएको छ ।

सुनीतासँगको सम्बन्ध बिग्रिएपछि सन्तान नभएको भन्दै सचिदानन्दले ०६४ सालतिर सीमावर्ती विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरे ।

गम्भीर कुटपिट भएको खुलेपछि सुनीताको माइती पक्षले सचिदानन्द सहित उनको परिवारविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । मुद्धा दर्ता भएपछि प्रहरीले चिकित्सक यादवलाई चैत ११ गते नै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्रनेवित्तिकै गम्भीर विरामी भएको बताउँदै उनी नारायणी अस्पतालको अति सघन कक्षमा उपचारका लागि भर्ना भए । चैत १५ गते डिस्चार्ज भएपछि डा यादव अहिले प्रहरी हिरासतमा छन् । पर्सा जिल्ला अदालतले अनुसन्धानका लागि पहिलोपटक दिएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बताए । ‘हामीकहाँ डा यादव विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता छ । सुनीताको मृत्यु भइसकेकोले अब मुद्धा परिवर्तन भएर आउँछ होला तर आइसकेको छैन,’ उनले भने, ‘कर्तव्य ज्यानको मुद्धा दर्ता भएपछि सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’

सुनीताको पक्षमा न्याय माग्दै शनिबार विहान वीरगन्जमा दबाबमुलक र्‍यालीसमेत निकालिएको थियो । सचेत नागरिक वीरगञ्जले निकालेको र्‍याली वीरगञ्जको घण्टाघरबाट शुरु भई नारायणी अस्पतालसम्म पुगेर पुन: घण्टाघरमा आएर समापन गरिएको थियो ।

शिक्षित परिवारमै दाइजोलाई लिएर यस्तो घटना हुनु दुःखद् भएको बताउँदै सहभागीहरुले दोषीलाई कानुनी कठघरामा यथासक्य छिटो ल्याउनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment